close

मोल्दोभाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्मार्टफोन र इन्टरनेट दिँदै सीजी

टेकपाना टेकपाना

माघ २४, २०७७ १६:४६

मोल्दोभाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्मार्टफोन र इन्टरनेट दिँदै सीजी

काठमाडौं । नेपालको चौधरी ग्रुप अन्तर्गतको दूरसञ्चार कम्पनी मोल्डसेलले मोल्दोभाका ज्येष्ठनागरिकलाई निःशुल्क रुपमा स्मार्टफोन र इन्टरनेट वितरण गर्न थालेको छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषसँगको सहकार्यमा नेपालका एकमात्र अर्बपति विनोद चौधरीको टेलिकम कम्पनीले यो कार्यक्रम अगाडि बढाएको हो ।

नेपालमा दूरसञ्चार सेवाका लागि अनुमतिपत्र पाउन अयोग्य ठानिएको चौधरी ग्रुपले मोल्दोभामा भने आफ्नो पूर्ण लगानीमा गत एक वर्षदेखि मोबाइल सेवाप्रदायक कम्पनी मोल्डसेल सञ्चालन गर्दै आएको छ ।

सीजी कर्प ग्लोबल अन्तर्गतको सीजी सेल टेक्नोलोजीले गत वर्षको फेब्रुअरीमा स्विडिस कम्पनी टेलियाबाट मोल्डसेलको शत प्रतिशत स्वामित्व खरिद गरेको थियो । तीन करोड ११ लाख अमेरिकी डलर अर्थात करिब तीन अर्ब ७३ करोड २० लाख रुपैयाँमा उक्त कम्पनी खरिद गरेको थियो ।

मोल्डसेल मोल्दोभाको दोस्रो ठूलो टेलिकम कम्पनी हो । कम्पनीले त्यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्क स्मार्टफोन वितरणसँगै स्वयंसेवकहरुबाट उनीहरुलाई त्यसको विविध प्रयोजनमा हुने उपयोगको विषयमा तालिम समेत दिन थालिएको छ ।

अर्बपति चौधरीले संयुक्त राष्ट्रसंघको यो कार्यक्रम विश्वभर प्रसंसनीय रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस किसिमको राम्रो कार्यले निरन्तरता पाओस् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१