close

ओप्पोसँग मर्ज भयो वनप्लस, ग्राहकमा कस्तो पर्ला असर ?

टेकपाना टेकपाना

असार ३, २०७८ २०:१२

ओप्पोसँग मर्ज भयो वनप्लस, ग्राहकमा कस्तो पर्ला  असर ?

काठमाडौं । दुई चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लस र ओप्पो मर्जरमा गएका छन् । केही समयदेखिको सहकार्यपश्चात दुई कम्पनीले मर्जरको घोषणा गरेका हुन् । यससँगै अब वनप्लस ओप्पोको सहायक ब्राण्ड बनेको छ ।

बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका दुवै ब्राण्डले अधिक संसाधन जम्मा गर्न तथा कामकाजी सम्बन्धलाई औपचारिकता दिन मर्जरमा गएको बताइएको छ । वनप्लसका सह-संस्थापक पिट लाउ र कार्ल पेईले यस अघि ओप्पोमा काम गरेका थिए ।

गत जनवरीमा वनप्लसले आफ्नो अनुसन्धान र विकासलाई ओप्पोसँग मर्ज गर्ने घोषणा गरेको थियो । त्यतिखेर दुवै कम्पनीले आफ्नो अनुसन्धान र विकास सम्बन्धी टिमको शेयर मर्ज गर्ने उनीहरुको योजना रहेको थियो ।

वनप्लसले सफ्टवेयरको क्षेत्र भने त्यसले नछुने स्पष्ट पारेको थियो । तर अहिले आएर भने दुवै कम्पनीबीच पूर्ण रुपमा एकीकृत हुने घोषणा आएको छ ।

वनप्लसका सीईओ लाउले मे २०२० मा ओप्पोको चिफ प्रडक्ट अफिसरको रुपमा दोस्रो भूमिका समेत निभाएका थिए । ‘त्यतिबेला देखि नै हामीले आफ्नो सञ्चालनलाई थप प्रभावकारी किसिमले व्यवस्थित गर्न र स्रोतसाधनको अतिरिक्त सहप्रयोगलाई बढावा दिन आफ्नो टिमलाई एकीकृत गरेका हौं,’ उनले एउटा फोरम पोस्टमा लेखेका छन् ।

‘ती परिवर्तनको सकारात्मक प्रभाव देखेपछि हामीले आफ्नो संगठनलाई ओप्पोसँग एकीकृत गर्ने निर्णय लिएका छौं,’ उनले भनेका छन् ।

लाउका अनुसार यो कदमबाट वनप्लसलाई थप उत्कृष्ट उत्पादन विकास गर्नका लागि अतिरिक्त संसाधन प्राप्त हुनेछ । ‘यसले हामीलाई थप कुशल तरिकाले काम गर्न साथ दिनेछ । उदाहरणका लागि वनप्लस प्रयोगकर्ताका लागि हामी छिटो छिटो थप स्थिर किसिमका सफ्टवेयर अपडेट ल्याउन सक्छौं ।’

वनप्लस ओप्पोको छत्रछायाँमा गएपनि लाउले भने स्वतन्त्र रुपमा सञ्चालन हुने बताएका छन् । वनप्लसको साथमा अझै पनि आफ्नो उत्पादन र कार्यक्रम हुनेछ र सोझो रुपमा ग्राहकसँग जोडिरहने छ । वनप्लसले यसै वर्षको सुरुवातमा आफ्नो पहिलो स्मार्टवाच वनप्लस वाच सार्वजनिक गरेको थियो ।

जसले औषत किसिमको रिभ्यु पाएको छ । कम्पनीले यो उपकरणलाई थप उत्कृष्ट बनाउनका लागि कयौं अपडेट उपलब्ध गराउने बाचा समेत गरेको छ । ती अपडेटलाई तीव्र रुपमा ल्याउनका लागि पर्याप्त संसाधन हुनु वनप्लसका प्रयोगकर्ताका लागि यो खुशीको खबर हुनसक्छ । मर्जरमा गए पनि वनप्लसले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याउने कार्यलाई भने निरन्तरता दिनेछ र प्रडक्ट सार्वजनिक गर्दा हुने समाहरोह समेत फरक फरक हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१