close

युट्युव र अनलाइन टेलिभिजन नियमनमा ल्याउँदै सरकार

टेकपाना टेकपाना

माघ १२, २०७७ २०:४४

युट्युव र अनलाइन टेलिभिजन नियमनमा ल्याउँदै सरकार

काठमाडौं । सरकारले युट्युव तथा अनलाइन टेलिभिजनमा आउने सामग्रीलाई नियमन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा प्रथम चौमासिक समीक्षा बैठकले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा प्रसारण विभागलाई यसका लागि दुई महिनाभित्र कार्यविधि तयार गर्न निर्देशन दिएको छ । यस्ता प्लेटफर्मबाट आउने सामग्री कस्तो हुने ? के कस्ता सामग्री प्रसारण गर्न सकिने ? कस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउने भन्ने लगायतका विषय कार्यविधिमा समेटिने बताइएको छ ।

यसअघि युट्युव तथा अनलाइन टेलिभिजनमार्फत प्रसारण हुने सामग्रीमा कुनै किसिमको निगरानी भइरहेको थिएन । यसरी खुल्लमखुल्ला छाड्दा विकृति फैलिनसक्ने भन्दै मन्त्रालयले यसको अनुगमन गर्ने तयारी थालेको हो ।

यस विषयमा सञ्चार मन्त्रालयले प्राधिकरण तथा सूचना तथा प्रसारण विभागको नाममा सर्कुलर समेत जारी गरिसकेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि मन्त्रालयबाट जारी सर्कुलर प्राप्त भएको बताएका छन् ।

तर, अध्यक्ष खनालले युट्युव तथा अनलाइन टेलिभिजनको नियमन प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने बताए । उनले भने, ‘युट्युव तथा अनलाइन टेलिभिजनको नियमन हाम्रो क्षेत्राधिकार भित्रको विषय होइन । यद्यपि कार्यविधि बनाउने क्रममा सूचना तथा प्रसारण विभागलाई आवश्यक सुझाव दिन तथा सहयोग गर्न प्राधिकरण तयार छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४