close

नागरिक एपबाटै यी बैंकमा खोल्न सकिन्छ खाता (तरिकासहित)

टेकपाना टेकपाना

बैशाख २०, २०७८ ११:२०

नागरिक एपबाटै यी बैंकमा खोल्न सकिन्छ खाता (तरिकासहित)

काठमाडौं । आइतबार सार्वजनिक भएकाे पूर्ण संस्करणकाे नागरिक नागरिक एपबाट बैंक खाता खोल्न सकिन्छ । याे एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने फिचर छ ।

हाल याे सेवा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ । क्रमशः अन्य बैंकहरुमा समेत यसलाई चाँडै विस्तार गर्ने सरकारको तयारी छ ।

भविष्यमा बैंक खाता नम्बर नागरिक एपमा सोझै जोड्न सकिनेछ । जसबाट आफ्नो बैंक खातामा रहेको रकम तथा कारोबारको विवरण हेर्न सम्भव हुनेछ ।

नागरिक एपको यो सुविधाले बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुनेछैन ।

यस्ताे छ खाता खाेल्ने तरिका

१. यसका लागि तपाईंसँग आफ्नो नागरिक एप रहेको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरुरी छ । त्यसपछि दुवै डिभाइसमा डेटा वा इन्टरनेट भएको निश्चित गर्नुहोस् ।

२. अब कम्प्युटर वा अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्न चाहेको हो, उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

३. त्यहाँबाट नागरिक एपहुँदै अगाडि बढ्नुहोस् । त्यहाँ एउटा क्यूआर कोड देखिन्छ ।

४. अब आफ्नो मोबाइलमा रहेको नागरिक एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको क्यूआर कोड स्क्यानर खोल्नुहोस् ।

५. त्यसपछि नागरिक एपलाई क्यामेराको पहुँच दिनुहोस् । यति गरेसँगै नागरिक एपमा क्यामेरा खुल्छ ।

६. अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईंको नागरिक एपमा रहेका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ ।

७. त्यसपछी ‘कन्फर्म’ गर्नुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा रहेका तपाईंका प्रमाणीत विवरण बैंकको फर्ममा स्वतः भरिएर आउँछन् ।

८. सबै विवरण राम्रोसँग हेर्नुहोस् । खाली भएको स्थान भर्नुहोस् र ‘प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नुहोस् । त्यसपछि बैंकले मागेका बाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

९. यति गरेसँगै तपाईंको बैंक खाता तयार हुन्छ । जुन तपाईंले सम्बन्धित बैंकबाट प्राप्त गर्न सक्नुहुनेछ ।

१०. नागरिक एपबाट खाता खोल्न मात्रै होइन, बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ । यसका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको ‘केवाईसी भेरिफिकेसन’ मा जानुहोस् ।

११. त्यसमा गइसकेपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१