पठाओ, यसरी बन्दै छ नेपालीको सारथी

काठमाडौं । आइतबार साँझ मलाई भक्तपुर पुग्नु थियो । त्यो पनि हतारमा । अनामनगरमा रहेको कार्यालयबाट पठाओ बुक गरेर निस्किएँ ।

चोकमा कुर्दै गर्दा पठाओको ड्रेसमा सजिएका एक व्यक्ति बाइकमा आइपुगे र ‘तपाईं नै हो ?’ भनेर सोधे ।

‘हो’ भन्दै म बाइकको पछाडि बसेँ र यात्रा सुरु गरेँ ।

करिब साझ ७ बजेको थियो होला । यो समयमा भक्तपुरको यात्रा जामले गर्दा साँच्चिकै झन्झटिलो र लामो हुन्छ । मैले बाइकमा बसेको केही बेरमै ती बाइक चालकसँग कुरा गर्न थालेँ ।

यसअघि कतै नभेटिए पनि बाइकमा सवार गरिरहँदा ‘हामी पहिल्यै देखिका साथी हौं’ वाला सोच आउँदो रहेछ ।

कुराकानीबाट थाहा भयो, उनी कैलालीका रहेछन् । एक वर्षदेखि पठाओको राइडर बनेर काठमाडौंमा जीविका चलाइरहेका रहेछन् ।

उनको ड्युटी अर्थात् पठाओको राइडिङ बिहान ६ बजेदेखि बेलुकी साढे ७ बजेसम्म चल्दो रहेछ । कहिलेकाहिँ समय तलमाथि हुनसक्ने भन्दै उनले दिनको अधिकांश समय पठाओमा यात्रु चहार्ने र पुर्‍याउँदैमा बित्ने गरेकाे उनले सुनाए ।

अच्चम्म मान्दै मैले उनलाई सोधेँ, ‘भनेपछि तपाईं अन्त कतै काम गर्नुहुन्न ?’

‘एक वर्षअघि काम नभएको बेला पठाओमा जोडिएको थिएँ । अहिले काम नै यही, दैनिकी नै यही हो जस्ताे लाग्छ,’ उनले जवाफ फर्काए ।

उनको जवाफले मलाई थप काैतुहल बनायाे ।

‘दिनमा कति टिप गर्नुहुन्छ ?’ मैले साेधेँ ।

‘त्यस्तै १५ देखि २० सम्म’ उनले तुरून्त उत्तर फर्काए ।

यात्रा रमाइलाेसँग बढिरहेकाे थियाे । मैले ‘उसाेभए पठाओबाट राम्रै कमाई होला है’ भनेर प्रश्न तेर्साएँ ।

‘महिनामा ४० हजार चानचुन बच्छ । विहानदेखि बेलुकैसम्म पठाओमै दिन जान्छ । यति कमाउँदा पनि आनन्द लाग्छ,’ उनी पनि निर्धक्क आफ्ना कुरा खोल्दै थिए ।

‘सुरुमा मेरो पुरानो बाइक थियो । मैले पठाओमा राइडरको काम गर्न थालेसँगै विस्तारै नयाँ बाइक किनेँ । त्यसको किस्ता निरन्तर तिरिरहेको छु । किस्ता सहित मलाई काठमाडौंको कोठाभाडा तिरेर गुजारा टार्न पुगेको छ ।’

उनको यो जवाफ जागिर नपाएर भौतारिरहेका धेरैलाई प्रेरणा बन्न सक्ला । सक्ला हाेइन, सक्छ नै ।

उनीसँगकाे भलाकुसारीपछि म स्पष्ट भएँ कि, पठाओले काठमाडौंमा रहेका धेरै युवाको मुहारमा खुसी ल्याइदिएको छ । अझै धेरैलाई खुसी दिन सक्छ ।

कुनै समय अञ्जान व्यक्तिको बाइकमा बस्दा लुटिएला कि भन्ने त्रास हुन्थ्याे । बाटोमै अलपत्र पार्दिन सक्छन् कि भन्ने डर हुन्थ्याे ।

तर, आज सहजताका लागि त्यही अञ्जान व्यक्ति हाम्रा सारथी बनेका छन् । भने, त्यही सारथिको पनि सारथी ‘पठाओ’ बनेको छ ।

नाकाबन्दीको समयमा पेट्रोल र डिजेलको अभाव हुँदा सुरु भएको ‘लिफ्ट’ दिने कल्चरलाई व्यवसायिक योजनामा परिणत गरी अघि बढेको पठाओ आज हजारौं नेपालीको जिवनयापनको स्रोत र लाखौं नेपालीको सवारी बनिसकेको छ ।

‘म आफैंले पनि नाकाबन्दीको बेलामा बेला धेरैलाई लिफ्ट दिएँ,’ पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यात भन्छन, ‘मलाई विदेशी कम्पनीमा काम गर्ने एक जना साथीले तेल र उसको इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको थियो । मैले त्याे इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेँ । गाडी चलाउँदा पाँच जना अट्ने भएता पनि ६–७ जनासम्म हालेर हिँडेको थिएँ ।’

त्यति बेला बल्ल मान्छेमा लिफ्ट लिँदा र दिँदा केही हुन्न भन्ने खालको एउटा भावना सिर्जना भएको थियो । उनी सम्झँदै भन्छन, ‘त्यति बेला म अर्को कम्पनीमा काम गर्थेँ । उक्त कम्पनीले नेपालमा अर्काे चर्चित राइड सेयरिङ एप ‘उबर’ ल्याउने तयारी गरेको थियो ।’

त्यसका लागि गाडीका चालकलाई तालिम दिनेदेखि सम्पूर्ण काम सकिएको थियो । तर, सोही समयमै भारतको दिल्लीमा भएको बलात्कारको घटनालाई लुकाउन खोजिएको भन्दै उबरका माथिल्ला तहका धेरै कर्मचारी निलम्बनमा परे । जसको असर, उबर नेपाल भित्र्याउने सपना तुहियो ।

त्यसपछी बस्न्यातले उनका साथिहरुसँगै त्याे कम्पनी छाडे । कम्पनी छाडेको एक वर्षपछि फेरि केही गर्ने योजना उनीहरुको टिमले बनायो । उबर त सफल भएन, अब त्यस्तै तर अर्को सेवा किन नगर्ने भनेर सल्लाह भयो ।

उनी भन्छन, ‘हामीले विभिन्न कम्पनीसँग प्रस्ताव गर्‍यौं । भारत, बंगलादेशका कतिपय कम्पनीबाट प्रस्ताव आयो । त्यसबाट हामीले पठाओ रोज्यौं ।’

अशिममान सिंह बस्न्यात

पठाओले उनीहरुलाई लगानी खोज्दिनेदेखि प्रविधिसम्म आफैं उपलब्ध गराउने प्रस्ताव राखेको थियो । तर, उनीहरु ब्राण्ड मात्रै चाहन्थे । त्यसैले ब्राण्डको भ्यालुसहितको शेयर मिलाएर सेवा उपलब्ध गराउने निर्णय भयो ।

‘ब्राण्डसँगै अमेरिकाबाट लगानी पनि आयो,’ उनी भन्छन, ‘लगानी पनि आयो, प्रविधि पनि तयार भयो । तर अब कहाँबाट सुरु गर्ने भनेर हाम्राे समूहमा कसैलाई पनि जानकारी थिएन ।’

नेपालमै यही क्षेत्रमा काम गरिरहेका एक जना साथी उनीहरुको टिममा जोडिए । ती साथिसँग भएको अनुभवले विस्तारै कम्पनीलाई अघि बढाइयो । उनी भन्छन, ‘हामीले परियोजना लहैलहैमा सुरु गरेका थियौं ।’

तर, त्यही लहैलहैबाट सुरु भएको पठाओ आज नेपालमा प्रयोगका हिसाबले सबैभन्दा धेरै प्रयोग गरिने एपमध्ये पर्छ । भने, समस्या पर्दा रेस्क्यु गर्न आउने एप जस्तै भएको छ ।

आज पठाओ नेपालकाे एप साढे १२ लाख डाउनलोड भइसकेको छ । सँगै ९० हजार राइडर र ड्राइभरको एप डाउनलोड भएको छ । कोभिडका कारण सम्पूर्ण मापदण्ड पुरा गरेर चलाउने बाइक राइडर १० हजारको हाराहारीमा पुगेका छन् ।

त्यस्तै ट्याक्सी ड्राइभरको संख्या २ हजारभन्दा बढी पुगेकाे छ । जसमार्फत दैनिक ४० हजारको हाराहारीमा टिप हुने गरेको बस्न्यात सुनाउँछन् । तर पनि उनी यसलाई सन्तुष्टिको आधार भने मान्दैनन् ।

भन्छन, ‘बजारमा अहिले च्याउसरी कम्पनी आउने र बिलाउने क्रम चलिरहेको छ । पठाओले अहिले दैनिक दिने सेवा सम्भावनाको २० प्रतिशत पनि हाेइन । त्यसैले यहाँ प्रतिस्पर्धी बजार स्थापना हुन आवश्यक छ । किनकि नेपालको हकमा एकतर्फी १०० रुपैंयाँ तिरेर यात्रा गर्नु महंगो हो ।’

उक्त शुल्कलाई कसरी कम गर्न सकिन्छ र आम मानिसको यात्रा गर्ने साधन कसरी बन्न सकिन्छ भन्ने नै कम्पनीकोे मुख्य उदेश्य हो ।

उनी भन्छन, ‘कुनै समय मैले इलेक्ट्रिक स्कुटरमा धेरै मान्छे बोकेको थिएँ । सायद भोलिको भविष्य इलेक्ट्रिक हो कि ? सबै सवारी इलेक्ट्रिक भइदिएको खण्डमा तेलको मूल्य तिर्नु नपर्दा मूल्य कम हुन्छ कि ? अथवा सरकारले नीतिगत रुपमा सहयोग गरेको खण्डमा केही हुन्छ कि भन्ने नै हो ।’

तर, यसका लागि एउटा कम्पनी मात्रै उफ्रिएर हुने केही होइन । सरकारले सहज नीति बनाउनु पर्‍यो । टेलिकम सेवा प्रदायकले राइडरको हकमा सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराइदिनु पर्‍यो । यी सबै भएको खण्डमा नेपालीका लागि पार्ट टाइम जब र यात्रा गर्न सहजता खोजी राख्नु नपर्ने उनी दाबी गर्छन् ।

भन्छन, ‘पठाओले अहिले १८ वर्षको उमेरमा आफूसँग लाइसेन्स छ भने पकेटमनीका लागि परिवारसँग निर्भर हुनुपर्दैन भनेर प्रमाणित गरिदिएकाे छ ।’

पठाओमाथिको आक्रमण युवा उद्यमीका लागि सिकाई

नेपालीलाई दुई वटा कुरा कसैले पनि सिकाउनै पर्दैन रे । उनी हाँस्दै भन्छन, ‘एउटा खाली जग्गामा प्लटिङ गर्न र अर्काे कसैले केही गर्न खोज्यो भने विरोध गर्न । पठाओमाथिको आक्रमण पनि त्यसैको एउटा शिकार हो । कम्पनीले पाएको सफलताबाट लोभिनेहरुको हो ।’

विभिन्न माग राख्दै भएको पठाओको कार्यालयमा भएको तोडफोडमा ५० जना जति सहभागी थिए । त्यसमध्ये कतिपयलाई जबरजस्ती सहभागी गराइएको थियो । भने, कतिपय त तोडफोडका लागि दुई दिनअघिमात्रै पठाओमा आबद्ध भएकाहरु पनि भेटिए ।

कतिपय कम्पनीको नीतिभन्दा बाहिर गएर काम गरेबापत जिन्दगीभर बन्देज लगाएका थिए । ‘उनीहरुबाट मलाई विभिन्न माध्ययबाट धाकधम्की पनि आएकै थियो,’ उनी भन्छन, ‘यस्तै हो भने बस्दाको परिणाम तोडफोडमा परिणत भयो ।’

यदि उनीहरु साँच्चिकै राइडर हुन्थे भने आफ्नो आम्दानीको स्रोतमाथि यसरी आक्रमण गर्ने थिएनन् । तर, पनि मैले यसलाई समग्र स्टार्टअपका लागि सिकाईको रुपमा लिएको छु । उनी भन्छन, ‘यस्ता घटनाले म लगानी गरेर केही गर्छु भन्ने नयाँ उद्यमीहरुलाई निरुत्साहित पक्कै गर्नेछ । विशेषगरी ईकमर्स, अनलाइन बिजनेशका लागि यो पाठ हो ।’

बाइकबाट ट्याक्सीमा किन ?

हामी प्रविधिमा काम गर्ने मान्छे । हामीसँग प्रविधि छ भने उक्त प्रविधिमार्फत थप सेवा किन नदिने भनेर नै हो । उनी भन्छन, ‘त्योभन्दा पनि ट्याक्सी चालकहरुमा पठाओले प्राइभेट गाडीको सेवा सुरु गर्ने हो कि भन्ने चिन्ता रहेछ ।

यदि त्यसो भएको खण्डमा हाम्रो व्यवसाय धरापमा पर्छ भन्ने ट्याक्सी चालकको चिन्ता र कम्पनीको मनसाय मिल्दा ट्याक्सी सेवा थप भएको हो ।’

अहिले हामीसँग २ हजारभन्दा बढी ट्याक्सी जोडिएका छन् । जोडिएका ट्याक्सीलाई सोध्ने हो भने कम्तीमा पनि ५ टिप पठाओबाट गर्ने गरेको बताउँछन् ।

उनी भन्छन, ‘उनीहरुले पेट्राेलमा पहिलेभन्दा ५ सय बढी खर्च गर्लान् । तर आम्दानी पहिलेभन्दा ३ गुणाले बढेको छ । अहिले शुक्रबार बाइक र शनिबार ट्याक्सीको प्रयाेग सबैभन्दा बढी हुने गरेको छ ।’

पठाओमा ‘कार प्लस’ के हो ?

पठाओले एपकाे कार सेक्सनमा कार लाइट अर्थात् ट्याक्सी मात्रै सञ्चालनमा ल्याएको छ । तर, ‘कार प्लस’ भन्ने सेक्सेन त्यहाँ उपलब्ध भएता पनि सेवा सुरु भएको छैन ।

‘यसको कारण कम्पनीले प्राइभेट कार भित्र्याउने तयारी गरिरहेको छ भन्ने धेरैलाई परेको छ,’ उनी भन्छन, ‘जुन कुनै योजनामै छैन । कार प्लसको उद्देश्य जब हाम्रो ट्याक्सी २० वर्ष लागू भएर नयाँ ट्याक्सी किन्नुपर्ने हुन्छ, त्यति बेला आउने एसीयुक्त ट्याक्सीलाई हामीले यसमा समावेश गर्ने योजना बनाएका हौं ।’

अबको योजना

कम्पनीले चाँडै ‘रियल टाइम पार्सल’ सुरु गर्दैछ । यसको अर्थ यदि तपाईं कार्यालयमा हुनुहुन्छ, तर घरमा सामान बिर्सिनुभयो भने अब त्यो सामान तपाईंको घरमा पुगेर तपाईंको कार्यालयसम्म ल्याइदिने काम पठाओका राइडरले गर्नेछन् ।

‘यसको उद्देश्य मान्छेले घरमा पाकेको खान अफिसमा बसेर खान पाओस भन्ने हो,’ उनी भन्छन, ‘यदि त्यो सेवा सुरु भएको खण्डमा पठाओबाट घरबाट खाना मगाएर खान सक्छ । यसले ठूलो सहयोग पुर्‍याउने छ भन्ने विश्वास हामीले लिएका छौं । यसले ईकमर्स कम्पनीलाई पनि सहयोग पुर्‍याउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team