close

ट्रु कलर एपबाट आफ्नो नाम र फोन नम्बर हटाउने तरिका

टेकपाना टेकपाना

चैत २६, २०७७ १३:३

ट्रु कलर एपबाट आफ्नो नाम र फोन नम्बर हटाउने तरिका

काठमाडौ । ट्रु कलर यस्तो एप हो , जसको माध्यमबाट कुनै प्रयोगकर्ताको नाम र सम्बन्धित अन्य जानकारी थाहा पाउन सकिन्छ । सबैभन्दा पहिला यो कुरा जान्न जरुरी छ कि आखिर ट्रुकलरले काम चाहिँ कसरी गर्छ ।

आज हामी तपाईंलाई यही विषयमा बताउँदै छौं । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्दछ, सबैभन्दा पहिला एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ ।

जसमा कन्ट्याक्ट नम्बरको सूची (मोबाइलमा सेभ रहेका सबै सम्पर्क नम्बर) को अनुमति समेत हुन्छ । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरलाई आफ्नो अकाउन्टमा एक्सेस दिन्छ, एपले उक्त व्यक्तिका सबै सम्पर्क नम्बर थाहा पाउन सक्छ र त्यसलाई आफ्नो सर्भरमा सेभ गर्दछ ।

यसबाट के हुन्छ भने ट्रुकलरमा सबैका नाम र सम्पर्क नम्बर सेभ भएर बस्दछन् । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरमा कुनै पनि नम्बर सर्च गर्दछ वा उसलाई कुनै अपरिचित नम्बरबाट कल आउँदछ भने यो एपले आफ्नो सर्भरमा उसको नाम तथा जानकारी सर्च गरेर देखाइदिन्छ ।

ट्रुकलरमा प्रयोगकर्ताको नाम, सम्पर्क नम्बर , ईमेल आईडी र लोकेसन जस्ता सबै जानकारी सेभ भएर बसेका हुन्छन् । जो व्यक्ति आफ्नो पहिचान लुकाउन वा गोप्य राख्न चाहन्छन्, उनीहरुका लागि यो एपले समस्या नै पैदा गरिदिन्छ ।

यदि तपाईंले कहिल्यै थर्ड पार्टी सर्भरमा आफ्नो जानकारीका लागि साइनअप गर्नुभएको छैन भने पनि तपाईंको सम्पर्क नम्बर लगायतको जानकारी यो एपको माध्यमबाट जम्मा भएर बसेका हुन्छन् । यदि तपाईं आफ्नो पहिचान कसैलाई थाहा नहोस् भन्ने चाहनुहुन्छ र आफ्नो सम्पर्क नम्बर ट्रुकलरको डेटा बेसमा सूचीकृत नहोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि सुरुमा तपाईंले आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ ।

साथै कम्पनीसँग तपाईंले उसको डेटाबेसबाट आफ्नो नम्बर हटाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यसो त ट्रुकलर प्रयोगकर्ताका लागि स्पामर, स्क्यामर, टेलिमार्केट कल र कल सेन्टरको जानकारी पत्ता लगाउन सहयोगी बन्दै आएको छ ।

साथै यो एपले त्यस्ता नम्बरहरु ब्लक गर्ने अनुमति पनि दिन्छ । तर यसका लागि प्रयोगकर्ताले आफ्नो तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरको गोपनीयता जोखिममा पार्न तयार हुनुपर्छ ।

जसले कहिल्यै पनि ट्रुकलर एप प्रयोग गरेका छैनन्, उनीहरु त्यसका लागि सहमत छैनन् भने पनि यो एपको डेटाबेसमा त्यस्ता व्यक्तिको जानकारी समेत जम्मा भएको हुन्छ । यदि तपाईं आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंले यसका लागि सबैभन्दा पहिला ट्रुकलर अकाउन्ट डिएक्टिभ गर्नुपर्ने हुन्छ ।

यसका लागि तपाईंले केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यसपछि ट्रुकलरको डेटाबेसबाट तपाईंको फोन नम्बर स्वतः हट्नेछ ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि

यदि तपाईंले कहिल्यै ट्रुकलर प्रयोग गर्नुभएको छैन भने यहाँ केही पनि डिएक्टिभ गर्न जरुरी छैन । यदि प्रयोग गर्नुभएको छ भने ट्रुकलर एप खोल्नुहोस् ।

अब एपको दायाँतर्फ माथि सिरानीमा दिइएको मेनु बटन (तीन वटा थोप्ला भएको) मा ट्याप गर्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् ।

सेटिङभित्र गइसकेपछि तपाईंले प्राइभेसी सेन्टर चयन गर्नुपर्ने हुन्छ र त्यसपछि अन्तिममा रहेको डिएक्टिभ बटन चयन गरी कन्फर्म गर्नुपर्ने हुन्छ ।

आईओएसमा

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने तपाईंले यसका लागि आफ्नो आईफोनमा ट्रुकलर एप खोल्नुपर्ने हुन्छ । त्यसपछि ट्रुकलरको होम पेजमा बायाँतर्फ माथि कुनामा रहेको प्रोफाइल अवतारमा थिच्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् र प्राइभेसी सेन्टर हुँदै डिएक्टिभ गर्नुहोस् ।

ट्रुकलरको डेटाबेसबाट आफ्नो नम्बर हटाउन यसो गर्नुहोस्

यसका लागि तपाईंले ट्रुकलरको आधिकारिक अनलिस्ट पेजमा जानुपर्ने हुन्छ (ट्रुकलरको अनलिस्ट पेजमा जान यहाँ क्लिक गर्नुहोस्) । त्यसपछि डिलिस्टिङ गर्नका लागि अनुरोध गर्नुपर्ने हुन्छ ।

त्यहाँ अलि तल तपाईंले कन्ट्री कोड सहित आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । त्यसपछि दिइएको क्याप्चा अगाडि टिक लगाएर अनलिस्ट फोन नम्बर बटनमा क्लिक गर्नुहोस् ।

अब पपअप विण्डोमा तपाईंले अनलिस्टको बटन देख्नुहुनेछ, त्यसमा थिच्नुहोस् । यति गरिसकेपछि प्रयोगकर्ताको नम्बरमा २४ घण्टाभित्र कम्पनीको सर्चेबल डेटाबाट तपाईंको जानकारी हट्ने म्यासेज आउनेछ ।

एक वा दुई दिनपछि तपाईंले आफ्नो नम्बर ट्रुकलरबाट हट्यो वा हटेन भन्ने कुरा चेक गर्न सक्नुहुनेछ । यदि तपाईंको नम्बर डिलिस्टिङ गर्दा समेत ट्रुकलरको सर्चेबलमा देखियो भने त्यो तपाईंको प्रोफाइलको लोकल क्याशमा सेभ भएको हुनसक्छ ।

यस्तो अवस्थामा आफ्नो सर्च रिजल्ट डिलिट गर्नुहोस् र पुनः प्रयास गर्नुहोस् । क्याश क्लियर गर्नका लागि फोनको सेटिङमा जानुहोस् र एप्सहुँदै ट्रुकलरको क्याश मेमोरी क्लियर गर्नुहोस् ।

यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने कुनै प्रयोगकर्ताको कलमा तपाईंको व्यक्तिगत जानकारी देखिन छोड्दैन । यसबाट केवल यति मात्र हुन्छ, कसैले ट्रुकलरमा तपाईंको नम्बर सर्च गर्दा त्यसमा तपाईंको कुनै पनि जानकारी देखिने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१