close

इन्टरनेट ब्याण्डविथ आयातमा सीमा, अब १०० जीबीपीएसभन्दा कम ल्याउन नपाइने

टेकपाना टेकपाना

फागुन २३, २०७७ २०:०

इन्टरनेट ब्याण्डविथ आयातमा सीमा, अब १०० जीबीपीएसभन्दा कम ल्याउन नपाइने

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय ब्याण्डविथ आयातमा सीमा तोक्ने भएको छ । फ्रिक्वेन्सी आयातलाई खुल्ला छाड्दा इन्टरनेटको मूल्यमा समेत असर परिरहेको भन्दै प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो ।

प्राधिकरण स्राेतका अनुसार अब नेटवर्क सर्भिस प्रोभाइडरले १०० जीबीपीएसभन्दा कम ब्याण्डविथ आयात गर्न नपाउने प्रावधान ल्याउने तयारी भइरहेको छ ।

‘हाल नेटवर्क सर्भिस प्रोभाइडरले ल्याउने ब्याण्डविथमा कुनै सीमा तोकिएको छैन,’ स्राेतले भन्याे, ‘अहिले जसले जति चाह्यो त्यति ल्याउन सक्ने खालको अवस्था छ । तर, अब १०० जीबीपीएस भन्दा कम ल्याउनलाई विदेशी भुक्तानीका लागि स्वीकृति नै दिइने छैन ।’

हाल अन्तर्राष्ट्रिय ब्याण्डविथ धेरै ल्याउने सेवाप्रदायकले प्रति एमबीपीएस प्रति महिना ४ अमेरिकी डलरसम्म ल्याएका छन् । भने, कसैले १० डलरभन्दा पनि बढी तिरेको अवस्था छ ।

धेरै ल्याउनेसँग ब्याण्डविथ खरिद गर्दा हुने बार्गेनिङ पावर पनि उच्च हुन्छ । यस्तोमा सीमा तोकिदिने हो भने जसले सस्तो मूल्यमा धेरै ब्याण्डविथ ल्याएको छ, उक्त सेवाप्रदायकसँग अन्य सेवाप्रदायकले ब्याण्डविथ खरिद गर्न सक्छन् ।

स्राेत भन्छ, ‘यसो गर्दा धेरै ब्याण्डविथ ल्याउनेले ४ डलरमा भित्र्याएको छ भने उसले नेपालमा अन्य कम्पनीलाई ब्याण्डविथ बिक्री गर्दा ल्याएको मूल्यमा १ देखि २ डलर नै थप गर्दा पनि ६ डलर हुन आउँछ । जुन उनीहरुले बाहिरबाट सिधै ल्याउँदाको मूल्यभन्दा धेरै कम पर्ने जान्छ । यसले इन्टरनेटको मूल्यमा समेत फरक पार्नसक्ने देखिन्छ ।’

त्यतिमात्रै नभएर यसले हाल यदि कुनै सेवा प्रदायकले ब्याण्डविथको नाममा पैसा बाहिर पठाइरहेको भएता पनि त्यस्ता कार्य रोक्न पनि मद्दत पुग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१