close

कत्तिको सुरक्षित, गोपनीय र भरपर्दो छ नागरिक एप ?

टेकपाना टेकपाना

माघ ३, २०७७ १७:४१

कत्तिको सुरक्षित, गोपनीय र भरपर्दो छ नागरिक एप ?

काठमाडौं । संभव भएसम्मका सबै सरकारी सेवा लिन सकिने गरी सरकारले शुक्रबार परीक्षणको रुपमा नागरिक सार्वजनिक गरेको थियो । छोटो समयमै उल्लेख्य रुपमा प्रयोगकर्ताको आकर्षण देखिएको यो एप वास्तवमा कत्तिको सुरक्षित र गोपनीय छ त ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एप निर्माण टोलीले एप उपयोगिता र सहजतासँगै सुरक्षित र गोपनीयता मैत्री समेत बनाइएको बताएको छ । यो एपमा अकाउन्ट बनाउन आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर चाहिन्छ ।

अर्थात अरु कसैको नाममा रहेको सिम तपाईंले वा तपाईंको सिम अरु कसैले प्रयोग गरी यो एप प्रयोग गर्न पाउँदैन । फेसबुक, इन्स्टाग्राम, ट्वीटर जस्ता एपमा जस्तै यसमा पनि सुरक्षाका  लागि टु फ्याक्टर अथेन्टिकेसन राखिएको छ ।

साथमा रहेको मोबाइलमा प्राप्त ओटीपी कोड राखेपछि मात्र यो एप खोल्न सकिन्छ । यसको अर्थ अरु कसैले तपाईंको मोबाइल नम्बर र पिन कोड थाहा पाएको खण्डमा समेत नागरिक एपमा पहुँच बनाउन सक्दैन ।

अर्थात तपाईंकै नम्बरमा आएको ओटीपी कोड नराखी यो एपमा लगईन गर्न सम्भव हुँदैन । जसले गर्दा अरुले तपाईंको नामबाट नागरिक एप खोल्न सक्दैन ।

नागरिक एपले तपाईंसँग तपाईंको आफ्नै नाममा रहेको सिमकार्ड छ कि छैन भन्ने कुराको यकिन गर्छ । यसका लागि ओटीपी भेरिफिकेसन गरिसकेपछि नागरिक एपमा रहेका सेवामा पहुँच बनाउन नागरिकता, मतदाता परिचयपत्र र पासपोर्ट जस्ता कागजातबाट आफूलाई पुष्टी समेत गराउनुपर्छ ।

सरकारसँग भएका नागरिकका सबै डिजिटल विवरणहरु सिंहदरबारभित्र रहेको राष्ट्रिय सूचना प्रविधि कन्द्रको डेटा सेन्टरमा राखिएका छन् । जहाँ तहगत सुरक्षा प्रबन्ध मिलाइएको केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल बताउँछन् ।

तीन वटा पक्षबाट स्वतन्त्र रुपमा नागरिक एपको सुरक्षा परीक्षण गराइएको छ । एप निर्माण टोलीको दाबी अनुसार नेपालमा अहिलेसम्म सबैभन्दा धेरै सेक्युरिटी टेस्टिङ गराइएको सरकारी एप पनि यही नै हो ।

एपमा सुरक्षाका लागि थर्डपार्टी इन्क्रिप्सन प्रविधि प्रयोग गरिएको छ । राष्ट्रिय परिचयपत्र तयार भइसकेपछि यसमा बायोमेट्रिक सुरक्षा प्रणाली समेत थपिने उल्लेख छ ।

सरकारी निकायमा भएका नागरिकका विवरण यो एपमा रहने भने होइन । यसले विभिन्न सरकारी निकायमा रहेका नागरिकका यस किसिमका विवरणलाई एकआपसमा जोडेर रियल टाइम काम गर्दछ ।

कुनै सरकारी सेवा लिन आवश्यक विवरण सम्बन्धित निकायबाट यसले तत्कालै भिडाउने र पुस्टी गर्ने काम गर्छ । एपको सिस्टम जतिसुकै सुरक्षित भए पनि आफूसँग भएको पिनकोड र व्यक्तिगत जानकारी भने तपाईं आफैंले सुरक्षित राख्न भन्दै सञ्चार मन्त्रालयले सचेत गराएको छ ।

वास्तविक संसारमा जस्तै भर्चुअल अर्थात अनलाइन दुनियाँमा पनि आफ्नै कसिमका सुरक्षा जोखिमहरु हुन्छन् । त्यसो त अरु कसैको सिमकार्ड प्रयोग गरी यो एप प्रयोग गर्न सकिँदैन ।

तर सकेसम्म आफ्नो नाममा रहेको सिमकार्ड, नागरिकता, राहदानी, मतदाता परिचयपत्र जस्ता व्यक्तिगत विवरण अरुलाई नदिन मन्त्रालयले अनुरोध गरेको छ । एपबाट यदि कसैले तपाईंको युजरनेम र पासवर्ड थाहा पायो भने पनि ओटीपी नराखि यसमा लगईन गर्न सक्दैन ।

त्यसैले आफ्नो मोबाइलमा आएको ओटीपी कोड पनि अरुलाई दिनु हुँदैन । टेलिकम कम्पनीले अहिले आफूले चलाइरहेको सिम कसको नाममा छ भन्ने कुरा हेर्न सकिने सुविधा दिइरहेका छन् ।

अबका दिनमा आफ्नो नाममा कुन कुन सिमकार्ड जारी भएका छन् भन्ने कुराको जानकारी पनि लिन सकिनेछ । यदि तपाईंको नाममा रहेको सिम अरु कसैले प्रयोग गरिरहेको छ भने नामसारी गरिदिने वा बन्द गर्ने सुविधा तपाईंसँग छँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१