close

मिड रेन्जमा उत्कृष्ट फिचरसहित सामसङ ए५२ नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

चैत १०, २०७७ १५:३२

मिड रेन्जमा उत्कृष्ट फिचरसहित सामसङ ए५२ नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । मंगलबारदेखि नेपाली बजार सामसङ ग्यालेक्सी ए५२ उपलब्ध भएको छ । सामसङ ग्यालेक्सी ए५१ को सफलतापछि कम्पनीले अघिल्लो सातामात्रै ग्यालेक्सी ए५२ विश्व बजारमा सार्वजनिक गरेको थियो ।

विश्व बजारमा सार्वजनिक भएको केही दिनमै कम्पनीले यो फोन नेपालमा भित्र्याएको हो । उत्कृष्ट डिजाइन र प्रविधिका साथ नेपाली बजारमा भित्रिएको यो फाेन एन्ड्रोइड ११ मा आधारित रहेको छ ।

फोनमा क्वालकम स्न्यापड्रागन ७२०जी चिपसेट प्रयोग गरिएको छ । सामसङ मोबाइल नेपालका बिजनेश प्रमुख प्रणयरत्न स्थापितका अनुसार कम्पनीले नेपाली प्रयोगकर्ताको चाहनाअनुसार यो फोन नेपाली बजारमा ल्याएकाे हो ।

‘ग्राहकलाई सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त स्मार्टफाेन उपलब्ध गराउने प्रतिबद्धताअनुसार नै सामसङ ग्यालेक्सी ए५२ नेपालमा भित्रिएको हो,’ उनले भने, ‘सामसङको ‘ए’ सिरिजमा सामसङ ग्यालेक्सी ए५२ एउटा उत्कृष्ट प्रडक्ट हो । कटिङ एज्ड प्रविधिका साथ आएको फोनमा उत्कृष्ट क्यामेरा सेटअप रहेको छ ।’

उत्कृष्ट क्यामेरा

चार वटा क्यामेरा सेटअपका साथ आएकाे सामसङ ग्यालेक्सी ए५२ मा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । जसमा १२ मेगापिक्सेलको अल्ट्रा–वाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ ।

जसले प्रयोगकर्तालाई क्लियर फोटो खिच्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । त्यस्तै फाेनमा ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । जसको यसकाे मद्दतले उत्कृष्ट क्लोजअप शट लिन सकिने छ ।

फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा रहेको छ । जसले सेल्फीको अनुभवलाई नयाँपन प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोनमा प्रयोग भएको क्यामेरामार्फत फोरके भिडियो खिच्न सकिने छ ।

डिस्प्ले

उत्कृष्ट डिस्प्ले डिजाइनका साथ आएको फोनमा ६.५ इन्चको फुल एचडी प्लस एमाेलेड इन्फिनिटी–ओ डिस्प्ले रहेको छ । डिस्प्लेलाई छिटो छरितो बनाउन ९० हर्ज रिफ्रेसमेन्ट रेट प्रदान गरिएको छ ।

पर्फमेन्स

पर्फमेन्सका हिसाबले फोनमा क्वालकम स्न्यापड्रागत ७२०जी चिपसेट प्रयोग गरिएको छ । जुन हाल बजारमा उपलब्ध पछिल्लाे चिपसेटको तुलनामा भने उत्कृष्ट होइन । तर, ए५१ मा प्रयोग भएको एक्सवाइनस ९६११ को तुलानमा भने धेरै नै राम्रो हो । यो ८ एनएमको चिपसेट भएकाले प्रायजसो मिड रेन्जको स्मार्टफोनमा प्रयोग हुने गरेको छ ।

Qualcomm Snapdragon 720G SoC

कम्पनीका अनुसार यो फोन नेपाली बजारमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा मात्रै उपलब्ध रहेको छ । जसलाई माइक्रोएडी कार्डमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने छ ।

एन्ड्रोइड ११ मा आधारित फोनमा कम्पनीले अपडेट उपलब्ध गराउने जनाएको छ । यसको अर्थ तीन वर्षसम्म अपरेटिङ सिस्टममा अपडेट र ४ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुनेछ ।

पावरफुल ब्याट्री

प्रयोगकर्तालाई लामो समयसम्म आफ्नो स्मार्टफोनसँग जोडिराख्नका लागि फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । भने, त्यसका लागि २५ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध गराइएको छ ।

अन्य फिचर

फोनलाई पानी तथा धुलोबाट बचाउनका लागि आईपी६७ वाटर एण्ड डस्ट रेसिस्टेन्ट प्रविधि प्रयोगमा ल्याइएको छ । भने, सुरक्षाको लागि फोनमा ‘सामसङ नक्स’ उपलब्ध रहेको छ ।

जसले सामङको ‘डिफेन्स–गार्ड सेक्युरिटी’ प्रविधिमार्फत फोनमा रहेको तपाईंको व्यक्तिगत जानकारी तथा फाइललाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उत्कृष्ट साउण्ड क्वालिटीका लागि फोनमा डब्ली एटमस सिस्टम उपलब्ध गराइएको छ ।

मूल्य र उपलब्धता

कम्पनीका अनुसार यो फोन तीन कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा कालो, सेतो र भ्वाइलेट ब्ल्यू रहेको छ ।

८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको यस फोनको बजार मूल्य ४१ हजार ९ सय ९९ रुपैंया तोकिएको छ । यो फोन देशभर रहेका सामसङ ब्राण्ड शपका साथै रिटेल स्टोरमा उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१