close

दराजको मातृ कम्पनी अलिबाबालाई ३३४ अर्ब जरिवाना

टेकपाना टेकपाना

चैत २८, २०७७ २१:०

दराजको मातृ कम्पनी अलिबाबालाई ३३४ अर्ब जरिवाना

काठमाडौं । दराजको स्वामित्वकर्ता कम्पनी अलिबाबामाथि चिनियाँ नियामकले १८ अर्ब २० करोड यूआन अर्थात् ३ खर्ब ३४ कराेड रूपैयाँभन्दा बढी जरिवाना लगाउने भएको छ । अलिबाबाले आफ्नो बजार वर्चश्व दुरुपयोग गरेको भन्दै चिनियाँ नियामकले ईकमर्श जायन्टमाथि जरिवाना लगाउने भएको हो । 

उक्त जरिवाना रकममध्ये दुई अर्ब ८० करोड यूआन जरिवाना भने अलिबाबाको २०१९ को आम्दानीको चार प्रतिशत जरिवाना अलिबाबामाथि भएको एन्टीट्रस्ट अनुसन्धानपछि नियामकले असुल गरेको हो ।

चिनियाँ प्रशासनले अलिबाबाले गरेका डिल तथा उसका गैरप्रतिस्पर्धात्मक व्यवसायिक अभ्यासमाथि अनुसन्धान गरेपछि प्रशासनले पछिल्लो जरिवाना लागू गरेको हो ।

२०१५ यता अलिबाबाले मर्चेन्टहरुलाई आफ्नो टीमल र टाओबाओ अनलाइन शपिङ प्लेटफर्ममा सामान एक्सक्लुसिभली बिक्री गर्न दबाब दिएको बजार नियामकले बताएको छ ।

अलिबाबाले आफ्नो बजार पोजिसन, प्लेटफर्म नियम, डेटा र एल्गोरिदमको दुरुपयोग गरी एकाधिकारको अभ्यास गरेको शनिबार नियामकले बताएको हो ।

गत नोभेम्बरमा मात्र अन्तिम समयमा आएर चिनियाँ प्रशासनले ज्याक माको आन्ट ग्रुपको ३७ अर्ब डलरको आईपीओलाई निलम्बन गरिदिएको थियो ।

यसअघिसम्म परम्परागत व्यवसायिक कम्पनी तथा विदेशी कम्पनीहरुमाथिको नियमनमा मात्र केन्द्रित रहने चीनको प्रतिस्पर्धी नियामक प्रशासन गत नोभेम्बरदेखि अनलाइन प्लेटफर्मतिर पनि केन्द्रित भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१