close

सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २, २०७७ ९:०

सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । लामो समयको पर्खाई पछि अन्ततः सामसङले नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो पुस्ताको ग्यालेक्सी बड्स नयाँ स्मार्टफोन सिरिज बजारमा उतारेको हो ।

सामसङ ग्यालेक्सी अनप्याक्ड २०२१ नामक कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी एस २१, सामसङ ग्यालेक्सी एस २१ प्लस र सामसङ ग्यालेक्सी एस २ अल्ट्राका साथै सामसङ ग्यालेक्सी बड्स प्रो बजारमा ल्याएको हो ।

सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिजमा सामसङ ग्यालेक्सी एस २१ को मूल्य ७९९ डलर अर्थात ९३ हजार १४० रुपैयाँ तथा सामसङ ग्यालेक्सी एस २१ प्लसको मूल्य ९९९ डलर अर्थात एक लाख १६ हजार ४५३ रुपैयाँ राखेको छ । यी दुवै स्मार्टफोनको बिक्री २९ जनवरीदेखि सुरु हुनेछ ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको मूल्य भने ११९९ डलर अर्थात एक लाख ३९ हजार ७६७ रुपैयाँ उल्लेख छ । यसका साथै सामसङले दोस्रो पुस्ताको सामसङ ग्यालेक्सी पड्स प्रोलाई १९९ डलरमा सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अर्को उत्पादन ग्यालेक्सी स्मार्ट ट्याग ब्लुटुथ ट्र्याकरको मूल्य ३५ सय रुपैयाँ राखेको छ । साथै दुई स्मार्ट ट्याग एकसाथ खरिद गर्दा ४९.९९ डलरमै उपलब्ध हुनेछ ।

दोस्रो पुस्ताको सामसङ ग्यालेक्सी बड्स प्रोलाई कम्पनीले उत्कृष्ट कलर, मजेदार साउण्ड क्वालिटी र आकर्षक फिचरका साथ सार्वजनिक गरेको छ । यो इयर बड्सको न्वाइज क्यान्सिलेसन फिचर गज्जबको रहेको छ । साथै यसमा माइक पनि विशेष प्रकारको उपयोग गरिएको छ ।

यस्तो छ सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको स्पेसिफिकेसन

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ६.८ इन्चको एमोलेड क्वाड एचडी प्लस डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १४४० बाई ३२०० पिक्सेल रहेको छ ।

यो फोनको डिस्प्लेको रिफ्रेश रेट १० हर्जदेखि १२० हर्जसम्म रहेको छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्रालाई कम्पनीले १२ जीबी र्‍याम तथा १६ जीबी र्‍याम अप्सनका साथ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सनका साथ बजारमा ल्याएको छ ।

यो फोनमा एड्भान्स अक्टा कोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखिएको छ । यसमा एस पेनको सपोर्ट समेत रहेको छ ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको क्यामेराको कुरा गर्दा यसको पछाडि भागमा ४ वटा क्यामेरा राखिएको छ । जसमा प्राइमरी क्यामेरा १०८ मेगापिक्सेलको छ ।

साथै १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १० मेगापिक्सेलको डेप्थ सेन्सर र १० मेगापिक्सेलकै म्याक्रो लेन्स दिइएको छ । यसमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

सामसङको यो आधुनिक स्मार्टफोनमा १००X स्पेस जुमको सपोर्ट समेत रहेको छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ५००० एमएएचको ब्याट्री दिइएको छ । जुन वायरलेस चार्जिमङ फिचरका साथ रहेको छ ।

सामसङ ग्यालेक्सी एस २१ को स्पेसिफिकेसन

सामसङ ग्यालेक्सी एस २१ को विशेषताको कुरा गर्ने हो भने यसमा ६.२ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ ।

यसको स्क्रिनको डिस्प्ले रिफ्रेश रेट १२० हर्ज छ । यो फोनमा सामसङले अक्टाकोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखेको छ ।

यो फोन चार वटा कलर अप्सनमा बजारमा आउनेछ । सामसङ ग्यालेक्सी एस २१ को पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् ।

जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ । यसको साथमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सेलकै डुअल पिक्सेल सेन्सर दिइएको छ ।

यो फोनमा सेल्फीका लागि १० मेगापिक्सेलको क्यामेरा छ । सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोन ८ जीबी तथा १२ जीबी र्‍याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज अप्सनका साथ सार्वजनिक भएको छ ।

साथै यो फोनमा ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जसले वायरलेस चार्जिङलाई समेत सपोर्ट गर्दछ ।

सामसङ ग्यालेक्सी एस २१ प्लसको स्पेसिफिकेसन

सामसङ ग्यालेक्सी एस २१ प्लसमा ६.७ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २X इन्फिनिटी ओ डिस्प्ले राखिएको छ । जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ ।

यो फोनको डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज छ । कम्पनीले यो फोनलाई एक्साइनस २१०० एसओसी प्रोसेसरका साथ सार्वजनिक गरेको हो ।

सामसङको यो फोनमा समेत पछाडि भागमा ३ वटा क्यामेरा राखिएका छन् । जसमा प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको रहेको छ ।

साथमा १२ मेगापिक्सेलको डुअल पिक्ससेल सेन्सर र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड लेन्स दिइएको छ । सामसङ ग्यालेक्सी एस २१ प्लसमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

कम्पनीले यो फोनलाई ८ जीबी र १२ जीबी र्‍याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज भेरियन्टका साथ बजारमा ल्याएको छ । ग्यालेक्सी एस २१ प्लसमा ४८०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा समेत वायरलेस चार्जिङको सपोर्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१