सार्वजनिक भयो नागरिक एपको फुल भर्सन

Nagarip App Formally launched by prime minister KP Sharma Oli

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने गरी तयार पारिएको नागरिक एपको फुल भर्सन सार्वजनिक भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एपको औपचारिक सुरुवात गरेका हुन् ।

अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपमार्फत दिने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेका थिए । बेटा भर्सनकै क्रममा यो एप सवा पाँच लाखभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ताले आफूलाई दर्ता गराइसकेको बताइएको छ ।

यस क्रममा तीन हजारले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गरेका छन् भने प्यान नम्बर लिनेको संख्या १० हजारभन्दा बढी छ । डिजिटल नेपाल निर्माणको परिकल्पना अनुसार पछिल्लो समय विभिन्न सार्वजनिक तथा सरकारी सेवाहरु अनलाइनमा उपलब्ध हुन थालेका छन् ।

त्यसका लागि छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुनेगरेको भन्दै सरकारले एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको हो । यसमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणीत विवरण छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि यसमा जोडिएको छ ।

एसएलसी र प्लसटु तहका शैक्षिक विवरणसमेत एपमा राखिएका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको जानकारी हेर्न सकिने सुविधा पनि यसमा थपिएको छ ।

नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा केही समय अघिदेखि यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गर्न सकिने भएको छ ।

प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा लिङ्क गराउन सक्छन् । यसअघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एपको खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकम समेत एपमा जोडिएको छ ।

यससँगै अब नेपालका जुनसुकै मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने भएको छ । तर, मोबाइल नम्बर भने अनिवार्य रुपमा आफ्नै नामको हुनुपर्ने बनाइएको छ ।

खाता खोल्ने क्रममा नागरिकता फेला नपरेको वा त्रुटी देखिएको अवस्थामा एपबाटै त्यसको समाधानका लागि अनुरोध गर्न सकिने व्यवस्था मिलाइएको छ । अब मतदाता परिचयपत्र, राहदानी, प्यान, शैक्षिक विवरणमा कुनै त्रुटी देखिएमा सच्याउन सकिने सुविधा समेत थप हुने सरकारले जनाएको छ ।

सवारीसाधनको राजस्व तथा नवीकरण शुल्क पनि अब नागरिक एपबाटै तिर्न सकिनेछ । साथै एपबाट आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्न सकिनेछ ।

भूमिसुधारमा रहेको आफ्नो जग्गाको स्थिति थाहा पाउन सकिनेछ, स्थानीय तहबाट सिफारिस लिने तथा कर तिर्ने लगायतका सेवा पनि एपले नै दिनेछ । एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्न सकिने क्यूआर कोड राखिएको छ ।

जसको सहयोगमा हाल एपबाटै बैंक खाता खोल्न सकिने सेवा सुविधा उपलब्ध गराइएको छ । अब यसलाई क्रमशः लोकसेवाको फारम भर्ने, सिम कार्ड खरिद गर्ने, सरकारी तथा सार्वजनिक सेवा लिने लगायतका काममा समेत प्रयोगमा ल्याइने सरकारी घोषणा छ ।

यसका साथै मोबाइलमा मात्र उपलब्ध नागरिक एपका सेवा तथा सुविधा अबका दिनमा वेबसाइटबाट समेत लिन सकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team