close

सामसङ ग्यालेक्सी ए२२ किन्दै हुनुहुन्छ ? यस्ता छन् मुख्य फिचर (भिडिओ रिभ्यु)

हरिजङ्ग थापा हरिजङ्ग थापा

असार २१, २०७८ १०:४२

सामसङ ग्यालेक्सी ए२२ किन्दै हुनुहुन्छ ? यस्ता छन् मुख्य फिचर (भिडिओ रिभ्यु)

काठमाडौं । करिब एक हप्ता भयो, मैले सामसङको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए२२ चलाइरहेको छु । सामसङले विश्व बजारका लागि ए२२ फोरजी र फाइभजी सार्वजनिक गरिसकेको छ । नेपालमा भने ए२२ फोरजी स्मार्टफोन मात्र आएको छ ।

यो फोन चलाउँदाको अनुभवसहित मैले यसको रिभ्यु गरेको छु । सामसङ ए सिरिज अन्तर्गतको यो फोन चारवटा कलर अप्सनमा उपलब्ध छ । यसलाई तपाईंले ब्ल्याक, मिन्ट, भायोलेट र ह्वाइट मध्ये आफूलाई मनपर्ने कलर अप्सनमा रोजेर किन्न सक्नुहुन्छ ।

स्टोरेज हिसाबले ४ जीबी र्‍याम भएको मोबाइल ६४ जीबी र १२८ जीबी स्टोरेज अप्सनमा पाउन सकिन्छ भने ६ जीबी र्‍याम भएको फोनमा १२८ जीबी स्टोरेज छ । मैले चलाइरहेको भायोलेट कलरको यो फोनमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज छ ।

सामसङ ग्यालेक्सी ए२२ चलाउँदा एकदमै नरम, हलुका, स्लिम अनि निकै ह्याण्डी लाग्यो । यसमा ९० हर्ज रिफ्रेश रेटसहित ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ ।

ब्याट्रीको पर्फमेन्स बढाउन डिस्प्लेको यो कम्बिनेसनले राम्रै सहयोग गरेको जस्तो लाग्छ । एचडीको ठाउँमा फुल एचडी अथवा फुल एचडी प्लस डिस्प्ले अनि वाटर ड्रप नोचको साटो पन्चहोल भइदिएको भए यसको अनुभव अझ रमाइलो हुन सक्थ्यो ।

किनकि एचडी प्लस मात्रैको रेजोलुसन भएकाले फुल स्क्रिनमा भिडियो हेर्दा क्रप हुने समस्या हुन्छ । यद्यपि झट्ट हेर्दा फोनमा खासै बेजल्स देखिँदैन । जसले गर्दा लुक्स चाहिँ एकदमै आकर्षक लाग्छ । फोनमा अगाडिपट्टि १३ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

जसले ३० फ्रेम रेटमा एचडी भिडियो खिच्न सकिन्छ । जसले गर्दा भिडियो कल वा कन्फ्रेन्सिङमा पनि यो फोनले राम्रै अनुभूति गराउँछ । अक्टाकोर सीपीयू र एन्ड्रोइड ११ मा आधारित यो फोनमा मिडियाटेक हेलियो जी ८० चिपसेट प्रयोग गरिएको छ ।

जुन ग्यालेक्सी ए३२ र एम३२ मा पनि राखिएको छ । पछिल्लो फोनमा नयाँ वा अझै उन्नतस्तरको प्रोसेसर होस् भन्ने चाहना हुनु स्वभाविकै हो । तर, पुरानो प्रोसेसर भए पनि सामान्य गेम खेल्न, भिडियो खिच्न र हेर्न यसमा कुनै समस्या लागेन ।

सामसङ ग्यालेक्सी ए२२ मोबाइलको दायाँतर्फ भोल्युम र पावर बटन छ । पावर बटनले साइड माउन्टेड फिंगरप्रिन्टको समेत काम गर्छ । यसले निकै राम्रो रेस्पोन्स गरेको पाएँ । एकदमै फास्ट छ।

यही बटनलाई दुईपटक थिच्दा सोझै क्यामेरा खुल्ने वा अन्य कुनै निश्चित एप ओपन हुने गरी सेट गर्न पनि मिल्छ । जसले कुनै एउटा धेरै प्रयोग गरिरहनु पर्ने एप खोल्न मेनुमा गइरहनै पर्दैन । यो फोनको सेक्युरिटी अप्सनमा फेस रिकग्निसनको अप्सन पनि छ ।

डे लाइटमा यसले निकै मज्जाले काम गर्छ । यसको पछाडि पट्टी क्वाड (चार वटा) क्यामेरा सेटअप छ । जसमा ४८ मेगापिक्सेलको मेन क्यामेरा छ ।

यो बजेट फोनमा ४८ मेगापिक्सल मात्रै किन भन्ने कतिपयलाई लाग्न सक्छ । ४८ मेगापिक्सेलसँगै यसमा महंगो फोनमा हुने अप्टिकल इमेज स्टेबलाइजेसन समेत छ । जुन उस्तै प्राइस रेञ्जको ग्यालेक्सी एम३२ मा छैन । त्यसैले यो फोनको क्यामेरा अझ विशेष लाग्यो ।

किनभने मेन क्यामेराबाट फोटो वा भिडियो खिच्दा केही हदसम्म भएपनि स्टेबिलाइजेसन पाउन सकिन्छ । यही प्राइस रेञ्जमा सामसङले एम ३२ पनि बजारमा ल्याएको छ । जसको प्रोसेसर चिपसेटलगायत कतिपय स्पेसिफिकेसनहरू पनि उस्तै छन् । 

लुक्सको हिसाबले ए२२ केही राम्रो भए पनि क्यामेरा, ब्याट्री, अनि स्क्रिन रेजोलुसनको हिसाबले एम ३२ नै अगाडि देखिन्छ । मेन क्यामेरामा एफ १.८ अपार्चर भएकाले कम प्रकाश भएको ठाउँमा पनि राम्रो फोटो तथा भिडियो खिच्न सकिन्छ ।

यस्तै ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पनि यसमा दिइएको छ । जुन यति सस्तो मूल्यको अरु फोनमा पाउन मुस्किलै हुन्छ । फोनमा २ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर पनि छ ।

क्यामेरा सेटअपको लागि राखिएको बम्प (क्यामेरा राखिएको स्थानमा उठेको भाग) पनि धेरै ठूलो छैन । जसले गर्दा गोजीमा राख्दा वा निकाल्दा खासै समस्या हुँदैन । क्यामेराको सुरक्षाको लागि ब्याक कभर चाहिँ अनिवार्य जस्तै लाग्यो ।

अनि अर्को कुरा चिटिक्क देखिए पनि यो फोनको बडीमा प्लास्टिक कभर छ । त्यसैको फाइदा भनेको गेम खेल्दा वा भिडियो हेर्दा खासै तातेको महसुस हुँदैन। यसको ब्याट्रीमा मेरो कुनै गुनासो छैन ।

सामान्य प्रयोग गर्दा दुई दिन मज्जाले टिक्छ। गेम धेरै खेल्नुहुन्छ वा सामाजिक सञ्जाल अलि बढी नै चलाउनुहुन्छ भने पनि फुल चार्ज गरेपछि दिनभरको लागि चिन्ता लिनुपर्दैन । ५,००० एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १५ वाट फास्ट चार्जिङ सपोर्ट छ ।

जसले गर्दा फुल चार्ज हुन झण्डै झण्डै सवा घण्टा लाग्दो रहेछ । यो स्वाभाविकै पनि हो । फोनको माथि शिरानीमा न्वाइज क्यान्सिलेसन माइक छ भने डाउन साइडमा लहरैसँग स्पिकर, टाइप सी चार्जिङ पोर्ट, माइक अनि ३.५ एमएम अडियो ज्याक पोर्ट राखिएको छ ।

त्यस्तै बायाँतर्फ सिम ट्रे छ, जसमा दुइवटा सिमसँगै एक टीबीसम्मको माइक्रो एसडी कार्ड राख्न सकिने डेडिकेटेड स्लट पनि छ । समग्रमा भन्नु पर्दा मोबाइल हेर्दा चिटिक्कको छ ।

प्रोसेसर पुरानो लागे पनि सामान्य गेम खेल्न, राम्रो फोटो अनि भिडियो खिच्न र हेर्नका लागि यो फोन पर्याप्त छ । पब्जी, फ्रि फायर लगायतका गेम पनि यो फोनमा राम्रैसँग चल्छ । अनि त्यसरी गेम खेल्दा खासै फोन तातेको महसुस पनि हुँदैन ।

अर्को कुरा महंगो फोनको क्यामेरामा हुने अप्टिकल इमेज स्टेबलाइजेसन यो फोनमा दिइएको छ । अल्ट्रावाइड क्यामेराले तस्वीरको गुणस्तर अझ बढाउन मद्दत गरेको छ । अन्तिममा यसको मुल्यको कुरा गरौं ।

सामसङ ए२२ फोरजी नेपालमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ । जसको मूल्य २८ हजार रुपैयाँ राखिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३