close

अब मोबाइलबाटै आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने

टेकपाना टेकपाना

माघ ६, २०७७ १९:४१

अब मोबाइलबाटै आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने

काठमाडौं । सरकारले गएको शुक्रबार सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ । गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको हो ।

नागरिक एपमा धेरै सेवाग्राहीको नागरिकता नम्बर, नाम, लिंग लगायतका विवरण मेल नखाएर समस्या देखिएको छ । त्यस्ता समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने म्यासेज आएसँगै त्यसबाट सेवाग्राही आतंकित भएका छन् ।

यसैलाई मध्यनजर गर्दै सरकारले नै आफ्नै छुट्टै अनलाइन प्रणाली विकास गर्न लागेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन् । लामिछानेका अनुसार अबको केही समयभित्रै यो सिस्टम सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ ।

उक्त सिस्टम बनेसँगै सेवाग्राहीले मोबाइलमार्फत नै नागरिकताको विवरण नमिलेको खण्डमा सच्याउनका लागि आवेदन दिन सक्नेछन् । उक्त आवेदनका आधारमा मन्त्रालयले आफ्नो सिस्टममा रहेको डेटा तथा जिल्ला प्रशासन कार्यलयमा बुझाएको कागजातको अध्ययन गरी आवश्यक परिमार्जनको काम गर्नेछ ।

त्यो हुँदा सेवाग्राही नागरिकतामा भएको त्रुटि सच्याउन जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने वाध्यता पनि रहने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३