close

अब युट्युवबाट टिकटक जस्तै छोटो भिडियो क्लिप शेयर गर्न सकिने

टेकपाना टेकपाना

माघ २०, २०७७ २०:३

अब युट्युवबाट टिकटक जस्तै छोटो भिडियो क्लिप शेयर गर्न सकिने

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म युट्युवले नयाँ टुल युट्युव क्लिपको परीक्षण थालेको छ । यो टुलमार्फत युट्युव भिडियोबाट छोटा क्लिपहरु शेयर गर्न सकिनेछ ।

हाल परीक्षणको क्रममा रहेको यो फिचर केही क्रियटर्सहरुलाई मात्र उपलब्ध गराइएको छ । युट्युव क्लिपको माध्यमबाट प्रयोगकर्ताले भिडियोबाट छोटो क्लिप शेयर गर्न सक्नेछन् ।

यसमा भिडियो क्लिप ५ सेकेन्डदेखि ६० सेकेन्डसम्म लामो हुनेछ । सामान्यतया यसो गर्न हाल प्रयोगकर्ताले थर्टपार्टी टुल तथा एप प्रयोग गर्नुपर्ने अवस्था छ ।

एक्सडीएको रिपोर्ट अनुसार हाल युट्युवले कुनै निश्चित भागबाट सुरु हुने भिडियो शेयर गर्ने अनुमति दिने गर्छ । प्रयोगकर्ताले भिडियोको कुनै निश्चित समयको क्लिप शेयर गर्न सक्छन् । यो निकै उपयोगी छ । लाइभ भिडियोबाट समेत यसरी क्लिप शेयर गर्न सकिनेछ ।

कसरी गर्छ काम ?

युट्युव क्लिप शेयर गर्ने फिचर हाललाई सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यद्यपी यसलाई प्रयोग गर्न भने निकै सहज छ ।

यसका लागि सुरुमा युट्युवमा भिडियो खोलिसकेपछि त्यसको तल एउटा कैंचीजस्तो क्लिप आइकन देखिनेछ । यो आईकनमा क्लिक गर्दा क्रियट क्लिपको अप्सन देखिन्छ ।

त्यसपछि उक्त भिडियोबाट ५ देखि ६० सेकेन्डको क्लिप झिक्न सकिन्छ । यसरी तयार पारिएको क्लिपलाई कुनै शीर्षक दिएर शेयर बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यसरी एउटा नयाँ प्यानलमा प्रयोगकर्ताले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा भिडियो शेयर गर्ने अप्सन फेला पार्न सक्नेछन् । साथै प्रयोगकर्ताले यस्ता क्लिप इम्बेड गर्न वा त्यसलाई ईमेलमार्फत पठाउन समेत सक्छन् ।

यस बाहेक प्रयोगकर्ताले चाहेको खण्डमा उक्त क्लिपको लिङ्क कपी गरेर समेत पेस्ट गर्न सक्छन् । यो फिचर उपलब्ध गराइएका प्रयोगकर्ताले एन्ड्रोइड र डेक्सटप दुवै माध्यममा प्रयोग गर्ने सुविधा पाएका छन् । चाँडै नै यो फिचर सबैका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१