close

अमेरिकी कम्पनीमाथि साइबर आक्रमण गर्दै ह्याकरले मागे ८ अर्बभन्दा बढी रकम

टेकपाना टेकपाना

असार २२, २०७८ १३:४

अमेरिकी कम्पनीमाथि साइबर आक्रमण गर्दै ह्याकरले मागे ८ अर्बभन्दा बढी रकम

काठमाडौं । कजेयाका र्‍यानसम्वेयर ह्याकरले ह्याक भएका व्यावसायिक डेटालाई रिस्टोर गर्न ७ करोड अमेरिकी डलर (८ अर्ब ३३ कराेड ९७ लाख रूपैयाँभन्दा बढी) माग गरेका छन् । अमेरिकी सूचना प्रविधि कम्पनी कजेयाका अनुसार यो साइबर हमलामा विश्वभरका करिब ८०० देखि १५०० व्यवसायहरू प्रभावित भएका छन् ।

फ्लोरिडामा रहेको कम्पनीका सीईओ फ्रेड वोकोलाले एक अन्तर्वार्तामा बोल्दै यो आक्रमणले कजेयाका क्लाइन्ट र उनीहरूका ग्राहकहरूलाई असर गरेको हुनाले यसको असरको विषयमा अझै पनि केही स्पष्ट नभएको बताएका छन् ।

कम्पनीका अनुसार सो आक्रमणमा साना व्यवसायीहरू जस्तै सुपर मार्केट, डेन्टिस्ट, लेखापरीक्षकमा लगायतका कार्यलयहरूमा प्रभाव परेको छ ।

यस आक्रमणले विशेषगरी स्विडेनका सुपरमार्केट लगायत न्यजिल्याण्डका विद्यालय तथा बालगृहहरूमा असर गरेको छ । सो प्रभावित संस्थाका डेटा फिर्ता गर्न ह्याकरले ७ करोड अमेरिकी डलरको माग रोयटर्स र अन्य साइबर सुरक्षाका विज्ञहरूको उपस्थितिमा गोप्य रूपमा गरेको हो ।

यद्यपि ह्याकरहरूले आफूहरू माग गरिएको रकममा छलफल गरेर अगाडि बढ्न तयार रहेको कुरा रोयटर्ससँग कुराकानीमा बताएका छन् । ह्याकर समूहका प्रतिनिधिले उनीहरूकै वेबसाइट मार्फत रोयटर्ससँग च्याटमा कुराकानी गरेका थिए । वोकोलाले भने ह्याकरको माग पुरा गर्ने कुरामा आफूले केही प्रतिक्रिया दिन नसक्ने बताए ।

‘उनीहरूको मागको विषयमा हुन्छ, हुन्न अथवा सायद जस्ता केही कुराहरू हामी भन्न सक्दैनौँ र यस्ता आतङ्ककारीहरूसँग उनीहरूको मागको विषयमा छलफल गर्ने भन्ने जस्तो कुनै कुरा नै हुन्न,’ उनले बताए ।

यो आक्रमणको असर व्यापक रहेकोले र्‍यानसम पेमेन्टको विषय झन संवेदनशील बनेको छ । यस विषयमा वोकोलाले आफ्नो कुरा ह्वाइट हाउसमा पनि भएको बताए पनि के कस्ता कुरा भए भन्ने विषयमा उनले केही बोलेका छैनन् ।

ह्याकरलाई माग गरेको रकम भुक्तानी गर्ने अथवा ह्याकरहरूको माग अनुसार उनीहरूसँग छलफल गर्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय भइसकेको छैन ।

यस आक्रमणले राष्ट्रिय असर पर्ने खालको कुनै प्रभाव पारेको छ कि छैन भन्ने विषयमा छानविन भइरहेको ह्वाइट हाउसले आइतबार बताएको थियो । यद्यपि वोकोलाले भने राष्ट्रिय स्तरमा असर पर्ने गरी कुनै पनि संस्थालाई असर भने नगरेको बताएका छन् ।

केही सूचना सुरक्षासँग सम्बन्धित व्यक्तिहरूले भने ह्याकरले वोकोलाको कम्पनीलाई कम्पनी भित्रबाट नै अवलोकन गरिरहेको बताए पनि वोकोलाले भने उनको कम्पनीमा त्यस्तो कुनै संकेत नदेखिएको दाबी गरेका छन् ।

‘हामीबीच त्यस्तो कोही छैन भन्ने मलाई लाग्छ र स्थिति सामान्य हुने वित्तिकै यस विषयमा अन्य जानकारीहरू पनि चाँडै नै सार्वजनिक गर्छौं,’ उनले बताए ।

राेयटर्सबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३