close

को हुन् क्लबहाउसको आइकनमा देखिने व्यक्ति ?

अर्पना आले मगर अर्पना आले मगर

असार ४, २०७८ १८:४१

को हुन् क्लबहाउसको आइकनमा देखिने व्यक्ति ?

काठमाडौं । भर्चुअल मिटिङका विभिन्न माध्यमहरु मध्ये बजारमा पछिल्लो समय निकै चर्चामा रहेको एप हो, क्लबहाउस । गत वर्षदेखि सुरु भएको क्लबहाउस एन्ड्रोइडमा समेत आएपछि भने अझ बढी चर्चामा आयो । छोटो समयमै नेपालमा पनि यसले थुप्रै प्रयोगकर्ता बनाइसकेको छ । 

क्लबहाउस एउटा लाइभ अडियो प्लेटफर्म हो, जहाँ विभिन्न विषयहरुमा अडियो छलफल गर्न सकिन्छ ।  सन् २०२० मा मात्रै सुरुवात भएको क्लबहाउसले छोटो समयमा नै निकै लोकप्रियता बटुलेको छ । 

गत वर्षको मार्च महिनामा अल्फा एक्सप्लोरेसनका पल डेभिसन र रोहन सेठले सुरुमा आईओएसको लागि मात्र यो एप ल्याएका थिए । गएको मे महिनमा आएर मात्र क्लबहाउस एन्ड्रोइडका लागि समेत खुला गरिएको हो । 

पोडकास्टको धारणामा बनेको यो क्लबहाउसको पहिलो नौलो फिचर भनेको यसलाई सुरुवात गर्नको लागि इन्भिटेसन अर्थात निमन्त्रणाको व्यवस्था गरिएको छ । कुनै एउटा प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई आमन्त्रण गरेपछि मात्र नयाँ प्रयोगकर्ता क्लबहाउसमा जोडिन सक्छ ।

क्लबहाउसको छुट्टै वेबसाइट छ, जसमा एपमा जोडिने लगायतका अन्य जानकारी पाउन सकिन्छ । एपमा आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट लिंक गर्न सकिने सुविधा पनि छ । 

क्लबहाउसमा विभिन्न विषयहरुमा विश्वभरबाट प्रत्यक्ष छलफलहरु भइरहेका हुन्छन् । त्यस्ता छलफलहरुमा सहभागी भएर प्रयोगकर्ताले सुन्न तथा मोडरेटरको अनुमतिमा आफ्ना कुरा राख्न सक्छन् । यसका लागि एपमा सहभागीहरुलाई वक्ता र स्रोताको रुपमा छुट्टाइएको हुन्छ ।

वक्ताहरु मोबाइल स्क्रिनको माथिल्लो भागमा देख्न सकिन्छ भने स्रोताहरु तल्लो भागमा देखिन्छन् । यदि स्रोताले चाहेको खण्डमा भने होस्ट अथवा मोडरेटरलाई आग्रह गरेर वक्ताहरुको प्यानलमा जान सकिन्छ । 

तर छलफलमा भएका कुराकानीहरु रेकर्ड गर्ने सुविधा भने कसैलाई पनि छैन । एकपटक छलफल सकिए पछि त्यो त्यहीँ टुङ्गिन्छ । क्लबहाउसमा एकपटकमा बढीमा ५,००० जना सहाभागी जम्मा भएर एउटा रुममा छलफल गर्न सक्छन् ।  

क्लबहाउसमा मनिटाइजेसनको व्यवस्था पनि छैन । तर सहभागीहरुले चाहेको खण्डमा होस्टलाई इन-एप पेमेन्ट प्रयोग गरेर पैसा पठाउन भने सकिन्छ । यद्यपि यो व्यवस्था हाललाई आईओएस प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । नयाँ एप भएका कारण डेभलपरहरुले एपमा नयाँ अपडेटहरु थपिदैँ जाने बताएको छ । 

को हुन्, क्लबहाउसको एप आइकनमा देखिने व्यक्ति ?

छोटो समयमा प्रयोगकर्ताबीच लाेकप्रिय हुन पुगेको यो एपको एउटा अनौठो फिचर भनेको यसको एप्लिकेसन कभर अर्थात एपको लोगो हो । क्लबहाउसको आफ्नो छुट्टै एप आइकन छैन ।

उसले आफ्नो एपको कभरमा फरक-फरक व्यक्तिको फोटो प्रयोग गर्दै आएको छ । ती व्यक्तिहरु अरु कोही नभएर क्लबहाउस एपकै प्रयोगकर्ता हुन् ।

आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै क्लबहाउसले भनेको थियो, “हरेक पटक एप अपडेट हुँदा हामी एपको आइकनलाई फरक देखाउने छौँ । हाम्रा सदस्यहरुलाई सम्मान गर्ने यो एउटा तरिक हो ।”

ड्रु क्याटेओका

क्लबहाउसको एप आइकनमा हाल एक एसियन अमेरिकन महिलाको तस्वीर छ । उनको नाम ड्रु क्याटेओका हो । उनी एक भिजुअल आर्टिस्टसँगै प्रविधिज्ञ र सामाजिक अभियन्ता पनि हुन् ।

क्लबहाउसले आफ्नो एप लोगोका लागि छानेका व्यक्तिहरुमध्ये उनी पहिलो एसियन अमेरिकन महिला हुन् । क्लबहाउसमा #StopAsianHate रुम तयार पारेर उनी जातीय न्यायलाई सहयोग गर्न एकलाख अमेरिकी डलर भन्दा बढी रकम जम्मा गर्न सफल भइकी थिइन् ।

सात लाख भन्दा बढी फलोअर भएकी क्याटेओकाले एसियन अमेरिनको पहिचान, जातीय विभेद लगायतका विषयहरुमा विभिन्न रुम क्रिएट गरेर ओपोन कन्भर्सेसन (खुला सम्वाद) होस्ट (सञ्चालन) गरेकी थिइन ।  

बोमानी एक्स 

क्लबहाउसले गत फेब्रुअरी महिनामा एक गिटारिस्ट बोमानी एक्सको फोटोलाई आफ्नो एप लोगो बनाएकाे थियो । क्लबहाउसमा बोमानी एक्सको कटन क्लब नामक च्यानल छ ।

विश्वभर कोरोना महामारीले मान्छेहरुलाई मानसिक रुपमा असर गरिरहेको बेला बोमानीले क्लबहाउसमा सांगीतिक कार्यक्रमहरु सुरु गरे । सुरुमा उनी अरुले होस्ट गरेका रुमहरुमा गिटार बजाउँथे । पछि विभिन्न ठाउँबाट युवा गिटारिस्टहरुको समूह बनाएर बोमानीले आफैं रुम क्रिएट गरेर सांगीतिक कार्यक्रम गर्न थालेका हुन् ।           

किङ किको 

बोमानी एक्सभन्दा अगडि पनि क्लबहाउसले एक अर्का संगीत कर्मी किङ किकोलाई आफ्नो एप लोगो बनाएको थियो । गत वर्षको जुलाई महिनामा उनको फोटो क्लबहाउस एपको लोगोमा प्रयोग भएको थियो ।

उनी संंगीतकर्मी भएपनि क्लबहाउसमा उनले सुरु गरेको रुम भने संगीतसँग सम्बद्ध थिएन । उनले “दि ९९ प्रब्लम्स” भन्ने रुम क्रिएट गरेका थिए, जहाँ राजनीतिक कुराकानीहरु हुनेगर्थ्यो । यो क्लबमा हाल ८५२ सदस्यहरु छन् भने करिब चार हजार ३०० फलोअर छन् । 

जुली विना

क्लबहाउस एप लोगोमा संगीतसँगै सम्बद्ध भएकी अर्की सदस्य हुन् जुली विना । पेशाले वकिल जुली पनि क्लबहाउसको एप लोगोमा फिचर भइसकेकी छिन् । उनी क्लबहाउसमा स्टाेरी टेलिङ गर्ने गर्छिन् ।

साथसाथै कानूनसँग सम्बन्धित छलफलहरुमा पनि उनलाई भेट्न सकिन्छ । क्लबहाउस मार्फत जुलीले कानूनी सल्लाह दिने काम पनि गर्ने गरेकी छिन् । यसका साथै संगीतसँग सम्बन्धित विभिन्न छलफलहर पनि उनले होस्ट गर्दै आएकी छिन् । 

एरिका बाटिस्टा 

क्लबहाउसको एप लोगोमा फोटो प्रयोग भएको अर्की महिला हुन्, एरिका बाटिस्टा । फ्रान्सकी नागरिक एरिका ‘अन डेक’ नामक संस्थाकी प्रमुख हुन् । यो कम्पनीले स्टार्टअप कम्पनीहरुलाई विभिन्न तरिकाबाट मद्दत गर्दै आएको छ ।

साेही कामलाई अगाडि बढाउन एरिकाले क्लबहाउसमा पनि अन डेक क्लब क्रिएट गरेकी छिन् । यो क्लबले स्टार्टअप कम्पनीहरुसँग अथवा साे सँग सम्बन्धित नयाँ सोचहरुको विषयमा छलफल आयोजना गर्दछ । 

एस्प्रे डिभोरा

एस्प्रे डिभोरा एक प्रविधि उद्यमी हुन् । उनले क्लबहाउसमा “वी आर अल अ टेक” र “वुमेन इन टेक शो” क्लबहरु होस्ट गर्छिन ।   यी क्लबहरुमा महिलाहरुबीच नयाँ नयाँ प्रविधिको बारेमा छलफल हुने गर्दछ । उनी प्रविधि पोडकास्टर पनि हुन् ।

उनले अहिलेसम्म ७०० भन्दा बढी प्रविधि र स्टार्टअपसँग सम्बन्धित पोडकास्ट प्रसारण गरिसकेकी छिन् । हाल क्लबहाउसमा उनले डेलिभरिङ ह्याप्पिनेस, पोडकास्टर्स क्लास, ब्रान्डस् द्याट पोडकास्ट, प्रडक्टिभिटी र लस एन्जलस टेक कम्युनिटी क्लबहरुमा मध्यस्तकर्ताको काम गरिरहेकी छिन् । 

एक्सेल मनसुर 

कल्बहाउसले एप आइकन बनाएको अर्को संगीतकर्मीको नाम हो, एक्सेल मनसुर । इण्डी पप संगीतकार मनसुर गायक र लेखक दुवै हुन् । क्लबहाउसमा उनी ललबाई क्लबका होस्ट हुन् । रातीको समयमा क्लब होस्ट गरेर उनी ललबाई (राती सुत्नेबेलामा सुन्ने गीतहरु) गाएर सुनाउँछन् । 

यसले प्रयोगकर्ता र उनीहरुका बालबालिकालाई शान्त निन्द्राका लागि मद्दत गरेको भन्दै  क्लबहाउसले सम्मान स्वरुप उसको फोटो एप आइकनमा राखेको थियो । क्लबहाउसमा मनसुरका करिब एकलाख ८३ हजार फलोअर छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१