close

स्मार्टफोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको वेबक्याम

टेकपाना टेकपाना

जेठ १४, २०७८ ९:४७

स्मार्टफोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको वेबक्याम

काठमाडौं । कोभिड १९ को महामारीपछि विश्वभरका संघसंस्था तथा कम्पनीका कर्मचारीहरु वर्क फ्रम होमको अभ्यास गरिरहेका छन् । घरबाटै कार्यालयको काम गर्न आवश्यक प्राविधिक सामग्रीहरुको माग बढिरहेकै छ ।

यसैबीच वेबक्यामको माग समेत बजारमा चुलिएको छ । बजारले आपूर्ति धान्न नसक्दा मूल्यले आकाश छोइसक्यो ।

कोभिडको महामारी सकिएपछि वर्क फ्रम होमको आवश्यकता पर्ने छैन र पहिले जस्तै सबै जना कार्यालय धाउनेछन् । त्यतिखेर तपाईंलाई वेबक्यामको आवश्यकता पर्नेछैन ।

त्यसो हो भने अस्थायी प्रयोगका लागि वेब क्याम किन्न आफ्नो पैसा र समय किन खेर फाल्नुहुन्छ ? बरु त्यसका लागि तपाईंले वैकल्पिक जुगाडहरुको प्रयोग गर्न सक्नुहुन्छ ।

आफूसँगै भएको एन्ड्रोइड तथा आईओएस फोन वा ट्याबलेटलाई नै तपाईंले एउटा गतिले वेब क्याममा बदल्न सक्नुहुन्छ । आज हामी स्मार्टफोनलाई कसरी वेबक्यामको रुपमा प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौं ।

एन्ड्रोइड फोन तथा ट्याब्लेटलाई वेबक्याम बनाउने तरिका

गुगल प्ले स्टोरमा यस्ता धेरै एपहरु छन्, जसले तपाईंको एन्ड्रोइड फोनलाई वेब क्याम बनाउने दाबी गर्छन् । तीमध्ये ड्रोइड क्याम नामको एप एउटा यस्तो एप हो, जसको सेटअप पनि सजिलो छ र यसले विश्वसनीय परिणाम पनि दिनसक्छ ।

त्यसो त एन्ड्रोइड डिभाइसहरुका लागि अन्य एपहरु पनि छन् । तर ड्रोइड क्याम प्रयोग गर्न धेरै सरल र सहज छ ।

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर निःशुल्क रुपमा उपलब्ध ड्रोइडको एप डाउनलोड गरी फोनमा इन्स्टल गर्नुहोस् । यहाँनिर याद राख्नुहोस्, तपाईंको फोनमा एन्ड्रोइड ५.० वा त्यसभन्दा नयाँ भर्सनको अपरेटिङ सिस्टम हुन‍ जरुरी छ ।

यो एपको डेभलपर ‘डेव ४७ एप्स’ ले विण्डोज टेन र लिनक्सका लागि समेत डेस्कटप एप्लिकेसन बनाएको छ । तर म्याकओएसका लागि भने यो एप उपलब्ध छैन ।

२. सँगसँगै यहाँ क्लिक गरी कम्प्युटरमा पनि यो एप डाउनलोड गर्नुहोस् ।

३. एन्ड्रोइड एप इन्स्टल गरिसकेपछि डेस्कटपमा समेत एप समेत इन्स्टल गर्नुहोस् र प्रयोग गर्न तयारी हालतमा राख्नुहोस् । इन्स्टल गरिरहँदा तपाईंले एपलाई अडियो डाइभर्स इन्स्टलको अनुमति दिनुपर्ने हुन्छ ।

४. विण्डो एप रन हुन थालेपछि माथि तपाईले अप्सन देख्नसक्नुहन्छ । त्यहाँ डिभाइसलाई वाईफाई (ल्यान), यूएसबी वा वाईफाई सर्भर कुन मार्फत कनेक्ट गराउने भन्ने विकल्पहरु राखिएको हुन्छ । वेब क्यामका लागि तपाईंले वाईफाईबाट नै कनेक्ट गर्नुपर्ने हुन्छ । सेटिङमा यो बाई डिफल्ट पनि राखिएको हुन्छ ।

५. त्यो अप्सनको तल तपाईंले एउटा बक्स देख्न सक्नुहुन्छ । जहाँ तपाईले आफ्नो एन्ड्रोइडमा देखिएको आईपी एड्रेस राख्नुपर्ने हुन्छ । अब मोबाइलमा भएको ड्रोइड एप खोल्नुहोस् ।  त्यहाँ तपाईंले आफ्नो डिभाइसको आइपी एड्रेस देख्न सक्नुहुन्छ । अब कम्प्युटरमा गएर उक्त आईपी एड्रेसलाई ‘डिभाइस आईपी’ लेखिएको ठाउँमा राख्नुहोस् ।

६. डेस्कटप एपमा ‘स्टार्ट’ बटन थिच्नुअघि तपाईंले दुईओटा काम गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले ‘भिडियो’ र ‘अडियो’ दुवै बक्सहरु राम्ररी चेक गर्नुहोस् । यदि भिडियो मात्र चेक गर्नुभयो भने तपाईंको माइक्रोफोनले आवाज नटिप्ने समस्या आउन सक्छ । त्यसैले दुवै बक्समा टिक लगाउनुहोस् ।

७. त्यसपछि मोबाइलमा रहेको ड्रोइडक्यामको सेटिङ खोल्न एपको माथि दायाँ पट्टी रहेको रहेको तीन थाेप्लामा क्लिक गर्नुहोस् । त्यहाँ क्यामेरा सेक्सन हुन्छ । त्यहाँ तपाईले अगाडिको वा पछाडिको कुन क्यामेरा प्रयोग गर्न चाहेको हो, त्यो रोज्न सक्नुहुन्छ ।

सेल्फीको तुलनामा पछाडिको मेन क्यामेरा धेरै नै गुणस्तरीय हुन्छ । त्यसैले सधैं ब्याकफेसिङ क्यामेरा नै प्रयोग गर्ने गर्नुहोस् । अन्य अप्सनहरुको सेटिङ डिफल्ट हुन्छ ऽ त्यसैले त्यसलाई यत्तिकै छोडिदिन सक्नुहुन्छ ।

८. अब कम्प्युटर र स्मार्टफोनलाई आपसमा जोड्न कम्प्युटरमा रहेको ‘स्टार्ट’ बटन थिच्नुहोस् । तपाईंले आफ्नो कम्प्युटर स्क्रीनमा भिडियोको फिड हेर्न सक्नुहुन्छ ।

यदि तपाईंले भिडियोको प्री भ्यू देख्नु भएन भने आफ्नो कम्प्युटर र एन्ड्रोइड डिभाइस दुवैलाई एउटै वाईफाई नेटवर्क अर्थात् लोकल एरिया नेटवर्क (एलएएन) मा राख्नुहोस् । यसमा दुवै डिभाइस एउटै नेटवर्कमा हुन आवश्यक छ ।

९. अब जूम, गुगल मिट वा स्काइप मध्ये आफूले चाहेको भिडियो कन्फ्रेन्सिङ एप खोल्नुहोस् । प्रत्येक एपको भिडियो सेटिङमा गएर डिफल्ट क्यामेरालाई ‘ड्रोइड क्याम सोर्स टु’ वा ‘ड्रोइड क्याम सोर्स थ्री’ मा परिवर्तन गर्नुहोस् । यी दुई मध्ये एउटाले तपाईंको स्मार्टफोनको क्यामेराको भिडियो देखाउँछ ।

१०. आफ्नो भिडियो कन्फ्रेन्सिङ एपमा डिभाइसको माइक्रोफोनलाई डिफल्ट इन्पुट बनाउन भिडियो कन्फ्रेन्सिङ एपको माइक्रोफोन सेक्सनमा जानुहोस् । त्यसमा अडियो इन्पुट लेखिएको हुनसक्छ । त्यहाँबाट ‘ड्रोइड क्याम भर्चुअल अडियो’ चयन गर्नुहोस् । एकपटक यति सेटिङ मिलाईसकेपछि यसले तपाईंले सोचे जस्तै काम गर्छ ।

११. यदि तपाईंले भिडियोको लागि सेल्फी क्यामेरा प्रयोग गर्दै हुनुहुन्छ र वेबक्याम बनाएको फोन प्रयोग गर्नुर्‍यो भने पनि ड्रोइड क्यामलाई त्यसले कुनै अवरोध गर्दैन । क्यामेरा फिडलाई अवरोध नगरी तपाईंले आफ्नो काम सुचारु राख्न सक्नुहुन्छ । यतिसम्म कि तपाईंले मोबाइलको स्क्रीन अफ राख्दा समेत ड्रोइड क्यामले राम्रोसँग काम गरिरहेको हुन्छ ।

१२. यदि तपाईं फोनलाई वेबक्यामकै एंगलमा आफ्नो डेस्कमा राख्ने सही स्थान खोज्दै हुनुहुन्छ भने तपाईंलाई केही अप्ठ्यारो पर्न सक्छ । त्यसमा कार ड्यासबोर्ड माउन्टले तपाईंको यो समस्या समाधान गर्न सक्छ । ड्रोइड क्याम एपका लागि तपाईं ४.९९ डलर तिर्न तयार हुनुभयो भने अझ धेरै फिचरहरु समेत पाउन सक्नुहुन्छ ।

आईफोन वा आइप्याडलाई वेबक्याम बनाउन के गर्ने ?

एन्ड्रोइडमा जस्तै यसका लागि आईओएसमा पनि धेरै एपहरु उपलब्ध छन् । जसले तपाईंको आईफोन वा आइप्याडलाई राम्रो वेब क्याममा परिणत गर्न सक्छन् ।

यहाँ क्लिक गरी डेभ ४७ एप्स डेभलपरले बनाएको ड्रोइड क्याम एपलाई अघि एन्ड्रोइडमा जस्तै गरी प्रयोग गर्न पनि सकिन्छ ।

अर्को उत्कृष्ट विकल्प भनेको इपोक्याम हो । यो एप प्रयोग गर्न तपाईंको डिभाइसमा आईओएस १०.३ वा त्यसभन्दा नयाँ सफ्टवेयर आवश्यक पर्छ । तर ड्रोइड क्याममा जस्तो यसमा तपाईंले केबल प्रयोग गर्नु भने पर्दैन ।

१. यहाँ क्लिक गरी एप्पल एप स्टोरबाट इपो क्याम एप डाउनलोड गरी आफ्नो फोनमा इन्स्टल गर्नुहोस् ।

२. इपो क्याम एपमा विण्डोज टेन र म्याक ओएस दुवैका लागि डेस्कटप ड्राइभर उपलब्ध छ । यो एपलाई डेस्कटपमा डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

३. तपाईंले डेस्कटप ड्राइभर इन्स्टल गरिसकेपछि अरु कुनै एप खोल्नुपर्दैन । तर तपाईंले आफ्नो आईओएस डिभाइस र कम्प्युटरलाई भने एउटै वाईफाई वा एलएएनमा चलाउनुपर्ने हुन्छ । अब मोबाइल एप खोल्नुहोस् र भिडियो कन्फ्रेन्सिङ एपलाई चलाउन सुरु गर्नुहोस् ।

४. आफूले प्रयोग गर्न चाहेको जुनसुकै भिडियो कन्फ्रन्सिङ एपको क्यामेरा सेटिङमा इपो क्याम देख्न सकिनेछ । इपोक्याम छनौट गरेपछि अब तपाईंको कम्प्युटरको क्यामेरा वाईफाईबाट कनेक्ट हन्छ । त्यसको नोटिफिकेसन तपाईंले आफ्नो कम्प्युटर स्क्रीनमा समेत देख्न सक्नुहुन्छ ।

५. यदि सुरुवातमा यो एपले राम्रो काम गर्न सकेन भने केही ट्रबल सूटिङ प्रक्रिया पनि अपनाउन सक्नुहुन्छ । यदि तपाईं कम्प्युटरमा छुट्टै एपको साटो ब्राउजरमा आधारित वेबक्याम चलाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले वबक्यामलाई एक्सेस दिन ब्राउजरमा अनुमति दिनुहोस् ।

एप लञ्च हुन वा कन्फ्रेन्स कल सुरु हुनु पूर्व अनुमति माग्ने नोटिफिकेसन देखा पर्नेछ । अब त्यसलाई हेर्न वेब एड्रेस बार नजिक जानुहोस् ।

६. यस्तै लोकप्रिय जूम एपको मामिलामा पछिल्लो अपडेट ४.६.११ ले इपोक्यामसँगकाे कम्प्याबिलीटी तोडेको छ । यदि जूम एपमा इपो क्याम चलाउने हो भने तपाईंलाई केही पुरानो भर्सन ४.६.७ को आवश्यकता पर्नेछ ।

तपाईंले यहाँ क्लिक गरी जूम एपका पुराना भर्सन डाउनलोड गर्न सक्नुहुन्छ । तर यसो गर्नु सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन्छ । यसरी ब्याकलिंक साइट प्रयोग गर्नु अनधिकृत हुनजान्छ ।

तर इपोक्याम एपमा ड्रोइड क्याममा जस्तो धेरै निःशुल्क फिचरहरु पाउन सक्नुहुन्न । उदाहरणका लागि आईओएस डिभाइसमा फ्रन्ट फेसिङ क्यामेरा प्रयोग गर्न तपाईंले एप स्टोरमा एपको रिभ्यु गर्नुपर्ने हुन्छ ।

साथै फ्री भर्सनमा तपाईंको भिडियो फिडमा वाटरमार्क देखिन्छ । यसमा प्रतिसेकेण्ड ३० फ्रेम र ६४० बाई ४८० को रेज्युलेसन मात्र पाइन्छ ।

यसबाहेक फ्री भर्सनले तपाईंलाई डिभाइसको माइक्रोफोन प्रयोग गर्ने अनुमतिसमेत दिँदैन । त्यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा ईन लाइन माइक्रोफोन फिचर भएको हेडफोन प्रयोग गर्नुपर्ने हुन्छ । तर तपाईंले ७.९९ डलर तिर्नुभयो भने यी सबै कमजोरीबाट पार पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१