close

भोलिदेखि परीक्षण हुने टेलिकमको ‘भीओएलटीई’ सेवा के हो र कसरी लिने ?

टेकपाना टेकपाना

जेठ २, २०७८ ९:२२

भोलिदेखि परीक्षण हुने टेलिकमको ‘भीओएलटीई’ सेवा के हो र कसरी  लिने ?

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवाको परीक्षण गर्दै छ । टेलिकमको फोरजी एलटीई परियोजना अन्तर्गत एचडी भ्वाइस सेवाको परीक्षण गर्ने तयारी थालिएको हो ।

टेलिकमको हालको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गरेकाे छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भीओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ ।

यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भीओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।

अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भीओएलटीईमा त्यसभन्दा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने बताइएको छ ।

यो सेवाका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ ।

भीओएलटीई इनेबल भएका मोबाइलबीच तथा त्यसबाट आईभीआर र ल्याण्डलाइन नम्बरमा कल गर्दा समेत प्रयोगकर्ताले भ्वाइस सेवामा उच्च गुणस्तरको अनुभव गर्न सक्छन् ।

भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले इन्टरनेटमा आधारित भ्वाइस तथा भिडियो सेवा दिइरहेका छन् । त्यस्ता सेवाले गुम्दै गएको कम्पनीको आम्दानी भीओएलटीईले भरथेग समेत गर्ने कम्पनीको विश्वास छ ।

सेवा लिने कसरी ?

भाेलिदेखि टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा पहिला तपाईंको मोबाइल सेटमा *444# डायल गर्नुपर्छ । यसरी डायल गर्दा त्यहाँ तीनवटा विकल्प आउनेछन् । जसमध्ये सबैभन्दा माथि फोरजी सेवा एक्टिभेट गर्ने विकल्प हुनेछ । भीओएलटीई प्रयोग गर्न पहिले यो सेवा सुरु गर्नुपर्नेछ ।

त्यसपछि दोस्रो नम्बरमा भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर यो सेवा लिन सकिन्छ ।

यो सेवा नलिने हाे भने *444# मै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ ।

कुन सेटमा चल्छ ?

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुन अनिवार्य छ ।

केही भारतीय मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले त्यस्ता माेबाइल बाेक्ने प्रयाेगकर्ताले टेलिकमकाे याे सेवा उपभाेग गर्न पाउने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४