close

निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक, यस्ता छन् मुख्य विशेषता

टेकपाना टेकपाना

असार ११, २०७८ ९:७

निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक, यस्ता छन् मुख्य विशेषता

काठमाडौं । विण्डोज ११ सार्वजनिक भएको छ । माइक्रोसफ्टले झण्डै ६ वर्षपछि नयाँ विण्डोज अपरेटिङ सिस्टमकाे रूपमा बिहीवार साँझ विण्डाेज ११ सार्वजनिक गरेकाे हाे ।

याे संस्करणलाई कम्पनीले विण्डाेजकाे ‘नेक्स्ट जेनेरेसन’ काे रूपमा अघि सारेकाे छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएकाे छ । नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट याे अपरेटिङ सिस्टममा थप गरिएकाे छ ।

विण्डोज ११ मा हाई कोर्टाना’ वेलकम स्क्रिन र लाइभ टाइल्स हटाइएको छ । विण्डोज ११ मा सबैभन्दा उल्लेखनीय परिवर्तन भएको यसको नयाँ युजर इन्टरफेस हो । प्रयोगकर्ताले यो अपरेटिङ सिस्टममा सुरूदेखि नै नयाँ र परिस्कृत अनुभव गर्न पाउनेछन् ।

फ्रेस सेटअप स्क्रिनसहित सुरू हुने यो अपरेटिङ सिस्टममा हरेक स्क्रिनकाे काम नयाँ अनुभव दिने गरी विभिन्न विण्डोज इलिमेन्टहरू प्रदान गरिएकाे छ ।

Windows 11

यसमा तपाईंले स्टार्ट मेन्यु स्क्रिनकाे बीचमा देख्न सक्नुहुनेछ, जसले आधुनिक अनुभव प्रदान गर्ने उद्देश्य राखिएकाे छ । यसअघिसम्म स्टार्ट मेन्यु स्क्रिनकाे बायाँतर्फ देखिन्थ्याे । स्टार्ट मेन्युसहित एज, फाइल एक्स्पोलरर जस्ता विन्डोजका डिफल्ट आइकनहरू पनि स्क्रिनको केन्द्रमै देख्न सकिन्छ ।

यो नयाँ परिवर्तनले विन्डोज ११ लाई म्याक ओएस वा क्रोम ओएस प्रयोग गर्ने मानिसहरूसँग बढी परिचित बनाउँदछ । यद्यपि तपाईंले स्टार्ट मेन्युको पोजिसनलाई परिवर्तन गर्न सक्नुहुन्छ, अर्थात् बायाँतर्फ नै स्टार्ट मेन्यु ल्याउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ ।

फ्रेस स्टार्टअप साउण्डसहित विण्डोज ११ नयाँ साउण्ड र अलर्टसहित आएको छ । साथै तपाईंले नयाँ थिमहरू, नयाँ वालपेपर र सुधारिएको डार्क मोड पाउन सक्नुहुन्छ ।

विण्डोज ११ मा अपडेटेड विजेटसमेत समावेश गरिएको छ । विजेटहरूले स्क्रिनको बाँयाबाट स्वाइप गरेर अगाडि ल्याउन सक्छ वा पूर्ण स्क्रिन राख्न सकिन्छ । तपाईंको प्राथमिकताअनुसार विजेटलाई पुनः व्यवस्थित गर्न वा पुनः आकार दिन यसमा विकल्प प्रदान गरिएको छ । तपाईंले यसमा विजेटहरू सजिलै थप्न वा हटाउन सक्नुहुन्छ ।

Microsoft Windows 11

मल्टिटास्किङ अनुभवका लागि ‘म्याक्सिमाइज’ बटनले तपाईंलाई एक्टिभ स्क्रिनहरु स्पिल्ट गर्न सघाउँछ, जुन फिचरलाई माइक्रोसफ्टले ‘स्न्याप लेआउट’ भनेको छ ।

windows 11 snap layouts image Windows 11

यसबाहेक माइक्रोसफ्टले मल्टी मोनिटरका लागि सपोर्ट सुधार गर्दैछ र प्रयोगकर्ताहरूलाई भर्चुअल डेस्कटपहरूमा काम गर्न सजिलो बनाउँदै छ । तपाईंले अब आफ्नो प्रत्येक भर्चुअल डेस्कटपका लागि विण्डाेज ११ मा सजिलो पहुँचको लागि पनि कस्टम वालपेपर प्रयोग गर्न सक्नुहुन्छ ।

विन्डोज ११ एक सुधारिएको टच कीबोर्डको साथ पनि आएको छ, जसले टेनरको जीआइएफ इन्टिग्रेसन समावेश गर्दछ । यसका साथै प्रिलोडेड भर्चुअल कीबोर्डहरू पनि छन्, जुन स्क्रिनमा कहिँ पनि राख्न सकिन्छ ।

प्रयोगकर्ताका लागि सिस्टममै भ्वाइस डिक्टेशन सपोर्टकाे सुविधा छ । त्यस्तै टाइपिङ सजिलो बनाउन भ्वाइस टाइप र भ्वाइस कमाण्डहरूको फिचर दिइएको छ ।

माइक्रोसफ्टले क्रोमियम आधारित ब्राउजरहरूको लागि पर्फर्मेन्स विस्तार पनि गरेको छ । त्यस्तै माईक्रोसफ्ट एजका लागि पनि थप नयाँ फिचर ल्याइएको छ, जसमा मल्टिपल ट्याबहरूको पहुँचको लागि सुधारिएको सपोर्ट रहेको छ । विण्डाेज ११ मा एज ब्राउजर भर्टिक ट्याब सपोर्टसहिट आएको छ ।

साथै पीसी गेमरका लागि अटो एचडीआर, डाइरेक्ट एक्स १२ अल्टिमेट सपोर्ट सुविधा रहेको छ । त्यस्तै क्लाउड गेमिङका लागि एक्स क्लाउड इन्टिग्रेसन समावेश गरिएको छ ।

त्यस्तै माइक्रोसफ्टकाे प्रिलोडेड एप स्टोर ‘माइक्रोसफ्ट स्टोर’ मा नयाँ सर्च क्यापाबिलिटी र सुधारिएको डिजाइन देख्न सकिन्छ, जसले एप निर्मातालाई धेरै पहुँच बनाउन सहयोग गर्ने बताइएको छ । माइक्रोसफ्टले कुनै कमिसन नलिइनकन एप निर्मातालाई स्टोरमा आफ्ना उत्पादन राख्ने अवसर दिएको छ ।

microsoft store image Microsoft Store

माइक्रोसफ्ट स्टोरले विन्डोज ११ प्रयोगकर्तालाई सिधै कम्प्युटरमा एन्ड्रोइड एप प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले अमेजन एपस्टोर इन्टिग्रेट गरेको छ ।

विण्डाेज ११ सुरुमा अर्को हप्तामा विन्डोज ईन्साइडर सदस्यहरूलाई परीक्षण उद्देश्यका लागि उपलब्ध हुनेछ । याे विन्डोज १० प्रयोगकर्ताहरूमा निः शुल्क अपग्रेडको रूपमा पनि उपलब्ध हुनेछ र नयाँ पीसीहरूमा प्रि:इन्स्टल भएर आउनेछ ।

माइक्रोसफ्टले पीसी हेल्थ चेक एप पनि जारी गरेको छ, जसमार्फत प्रयोगकर्ताले उनीहरुको विन्डोज १० पीसी अपग्रेड गर्न योग्य छ कि भनेर जाँच्न सहयोग गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६