close

यसरी पुरा भयो हाम्रो पात्रोको १ करोड डाउनलोड

टेकपाना टेकपाना

चैत १०, २०७७ १७:५३

यसरी पुरा भयो हाम्रो पात्रोको १ करोड डाउनलोड

काठमाडौं । सर्वाधिक सफल नेपाली एप हाम्रो पात्रोले एन्ड्रोइडमा एक करोड डाउनलोडको आँकडा पार गरेको छ । याेसँगै हाम्राे पात्राे एन्ड्रोइडमा एक करोड पटक एप डाउनलोड हुने पहिलाे एप बनेकाे छ ।

अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिने यो एपमा दुई दर्जनभन्दा बढी सुविधा छन् । पछिल्लो पटक कम्पनीले इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ सञ्चालनमा ल्याएको छ ।

May be an image of text

एन्ड्रोइडमा १ करोड डाउनलोड

सन् २००७ मा पहिलो आईफोन रिलिज भयो । प्रविधि विश्वमा नै हलचल ल्याएको एप्पलको त्यो उत्पादनले हाम्राे पात्राेका संस्थापक शंकर उप्रेतीलाई नलोभ्याउने कुरै थिएन ।

पढाइका लागि अमेरिका जानुअघि उनलाई कम्पनीले आईफोन रिलिज भएकै वर्ष दुई महिनाका लागि अमेरिका खटाएको थियो । पहिलो पटक अमेरिका पुगकै दिन उनी सुरुमा आईफोन किन्न बजार गए ।

सुरुवाती समयमा आईफोन रिलिज हुँदा त्यसमा थर्डपाटी एपहरु राख्ने सुविधा थिएन । डिभाइस राम्रो भए पनि रोजेर एप डाउनलोड गर्न नपाउनु एउटा अभावकै विषय थियो ।

नभन्दै सन् २००८ मा एप्पले आफ्नो एप स्टोर सार्वजनिक गर्‍यो । त्यतिखेर त अध्ययनकै लागि शंकर अमेरिका पुगिसकेका थिए ।

अरुले जस्तै उनले पनि नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए । फेसबुक पनि अहिलेजस्तो लोकप्रिय भइसकेको थिएन ।

तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्ने काम शंकरलाई झन्झटिलो लाग्थ्यो ।साथमा आईफोन भएकाले क्यालेन्डर सम्बन्धी एउटा नेपाली एपको आवश्यकता उनले महसुस गर्न थाले ।

आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले एउटा एप बनाए । कुनै विशेष योजनाका साथ त्यो एप बनाइएको थिएन ।

त्यसैले एप सुरुवात गरेको यकिन मिति समेत शंकरलाई ख्याल छैन । एपमा सुरुमा पात्रो मात्रै थियो ।

आवश्यकताले नै केही समयमै डेट कन्भर्टर (मिति परिवर्तन गर्ने) टूल थपे । एप स्टोरमा रिलिज गर्न ९९ डलर तिर्नुपर्ने हुन्थ्यो ।

९९ डलर खर्च गरेर एप स्टोरमा रिलिज गर्ने कुरा उनलाई निरर्थक लागिरहेको थियो । एक वर्ष जति एप शंकरको आफ्नो मोबाइलमै सीमित बन्यो ।

एप उनको मोबाइलमा मोबाइलमा मात्रै भए पनि त्यो विषय नजिकका साथीसर्कलमाझ थाहा नहुने कुरा थिएन । एप सबैका लागि उपयोगी हुने भन्दै थाहा पाउने सबैले एप्पल एप स्टोरमा रिलिज गर्न सुझाए ।

साथीहरुको सल्लाह टार्न नसकेर शंकरले  एप स्टोरमा रिलिज गरे । एप रिलिज भए पनि यसले धेरैको आवश्यकता पुरा गर्न सक्ला र चर्चित बन्ला भन्ने कुरा उनले कल्पनासम्म गरेका थिएनन् । 

एप सार्वजनिक हुँदासम्म त्यसमा विदेशी मुद्राको दर भाउ हेर्न सकिने फिचर थप भइसकेको थियो । शंकर आफू विदेशमा बसिरहेका कारणले नै हुनुपर्छ, एप पनि नेपाल बाहिरका नेपालीहरुको आवश्यकतालाई सम्बोधन गर्नमै केन्द्रीत थियो ।

छोटो समयमै आईफोन प्रयोग गर्ने प्रायः सबै नेपालीको मोबाइलमा रहने एपको रुपमा हाम्रोपात्रो विस्तार भइसकेको थियो । तर पनि त्यति साह्रो चर्चामा भने आइसकेको थिएन ।

किनभने महंगो आईफोन बोक्ने नेपालीहरुको संख्या त्यसताका निकै थोरै हुन्थ्यो । जब सन् २०१२ मा गुगलको प्ले स्टोरमा एप रिलिज भयो, लगत्तै हाम्रो पात्रोको प्रयोगकर्ताको आधार एकाएक चुलिन पुग्यो ।

एप स्टोरमा ५० हजार रहेको एपको डाउनलोड संख्या प्ले स्टोरमा रिलिज भएको एक वर्षमै एक लाखभन्दा बढी पुग्यो । सन् २०१५ नकट्दै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गर्‍यो ।

आईफोनको तुलनामा निकै सस्तो भएकाले धेरै नेपालीहरुको हातमा एन्ड्रोइड स्मार्टफोन थियो । त्यतिखेरसम्म स्मार्टफोन बोक्ने हरेक नेपालीहरुले सुरुमा डाउनलोड गर्ने पहिलो रोजाईको स्वदेशी एप बनिसकेको थियो ।

अहिले हाम्रो पात्रो एप नेपाली एपमध्ये सबैभन्दा धेरै डाउनलोड भएको तथा प्रयोग गरिने एप बनिसकेको छ । हालैमात्र एन्ड्रोइडमा एक कराेड डाउनलाेड पुग्ने पहिलाे एप बनेकाे छ । त्यस्तै एक लाखभन्दा बढी आईओएस प्रयाेगकर्ता छन् ।

सस्ता मोबाइलका प्रयोगकर्ता नै धेरै हुने भएकाले उनीहरुलाई र्‍याम र स्टोरेज फुल हुने समस्या जहिले आइरहने हुन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै चिज डिलिट गर्नुपर्ने बाध्यता बन्ने नै भयो ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्न थाल्यो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा हाम्रो पात्रो अहिले पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा निकै मेहनत गरेका छन् । दर्जनभन्दा धेरै फिचर रहेको भए पनि अहिले हाम्रो पात्रोको साइज जम्मा १० एमबी जति मात्रै छ ।

हाम्रो पात्रोको यो पृथक शैली अहिले विस्तारै अरुले समेत पछ्याउन थालेका छन् । हाम्रो पात्रो इंकसँग अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिन लगायतका एपहरु पनि छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१