close

टुटल र पठाओ चालकले कहिलेसम्म कुटाइ खाने ?

टेकपाना टेकपाना

चैत १०, २०७७ १३:३७

टुटल र पठाओ चालकले कहिलेसम्म कुटाइ खाने ?

काठमाडौं । हिजो सोमबार काठमाडाैंस्थित नयाँ बसपार्कमा अन्य ट्याक्सी ड्राइभरले पठाओसँग आवद्ध ट्याक्सी ड्राइभरमाथि हातपात गरे । पठाओका ट्याक्सी ड्राइभरले अर्को ट्याक्सीको ग्राहक खोस्यो भन्दै विवाद निम्तिएकाे थियाे ।

लाइनमा बस्दै गर्दा आफूभन्दा पछाडि रहेकाे ट्याक्सीमा पठाओबाट बुक गरेर ग्राहक आएपछि सुरु भएको विवाद पछि ट्राफिक प्रहरी नै पुगेर मिलाउनुपर्‍यो ।

याे विवादको भिडियोले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । भने, धेरैले पठाओमाथिको उक्त आक्रमणलाई नयाँ आविष्कार र प्रविधि माथिको आक्रमणको रुपमा हेरेका छन् ।

काठमाडौंजस्तो अस्तव्यस्त सार्वजनिक यातायात रहेको ठाउँमा राइड शेयरिङ सेवाले हजाराैंलाई सहज आवगमनको सुविधा प्रदान गरिरहेको छ । त्यसैले मोबिलिटी सुविधा र रोजगारी खोस्ने कि यसलाई व्यवस्थित गर्ने भन्ने विषय यति बेला पुनः बहसमा छ ।

पाँच वर्षअघि सुरु भएको टुटल र तीन वर्षयता आफ्नो सेवा दिँदै आएको पठाओ आजका दिनमा निकै नै रुचाइएका छन् । हजारौंका लागि यी रोजगारीको अवसर बनिरहेको छ । आज टुटल, पठाओ पार्ट टाइम मात्रै फुल टाइम रोजगारीको सबैभन्दा उत्तम विकल्पको रुपमा विकास भएकाे छ ।

यी राइडिङ सेवामा कर्मचारीदेखि सामान्य जीवनयापन बिताउनेहरु पनि जोडिएका छन् । यसरी अवसरको माध्यम बनिरहेका पठाओ र टुटललाई संरक्षण गर्ने कानून नहुँदा लामो समयदेखि निरन्तर विवाद हुने गरेको छ ।

यसअघि गत वर्ष यातायात व्यवस्था विभागले टुटल, पठाओजस्ता राइड शेयरिङ गैरकानूनी भएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐनले नयाँ प्रविधिलाई आत्मासाथ नगरेको भन्दै विभागले समेत यस्ता सर्भिसलाई गैरकानूनी भएको बताएको थियो ।

जतिबेला उक्त कानून बनेको थियो, त्यतिबेला इन्टरनेट नै अस्तित्वमा आइसकेको थिएन । यस्तोमा उक्त कानूनले नयाँ प्रविधिलाई आत्मासाथ गर्ने कुरै भएन ।

नयाँ प्रविधिसँग नयाँ कानूनी व्यवस्था गर्नुको साटो टुटल पठाओजस्ता सेवालाई बन्द गर्ने विभागको उक्त निर्णयको त्यतिबेला ठूलो विरोध भएको थियो । जसका कारण विभाग आफ्नो निर्णयबाट पछि हटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टुटल र पठाओलाई नरोक्न निर्देशन समेत दिएका थिए । तर, पनि अझै याे समस्याको समाधान भने भएको छैन ।

सरकारी तवरबाट रोकताेक नभएता पनि कानूनी रुपमा व्यवस्थित नगर्दा हरेक दिन टुटल, पठाओजस्ता राइड शेयरिङ सर्भिसमाथि निरन्तर आक्रमण भइरहेको छ ।

यस्तोमा कानूनी व्यवस्थाको तयारी के भइरहेको छ त ? यातायात विभागका प्रवक्ता लोकनाथ भुसाल भन्छन, ‘हामीसँग हाल कार्यान्वयनमा रहेको कानूनका आधारमा टुटल, पठाओजस्ता सर्भिसलाई केही गर्नसक्ने अवस्था छैन । उल्टै उक्त सेवा गैरकानूनी हो भन्ने कानुनले देखाउँछ ।’

त्यसैले विभागले हाल नयाँ ऐन प्रस्ताव गरी मन्त्रालयमा पठाएको छ । उनी भन्छन, ‘उक्त ऐन मन्त्रालयबाट मन्त्रीपरिषदमा पुगेको छ । जबसम्म उक्त कानुन पास भएर आउँदैन, तबसम्म यातायात विभागले केही गर्नसक्ने अवस्था छैन ।’

उनले अगाडि भने, ‘प्रस्तावित कानूनमा यातायात सेवाका आधुनिक विधिद्धारा यस्ता सेवा प्रदा गर्ने सम्बन्धमा नियम बनाउन सक्ने भनी उल्लेख गरिएको छ । यदि उक्त कानुन पास भएको खण्डमा तत्कालै कार्यविधि बनाएर टुटल, पठाओजस्ता सेवालाई संरक्षण र नियमन गर्न सकिने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१