close

टीयू वा पीयू, बीआईटीमा कुन राम्रो ?

युजु खालिङ युजु खालिङ

फागुन २३, २०७७ १७:१०

टीयू वा पीयू, बीआईटीमा कुन राम्रो ?

काठमाडौं । अहिले धेरै मानिसहरु आईटी क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छन् । तर आईटीभित्र पनि यति धेरै क्षेत्र र विषयहरु छन् । कुन विषय पढ्ने, कता पढ्ने र कहाँ जाने भन्ने दुविधा सबै विद्यार्थीलाई हुन्छ ।

तर चिन्ता नलिनुहोस् । अब हामी तपाईंलाई यो महिनाभर आईटी क्षेत्रका विभिन्न उत्कृष्ट विषयबारे विस्तृत बताउने छौ । तपाईंका लागि कुन विषय पढ्दा उपयुक्त हुन्छ, तपाईंले पढ्न चाहेको विषय के हो , कहाँ पढ्ने, कति समय र खर्च लाग्छ, यी सबै कुरा हामी विस्तृत बताउने छौं ।

यसबीच आज हामी तपाईंलाई बीआईटी अर्थात् ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी विषयका बारेमा बताउने छौं । आईटी क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि बीआईटी एकदमै राम्रो विषय हो । आईटीका धेरै विषय तथा आईटी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुले उच्च माध्यमिक तहमा विज्ञान विषय लिएको हुनुपर्दछ ।

तर बीआईटी एउटा यस्तो एड्भान्स आईटी कोर्स हो, जुन पढ्न तपाईंंलाई साइन्सको एकेडेमिक ब्याकग्राउण्ड अनिवार्य पर्दैन । उच्च माध्यमिक तहमा व्यवस्थापन अर्थात् सय सय पूणाङ्कको अंग्रेजी र गणित विषय लिएर ती दुवै विषयमा सी ग्रेडसम्म ल्याउने विद्यार्थीहरुले पनि बीआईटी पढ्न पाउँछन् ।

अहिले बीआईटी नेपालमा त्रिभूवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयमा मात्र अध्ययन अध्यापन हुन्छ । यसमध्ये त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६ वटा आङ्गिक तथा निजी कलेजहरु पाटन मल्टिपल कलेज ललितपुर, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस मोरङ, विरेन्द्र मल्टिपल क्याम्पस चितवन, महेन्द्र मल्टिपल क्याम्पस बाँके र सिद्धनाथ साइन्स क्याम्पस कञ्चनपुरमा यो शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तै पूर्वाञ्चल विश्वविद्याल अन्तर्गत नेपालका ७ वटा कलेजमा यो विषय अध्ययन अध्यापन हुन्छ । जसमध्ये पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी मोरङ, हिमालयन इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी काठमाडौं, हिमालयन ह्वाइट हाउस इन्टरनेश्नल कलेज ललितपुर, कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ (सीआईटीई) काठमाडौं, आर्यन स्कुल अफ इन्जिनियरिङ काठमाडौं, किष्ट कलेज अफ इन्फर्मेसन टेक्नोलोजी काठमाडौ र कान्तिपुर सिटी कलेजमा यो विषय अध्ययन अध्यापन भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले गत वर्ष (२०७६) देखि बीआईटी कार्यक्रम सुरु गरेको हो । त्रिविले पहिलोपटक पाटन क्याम्पसमा यो कार्यक्रम सुरू गरेको थियो । त्रिविले सम्बन्धन दिएका देशभरका कलेजहरुमा बीआईटी प्रोग्रामका लागि न्यूनतम ३६ जनाको कोटा निर्धारण गरेको छ ।

बीआईटी अध्ययन गर्न चाहने विद्यार्थीहरुले इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (आईओएसटी) त्रिविको परीक्षा उत्तीर्ण गरी नाम निकाल्नु पर्नेछ ।

४ वर्ष अर्थात् ८ सेमेस्टरको यस कोर्सलाई तीन लाख ७५ हजार रुपैयाँमै पढाइरहरेको ललितपुरस्थित पाटन क्याम्पसका बीआईटी कार्यक्रम संयोजक एवं सहायक प्राध्यापक देवनारायण यादव बताउँछन् ।

त्रिविले न्यूनतम ३६ जनाको कोटा निर्धारण गरेपनि क्याम्पसमा पर्याप्त पूर्वाधार र विद्यार्थीहरुको मागका कारणले अहिले यो कोटालाई बढाएर १०८ पुर्‍याई तीन समूहमा अध्ययन अध्यापन भइरहेको सहायक प्राध्यापक यादवले बताए ।

‘बीआईटीमा सुरुमा कुनै छात्रवृत्ति थिएन । तर इन्टर्नशिपमा उच्च अङ्क ल्याउने र सेमेस्टर टप गर्ने विद्यार्थीहरुका लागि भने छात्रावृत्तिको व्यवस्था छ,’ यादवले भने ।

त्रिविको पाठ्यक्रम अनुसार बीआईटीमा सूचना प्रविधि बाहेकका अर्थशास्त्र तथा समाजशास्त्रजस्ता कोर्सहरु पनि समेटिएको छ । प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ घण्टा रहेको छ । अन्तिम सेमेस्टरमा विद्यार्थीका लागि इन्टर्नशिपको व्यवस्था पनि गरिएको छ भने ८ सेमेस्टरमा केही इलेक्टिभ कोर्सहरु पनि समावेश गरिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्ववविद्यालयले नेपालमा पहिलोपटक सन् २००१ मा बीआईटी कार्यक्रम ल्याएकाे हाे । त्रिविको तुलनामा पूर्वाञ्जल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा बीआईटी कोर्स धेरै एड्भान्स भएको पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक गोपाल शर्मा बताउँछन् । 

यस विश्वविद्यालय अन्तर्गत हाल ७ वटा आङ्गिक तथा निजी कलेजहरुमा बीआईटी अध्ययन तथा अध्यापन भइरहेको छ । 

हरेक आङ्गिक कलेजमा बीआईटी विषयका लागि विश्वविद्यालयले न्यूनतम ४० वटा कोटा निर्धारण गरेको छ । आङ्गिक कलेजहरुमा यस विषयकाे शुल्क तीन लाख रुपैयाँकाे हारहारीमा लाग्छ भने निजी कलेजहरुमा शुल्क संरचना कलेजअनुसार भिन्न-भिन्न छ ।

पूर्वाञ्चल विश्वविद्यालयले १० प्रतिशत विद्यार्थीलाई  मेरिट र आरक्षण छात्रवृत्ति प्रदान गर्दछ । कुल भर्ना भएका विद्यार्थीमध्ये ५ प्रतिशतले मेरिट छात्रवृत्ति र ५ प्रतिशतले आरक्षण छात्रवृत्ति प्राप्त गर्दछन् ।

प्रवेश परीक्षामा सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थीले मेरिट छात्रवृत्ति अन्तर्गत कुल शुल्कको ८० प्रतिशत छात्रवृत्ति प्राप्त गर्दछन भने विश्वविद्यालयको नियमअनुसार धेरै अंक पाउने विद्यार्थीले आरक्षण छात्रवृत्ति अन्तरगत कुल शुल्कको १०० प्रतिशत छात्रवृत्ति प्राप्त गर्दछन ।

पूर्वाञ्जल विश्वविद्यालयमा पनि बीआईटी चार वर्षको ८ सेमेस्टरको रहेको छ । १०+२ तहमा जुनसुकै संकाय (विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा) पढेका विद्यार्थीहरुले १०० अंकको गणितको विषय पढेको हुनुपर्छ । साथै सबै विषयमा कम्तीमा सी ग्रेड सहित सीजीपीए २.० कटाएको हुनुपर्छ ।

बीआईटी अध्ययन गर्न चाहने विद्यार्थी उच्च माध्यमिक तहमा जुनसुकै संकायको भएपनि सय पूर्णाकंको गणित विषय लिएको हुनुपर्नेछ । साथै विद्यार्थीले उमाविमा ४५ प्रतिशत अंक हासिल गरेको हुनुपर्नेछ । 

पूर्वाञ्चल विश्वविद्यालयले लिएको प्रवेश परीक्षा उत्तीर्ण गर्ने शर्टलिस्टेड विद्यार्थीले मात्र लिखित र अन्तर्वार्तामा सहभागी हुनसक्ने छन् । 

हाल बीआईटी कोर्षलाई थप परिमार्जन गरेर एडभान्स बनाउने तयारीमा विश्वविद्यालय लागिरहेको शर्माले जानकारी दिए ।

बीआईटी सूचना प्रविधि क्षेत्रको स्नातक तहको चार वर्षे, आठ सेमेस्टर शैक्षिक कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई सूचना प्रविधिको आधारभूत ज्ञान प्रदान गर्नुको साथै प्रोग्रामिङ, कम्प्युटर नेटवर्क र टेलिकम्युनिकेशनको राम्रो ज्ञान दिन्छ।

यस कोर्सले मुख्य रुपमा प्रोग्रामिंग सीप बिकाशमा महत्वपुर्ण भुमिका खेल्छ र साथसाथै कम्प्युटर प्रणाली डिजाइन, कम्प्युटर आर्किटेक्चर र संचारको बारेमा समेत ज्ञान प्रदान गर्छ। अध्ययनको क्रममा विद्यार्थीहरुले इन्टरनेट तथा वेब, मल्टिमेडिया, कृत्रिम बुद्धिमत्ता, मोबाइल टेक्नोलोजीको क्षेत्रमा समेत सीप विकसित गर्न सक्दछन् ।

बीआईटी पढेका विद्यार्थीहरुले सफ्टवेयर तथा वेब डेभेलोपर, मोबाइल एप डेभलपर, सफ्टवेयर इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, सूचना प्रविधि परामर्शदाता, क्लाउड आर्किटेक्ट, डेटा इन्जिनियर, डाटावेस प्रशासक लगायत क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छन ।

त्रिविको भन्दा कोर्समा के फरक छ ?

पूर्वाञ्चल विश्वविद्यालयको बीआईटी कार्यक्रमले कम्प्युटर र प्राविधिक सीपहरूको कुशल प्रयोगमा जोड दिन्छ। सूचना प्रविधि प्रणालीहरूको साथै प्रबन्धकीय सीपको बिकाशमा समेत पूर्वाञ्चल विश्वविद्यालयको बीआईटी कार्यक्रमले सहयोगमा गर्दछ ।

प्रत्येक सेमेस्टरमा विद्यार्थीहरुले गर्नुपर्ने प्रोजेक्ट र इन्टर्नशिपको माध्यमबाट बजारमा प्रभावकारी सहभागिताका लागि क्षमता र आन्तरिक कौशल विकास गर्न समेत बीआईटी कार्यक्रमले सहयोग गर्छ ।

कम्प्युटर तथा सूचना प्रविधि क्षेत्रमा, देश तथा विदेशमा, एमआईटी, एमएससी, आईटी., एमबीए, एमसीए र एमएस लगायतका स्नातकोत्तर कार्यक्रम अध्ययनका लागि पूर्वाञ्चल विश्वविद्यालयको बीआईटी कार्यक्रमले बलियो आधार प्रदान गर्दछ ।

साथै समयअनुसार सूचना प्रविधिको क्षेत्रमा हुने परिवर्तनलाई आत्मसाथ गरी पाठ्यक्रम परिमार्जन गर्दै पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो बीआईटी कार्यक्रमलाई अरुभन्दा अब्बल रुपमा स्थापित गराएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१