close

के आईएमईआई नम्बरबाट मोबाइल ह्याक सम्भव छ ?

टेकपाना टेकपाना

बैशाख ६, २०७८ २१:१६

के आईएमईआई नम्बरबाट मोबाइल ह्याक सम्भव छ ?

काठमाडाैं । आईएमईआई नम्बरबारे त यहाँहरु सबैले सुन्नुभएकै होला । आईएमईआई नम्बर हाम्रो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण पहिचानको विषय हो ।

अब प्रश्न उठ्छ, यदि कुनै ह्याकरसँग हाम्रौ स्मार्टफोनको आईएमईआई नम्बर छ भने के केसम्म गर्न सक्छ होला ? त्यसकै आधारमा कसैले हाम्रो फोन ह्याक गर्न सम्भव छ ? आईएमईआई नम्बरको विषयलाई लिएर यस्ता थुप्रै जिज्ञासाहरु तपाईंको मनमा पनि पैदा भइरहेका हुन सक्छन् ।

त्यसैले आईएमईआई नम्बरको सहायताले अरु कसैले आफ्नो फोनमा के के सम्म गर्नसक्छ भन्ने विषय हरेक स्मार्टफोन प्रयोगकर्ताले जान्नैपर्ने हुन्छ ।

के हो आईएमईआई नम्बर ?

‘इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बर’लाई नै छोटकरीमा आईएमईआई नम्बर भनिएको हो । यो एउटा यस्तो खास नम्बर हो, जुन हरेक मोबाइल फोनमा सहजै देख्न सकिन्छ । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर चेक गर्नुपर्यो भने *#06# डायल गरेर सहजै पत्ता लगाउन सक्नुहुन्छ ।

यसरी कुनै पनि मोबाइलको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ । सामान्यतया मोबाइल फोनको पहिचानको रुपमा यसको प्रयोग हुन्छ । यससँगै आईएमईआई नम्बरको जम्माजम्मी मुख्य दुई वटा उपयोगिता छन् ।

अर्को भनेको माेबाइल हराएको अवस्थामा ट्र्याक गर्नका लागि यसको प्रयोग हुन्छ । यदि तपाईंको मोबाइल हरायो अथवा चोरी भयो भने प्रहरीकहाँ उजुरी गर्न जाँदा तपाईंसँग यो नम्बर मागिन्छ । प्रहरीले उक्त नम्बरलाई ब्ल्याक लिस्टमा राख्न समेत सक्छ ।

तर, प्राविधिक तयारी पुरा नभइसकेकाले नेपालमा भने यसका लागि केही समय अझै कुर्नुपर्ने छ । दूरसञ्चार प्राधिकरणले तयारी गरिरहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस प्रणाली स्थापना भएको अवस्थामा जुन आईएमईआई नम्बर ब्ल्याक लिस्टमा राखियो उक्त मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्न तथा कल गर्न र डाटा चलाउनमा मिल्ने छैन ।

वास्तमा अहिलेको अवस्थामा प्रहरीले के गर्छ भने मोबाइलको आईएमईआई नम्बर विभिन्न दूरसञ्चार कम्पनीलाई उपलब्ध गराउछ र कुनै सिमकार्ड प्रयोग भएको अवस्थामा ट्र्याक गर्न लगार खाेजी गर्छ ।

मोबाइल ह्याक सम्भव छ ?

यदि कुनै ह्याकरसँग तपाईंको मोबाइलको आईएमईआई नम्बर छ भने के के सम्म गर्न सक्ला त ? यो भने सबै माेबाइल प्रयाेगकर्ताका लागि अति नै महत्वपुर्ण विषय हुनसक्छ । आईएमईआई नम्बरका आधारमा ह्याकरले तपाईंको फोनको क्लोन तयार गर्न सक्छ ।

यो प्रक्रिया त्यति सहज भने छैन । जो कसैले गर्न सक्ने विषय पनि यो होइन । कुनै फोनलाई क्लोन गर्न आईएमईआई नम्बरका अलावा अनेक सूचना तथा जानकारी जरुरी हुन्छ । सामान्य रुपमा बुझ्दा यदि तपाईंको आईएमईआई नम्बर क्लोन गरिएको छ भने अर्को फोनमा समेत तपाईंकै आईएमईआई नम्बर प्रयोग भइरहेको हुन्छ ।

उक्त फोनमा कुनै सिमकार्ड प्रयोग गरिएको अवस्थामा तपाईंकै मोबाइल नियामक तथा प्रहरीले निगरानी गरिरहेको हुनसक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा नियामक निकायले भोलिको दिनमा दुवै फोनलाई ब्ल्याक लिस्टमा राख्न समेत सक्छ ।

अर्को महत्वपुर्ण विषय आईएमईआई नम्बरको सहायताले कुनै पनि मोबाइललाई ट्र्याक गर्न मिल्छ । तर यो पनि जो कसैका लागि त्यति सहज विषय भने होइन । अहिलेको अवस्थामा दूरसञ्चार कम्पनीहरुको सहयोगमा यो केबल प्रहरीले मात्र गर्न सक्ने विषय हो ।

अब प्रश्न उठ्न सक्छ के आईएमईआई नम्बरको सहायतले कसैले मोबाइल ह्याक गर्न सक्छ ? यसको सहज र सामान्य जवाफ हुन्छ– सक्दैन ।

यहाँ ह्याकको अर्थ कसैले कुनै मोबाइलमा पहुँच कायम गर्ने वा नियन्त्रण गर्न सक्ने भन्ने विषय हो । एउटा सत्य कुरा के हो भने आईएमईआई नम्बरको मद्दतबाट कुनै ह्याकरले मोबाइलमा प्रयोग भइरहेको सिमकार्डको नम्बर भने पत्ता लगाउन सक्छ ।

तर, यसका लागि ह्याकरलाई जुन दूरसञ्चार नेटवर्कमा तपाईंको मोबाइल प्रयोग भइरहेको छ, उक्त सम्पुर्ण नेटवर्क नै ह्याक गरी दूरसञ्चार कम्पनीको सम्पुर्ण डेटावेसमा पहुँच बनाउनुपर्ने हुन्छ । यो असम्भव नभए पनि त्यति सहज विषय भने होइन ।

यदि कसैको मोबाइलमा पहुँच कायम गर्नुछ र नियन्त्रण कायम गरी फोनमा के भइरहेको छ, कुन वेबसाइट भिजिट गरिरहेको छ, कसलाई के म्यासेज गरिएको छ, भन्ने जस्ता विषयमा जानकारी लिनु छ भने ह्याकरलाई एक थर्डपाटी एपको आवश्यकता हुन्छ ।

जुन तपाईंको मोबाइलमा इन्स्टल गराउनुपर्ने हुन्छ । यदि उक्त एप ह्याकरले तपाईंको मोबाइलमा इन्स्टल गर्न सफल भएको अवस्थामा भने तपाईंको फोन ह्याक गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१