close

फेसबुकले ल्यायाे लाइभ अडियो रुम र पोडकास्ट फिचर

टेकपाना टेकपाना

असार ८, २०७८ १४:४३

फेसबुकले ल्यायाे लाइभ अडियो रुम र पोडकास्ट फिचर

काठमाडौं । फेसबुकले लाइभ अडियो रुम र पोडकास्ट फिचर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको लाइभ अडियो रूमलाई क्लबहाउस एपको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । साथै फेसबुकले अर्को अडियो प्रडक्टको रूपमा पोडकास्ट फिचर पनि सुरू गरेको छ ।

फेसबुकले सुरुवाती चरणमा अमेरिकामा आईओएस प्रयोगकर्ताका लागि मात्र यी फिचर उपलब्ध गराएको छ । त्यहाँका भेरिफाइड पब्लिक फिगर वा क्रिएटरले यो फिचर चलाउन पाउने छन् ।

जसमा उनीहरुले क्रिएट गर्ने लाइभ अडियो रुममा ५० जना वक्ता र श्रोता बस्न पाउनेछन् । यही हप्ताभित्र सबै अमेरिकीका लागि यो फिचर खुला गर्ने योजना कम्पनीको छ भने विस्तारै अन्य देशका प्रयोगकर्तामाझ यी फिचर उपलब्ध हुने जनाइएको छ ।

क्लबहाउस र यस्तै खालका अडियो एपजस्तै फेसबुकको लाइभ अडियो रूमको डिजाइन पनि समान देख्न सकिन्छ । इभेन्टको होस्टलाई सबैभन्दा माथि गोलो आकारको प्रोफाइल आइकनमा देख्न सकिन्छ भने वक्ता र स्रोताहरूलाई क्रमशः स्क्रिनको बीच र तल सानो आइकनमा देख्न सकिन्छ ।

अडियो रूममा सक्रिय वक्तालाई प्रोफाइल आइकनमा ग्लोइङ रिङले संकेत गरिन्छ । त्यस्तै अडियो रूममा बोल्नका लागि अनुरोध गर्न ‘रेइज ह्याण्ड’ टुल छ ।

स्राेताहरूले लाइभ अडियो रुममा हाेस्ट वा क्रिएटरलाई सपोर्ट गर्न ‘स्टार’ पठाउन समेत सक्छन् । यी स्टारहरू फेसबुकको अन्य लाइभ कन्टेन्टजस्तै कुराकानीको बखत खरिद गर्न सकिन्छ र कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ ।

साथै न्युज फिड र ग्रुप पोस्टबाट अडियो रूममा सामग्री शेयर गर्ने सुविधा पनि दिइएकाे छ । अर्को नयाँ सुविधाको रूपमा होस्टहरूले वक्ता र स्रोतबाट फण्ड रेइजिङ समेत गर्न सक्छन् ।

त्यसैगरी फेसबुक ग्रुपका लागि एडमिनले मोडेरेटर, ग्रुप मेम्बर र अन्य एडमिनलाई लाइभ अडियो रुम क्रिएट गर्ने कुरामा नियन्त्रण गर्न सक्छ । मेम्बर र भिजिटर दुवैले पब्लिक ग्रुपमा गएर सुन्न सक्ने भएपनि प्राइभेट ग्रुपमा भने सीमित प्रयोगकर्ताले एक्सेस पाउँछन् ।

फेसबुक प्रयोगकर्ताहरूले नयाँ लाइभ अडियो रूमबारे न्यूज फिड र नोटिफिकेसनबाट थाहा पाउन सक्छन् ।

त्यस्तै कम्पनीकाे पाेडकास्ट फिचर केही क्रिएटरका लागि उपलब्ध गराइएकाे छ । यसअन्तर्गत कुनै लिंक वा फाइल अपलोड नगरी आफूले चाहेको कुनै कार्यक्रम वा शोको आरएसएस फिड र केही सान्दर्भिक डेटा राखेर पोडकास्ट सुरु गर्न सकिन्छ । साथै कुनै पनि समयमा आफ्नो पोडकास्ट अनपब्लिस वा रिमुभ गर्न सकिनेछ ।

यदि तपाईंलाई लामो अडियोमा रुचि छ भने फेसबुकभित्रै प्रत्यक्षरुपमा पोडकास्ट सुन्ने सुविधा पाउनुहुनेछ । पोडकास्ट तपाईंको रुचिगत विषयका आधारमा देखापर्ने छन्, जसलाई सामाजिक सञ्जालभित्रका अन्य सामग्रीलाई जसरी शेयर तथा कमेन्ट गर्न सकिन्छ ।

पाेडकास्टका साथै प्रयाेगकर्ताले फेसबुकको न्युज फिडमै भ्वाइस क्लिप राख्न पाउनेछन् । यो फिचरबाट हामीले अहिलेसम्म कल्पनासमेत नगरेको एनेकडट, जोक्स, प्रेरणाका क्षण, कविता तथा अन्य धेरै कुराहरुलाई छोटो तथा अडियो क्लिपको स्वरुपमा क्याप्चर गरी फेसबुककाे न्युज फिडमा राख्न मिल्नेछ ।

लाइभ अडियाे रूमका साथ एपमै पोडकास्ट सुन्न र सुनाउन सकिने गरी कम्पनीले यो फिचर ल्याएपछि अडियाेमा रूचि राख्ने प्रयाेगकर्ताहरू फेसबुकमै रहने अपेक्षा कम्पनीले राखेकाे छ । वास्तवमा यी फिचरबाट फेसबुक अहिले चर्चामा आएका सोसल मिडिया एप क्लबहाउस, ट्वीटर स्पेस लगायतसँग प्रतिस्पर्धा गर्न चाहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६