close

नागरिक एपले तान्यो प्रयोगकर्ताको ध्यान, प्ले स्टोरमा एक दिनमै १० हजार बढी डाउनलोड

टेकपाना टेकपाना

माघ ३, २०७७ १५:५०

नागरिक एपले तान्यो प्रयोगकर्ताको ध्यान, प्ले स्टोरमा एक दिनमै १० हजार बढी डाउनलोड

काठमाडौं । सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एपले प्रयाेगकर्ताकाे ध्यान तानेकाे छ ।

सार्वजनिक भएको एक दिनमै १० हजारभन्दा बढीले यो एप डाउनलोड गरेका छन् । प्ले स्टाेरकाे साेसल क्याटेगाेरीमा याे एप शीर्ष स्थानमा छ ।

बेटा भर्सनमा एप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । धेरले एपलाई सकारात्मक कदम भन्दै प्रयोगकर्तामैत्री बनाउन र थप फिचर समावेश गर्न सुझाव दिइरहेका छन् ।

विभिन्न एपका लागि फरक फरक लग ईन र पासवर्ड सम्झिरहनु अहिलेको समयमा एउटा बेग्लै चुनौती हो । यस किसिमका समस्याको अन्त्य गर्दै संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारले नागरिक एप ल्याएको हो ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने घोषणा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिने गरी यसको डिजाइन गरिएको छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका प्रमाणीत विवरण नै यसले स्वचालित रुपमा रुजु गर्दछ ।

जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नरहने बताइएको छ । पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा यो एपमा समेटिनेछन् ।

यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पुर्‍याउने अपेक्षा छ ।

एन्ड्राेइड प्रयाेगकर्ताले एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् । आईओएस प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१