close

गुगल प्लस कोड प्रयोग गरी घर-घरमा सामान डेलिभरी गर्दै हुलाक

टेकपाना टेकपाना

फागुन १३, २०७७ १५:१२

गुगल प्लस कोड प्रयोग गरी घर-घरमा सामान डेलिभरी गर्दै हुलाक

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवामा गुगल प्लस कोड प्रयोगमा ल्याइने भएको छ । त्यसका लागि मन्त्रालयले हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य–सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि पास गरेको छ ।

सूचना प्रविधि अनुरुप गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ गुगल प्लस काेडसम्बन्धी कार्यविधि ल्याइएको गोश्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम उपाध्याय बताउँछन् । उपाध्याय दुई महिनाअघि मात्रै मुद्रण विभागबाट सरुवा भई गोश्वारा हुलाक कार्यालय पुगेका हुन् ।

उनकै नेतृत्वमा हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजना अघि बढेकाे हाे । साेही अनुरुप गुगल प्लस कोडकाे प्रयोग सुरु गरिएकाे उपाध्याय बताउँछन् ।

उनी भन्छन, ‘अव्यवस्थित सहरीकरणले ठूला-ठूला बस्तीका घर र कार्यालयमा सहजै चिठीपत्र पुर्‍याउन नसकिने भएकाले गुगलको माध्यमबाट प्रापकको घर वा कार्यालयसम्म पुर्‍याउने व्यवस्था गर्न लागिएकाे हाे ।’

उनका अनुसार यसले सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सहयोग पुर्‍याउने छ । हुलाक सेवा प्रदान गर्ने कार्यालयले गुगल प्लस कोड पद्धतिअनुरुप विद्युतीय माध्यमबाट पनि प्रापकको यकिन ठेगान पहिचान गरी हुलाक सेवा वितरण गर्नसक्ने भएकाले यो हुलाक सेवाका लागि महत्वपूर्ण कदम भएको उनी बताउँछन् ।

उक्त कार्यविधि अनुसार सामान पठाउने व्यक्तिले उपलब्ध गराएको गुगल कोडका आधारमा सामान डेलिभरी गरिनेछ । यसका लागि हुलाककाे कर्मचारीले मोबाइल फोनमा रहेको गुगल म्याप्स एप वा जीपीएस ट्रयाक गर्ने डिभाइसमार्फत सही स्थान पहिचान गर्न सक्नेछ ।

यसरी गुगल प्लस कोडका आधारमा सामान डेलिभरी गर्दा उक्त स्थानमा सम्बन्धित व्यक्ति नभेटिएको खण्डमा भने सामान तत्कालै सम्बन्धित कार्यालयमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यो सेवामा जोडिन सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी राख्नुपर्ने उल्लखे गरिएको छ । यसअन्तर्गत गुगल प्लस काेड अंकित बोर्ड सर्वसाधारण तथा सेवाग्राहीले देख्ने गरी राख्नसक्ने उल्लेख गरिएको छ ।

व्यक्तिको हकमा भने आफ्नो कोड जेनेरेट गरी स्वयम् वा स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरणमा आफ्नो घर वा संरचनाबाहिर सेवा प्रदायक तथा अन्य सर्वसाधारणले स्पष्ट देख्ने गरी कोड अंकित सानो प्लेट राख्नसक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

तर, यसरी राखिने प्लस कोडको प्लेट नीलो रंगमा सेतो अक्षरले लेखिएको हुनुपर्नेछ । यसरी कोड जेनेरेट गर्दा घर तथा कार्यालयको मुख्य द्धारलाई आधार मानेर गर्नुपर्ने उल्लेख गरिएको छ । भाडा लिएर कोठामा बस्नेहरुको हकमा उनीहरुले उक्त घरको मुख्य द्धारलाई आधार मान्न सक्ने उल्लेख गरिएको छ ।

यो कोड प्रयोग गर्दा कुनै किसिमको शुल्क लाग्ने छैन । यस कोड पद्दतिलाई विस्तारै अन्य उपयोगी सार्वजनिक सेवाहरुमा पनि विस्तार गरिने उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४