close

‘मेरो कित्ता’ कार्यक्रम सुरु, अब घरमै बसेर जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने

टेकपाना टेकपाना

बैशाख २, २०७८ १२:५०

‘मेरो कित्ता’ कार्यक्रम सुरु, अब घरमै बसेर जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने

काठमाडौं । सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे ।

यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने भएको छ ।

जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो सेवा पहिलाे चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदै छ । यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा याे सेवा लागू हुने विभगले जनाएकाे छ ।

त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्ताे सेवा प्रदान गरिने विभागका सूचना अधिकारी दामाेदर ढकालले बताए ।

‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको छ ।

यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

याे सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेराे कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पुरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् ।

याे सुविधासँगै घर बनाउन, बैंकबाट कर्जा लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१