close

हरेक ठाउँको माटोको विवरण अब अनलाइनबाटै थाहा पाउन सकिने

टेकपाना टेकपाना

फागुन १२, २०७७ १७:४१

हरेक ठाउँको माटोको विवरण अब अनलाइनबाटै थाहा पाउन सकिने

काठमाडौं । कृषि व्यवसायमा लागनी गर्ने योजनामा हुनुहुन्छ ? तर, जग्गाको बारेमा जानकारी संकलन गर्न सकिरहनु भएको छैन भने त्यसको सहजता नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले दिएको छ ।

परिषदले बुधबारमात्रै नेपालको माटोसम्बन्धी नयाँ वेबसाइट सार्वजनिक गरेको छ । माटोको विद्युतीय नक्सा (डिजिटल सोइल म्याप) तयार पारी वेबसाइट सार्वजनिक गरिएकाे हो ।

याेसँगै अब तपाईंले घरमै बसी नेपालको कुन ठाउँको माटोको अवस्था कस्ताे छ, त्यस्ताे माटोमा कस्तो खालको खेती लगाउन सकिन्छ भन्ने विषयमा योजना बनाउन सक्नुहुनेछ ।

याे डिजिटल म्यापबाट नेपालको हरेक बिन्दुको जानकारी उपलब्ध गराइएको छ । जहाँ एक क्लिक गरेकै भरमा माटोको अम्लीयपन, रसायन पदार्थको मात्रा, उर्वरा शक्ति, माटोको बनावट तथा गुणस्तर लगायतका जानकारी लिन सकिने छ ।

किसानले आफ्नो जग्गामा माटोको गुणस्तरका आधारमा मल कति आवश्यक पर्छ, कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ, यदि माटोको गुणस्तर नराम्रो भएको खण्डमा त्यसलाई सुधार्न आवश्यक कदम चाल्न समेत यसले मद्दत पुर्‍याउने बताइएकाे छ ।

यसरी माटोको डिजिटल नक्सांकन गर्ने सार्क मुलुकमै नेपाल नै पहिलो देश बनेकाे छ । हाल देशभरबाट २३ हजार २ सय ७३ नमुना जाँच गरेर त्यसको विश्लेषणका आधारमा सफ्टवेयर निमार्ण गरिएको नार्कले उल्लेख छ । उसका अनुसार थप परीक्षणको काम पनि भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१