close

‘जोसियल’ को नाममा अनलाइनमा अवैध धन्दा, कारबाहीको तयारीमा प्रहरी

रन्जन कोइराला रन्जन कोइराला

असार २२, २०७८ १७:१४

‘जोसियल’ को नाममा अनलाइनमा अवैध धन्दा, कारबाहीको तयारीमा प्रहरी

काठमाडौं । पछिल्लो केही समययता सामाजिक सञ्जालमा ‘जोसियल’ निकै चर्चामा छ । डलर आम्दानी गर्न सकिने भन्दै धेरैले यसको प्रचार गरिरहेका छन् ।

हप्तामा दुईदेखि तीन वटा पोस्ट आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दा १० देखि १५ डलरसम्म आम्दानी गर्न सकिने भन्दै यसको बजारीकरण भइरहेको छ । के साँच्चिकै सामाजिक सञ्जालमा चर्चित ब्राण्डका प्रडक्टबारे जानकारी शेयर गर्दा र सोही पोस्टलाई जोसियलको वेबसाइटमा राख्दैमा डलर आम्दानी हुन्छ त ?

के यो आधिकारिक हो ? हप्तामा दुई वटा विज्ञापन शेयर गर्न मिल्ने र महिनामा सब्सक्रिप्सन प्लान अनुसार ४० वा ६० डलर प्राप्त गर्न सकिने भन्दै जोसियलको जुन रुपमा चर्चा भइरहेको छ, के त्यो आधिकारिक हो ? यी सबै कुरा बुझ्नुअघि जोसियलको फण्डा के हो, त्यो बुझ्न जरुरी छ ।  

के हो जोसियलको फण्डा ?

जोसियलले आफूलाई ‘इन्फ्लुयन्स  मार्केटिङ’ को रुपमा चिनाएको छ । सुरुमा लगइन गर्न ‘रिफरल लिंक’ आवश्यक पर्छ । तर त्यस्तो लिंक नभएको खण्डमा तपाईंले लगइन गर्न पाउनुहुन्न ।

कुनै साथीको रिफरल लिंक प्रयोग गरेर लगइन गर्नुभयो भने पनि अब त्यसमा पैसा कमाउन सुरुमा तपाईंले सब्क्रिप्सन प्लान लिनुपर्छ । त्यसका लागि पैसा बुझाउनुपर्छ । जसको मूल्य प्याकेजअनुसार फरक छ ।

जसमा ६० डलर अर्थात् सात हजार रुपैयाँभन्दा बढीमा ३ महिने र २४० डलर करिब २८ हजार ५०० रुपैयाँमा एक वर्षे सब्स्क्रिब्सन खरिद गर्न सकिन्छ । यति गरेपछि प्रत्येक हप्ता दुईदेखि तीन वटा विज्ञापन फेसबुकमा शेयर गरेर महिनामा ४० देखि ६० डलर आम्दानी हुने प्रलोभन देखाइको छ । 

यदि प्रयोगकर्ताले आफ्नो रिफरल लिङ्कमार्फत कुनै अर्को व्यक्तिलाई जोडेको खण्डमा थप तीन डलर प्राप्त हुने बताइएको छ । त्यसैगरी तीन जना सदस्य थप गर्दा दुई सय डलर र ६ जना थप  गर्दा हजार डलर, नौ जना जोड्दा दुई हजार डलर अनि १२ जना जोड्दा पाँच हजार डलर र १५ जना थप गर्दा दश हजार डलर प्राप्त हुने जनाइएको छ ।

अझ आफ्नो रिफरल कोड मार्फत १८ जना थप गर्दा २० हजार डलरसँगै एम्बासडर क्लबमा नियुक्ति हुने अवसर मिल्ने उल्लेख छ । एम्बासडर क्लबमा नियुक्त हुने व्यक्तिले मासिक ५० हजारदेखि १५ लाख सम्म आम्दानी गर्नसक्ने जोसिएलका एक जना एम्बासडर महरा बताउँछन् । 

भन्दा इन्फ्लुयन्स मार्केटिङ भने ता पनि यो सबै यस अघिको चर्चित युनिटी-हर्बो जस्ता नेटवर्किङ व्यवसाय जस्तै हो । यी अफरहरू भनेको प्रयोगकर्ता लोभ्याउने जोसियलका फण्डा हुन् ।

के साँच्चिकै पैसा आउँछ अथवा कसरी आउँछ  ?

हामीले यस विषयमा केही प्रयोगकर्तासँग बुझ्ने प्रयास गरेका छौं । कतिपयले पैसा आइरहेको पनि सुनाए । धेरैले भने पैसा पेन्डिङमा रहेको र आउने/नआउने कुनै यकिन नभएको बताए ।

पेन्डिङमा रहेको पैसा आउला अथवा नआउला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । तर आउने पैसाको माध्यम के छ त ? हामीसँग सम्पर्कमा आएका व्यक्तिहरुले, जसले आफूलाई जोसियलमा जोडेको हो, उसैले आफ्नो माथिको व्यक्तिबाट ल्याएर दिएको बताए ।

यसको अर्थ जोसियलको प्रणालीमा बीचमा कतै पनि बैंक जोडिँदैन । न त मुख्य एजेन्टसम्म नै उनीहरूको पहुँच हुन्छ । अनि हामीले आफूलाई जोसिएलको एम्बासडर भनेर चिनाउने साजन महरा (नाम परिवर्तन) लाई प्रयोगकर्ताले कसरी पैसा पाउँछन् भनेर सोध्यौं ।

उनले भने, ‘जोसियलको आफ्नै बैंक छ रे । त्यति मात्रै होइन, नेपालमा जोसियलको कम्युनिटी नै बनेको छ । उक्त कम्युनिटीमा आफूले कमाएको पैसा साँट्न सकिन्छ ।’

तर, यसरी भएको कारोबारको रकम बैंकबाट नआउने उनी बताउँछन् । कसैले यसमा वालेट प्रयोग गर्छन् त कसैले नगद नै लिने गर्छन् । रकम एकै पटकमा पनि आउँदैन । 

भन्नुको अर्थ तपाईंले ५० डलर कमाउनु भएको छ भने त्यो ५० डलर एकमुस्ट रुपमा तपाईंले पाउन सक्नुहुन्न ।  पाँच डलर अथवा १० डलर गर्दै विस्तारै पैसा प्राप्त हुने कारोबारीहरू बताउँछन् ।

जोसियलमा हुने कारोबार वैध कि अवैध ? 

यो विषय नेटवर्किङसँगै अनलाइन फ्रडसँग सम्बन्धित भएकाले हामीले नेपाल प्रहरी अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालासँग कुराकानी गर्‍यौं । उनी भन्छन्, ‘यो विषयमा हालसम्म ठगिको उजुरी आएको छैन । तर, धेरैबाट यो विषयमा जानकारी भने प्राप्त भएको छ । त्यसैका आधारमा हामी बुझ्ने क्रममै छौं ।’

उनले यसमा प्रयोगकर्ता ठगिनु वा नठगिनु फरक विषय भएतापनि कानूनी रुपमा भने यो अवैध भएको बताए । ‘यो नेटवर्किङ व्यवसायकै एउटा पाटो हो । नेटवर्किङलाई नेपाल सरकारले गैरकानूनी करार गरेको छ ।

अर्कोतर्फ यो कम्पनी नेपालमा नभएर बेलायतमा दर्ता भएको देखिन्छ । यस हिसाबले नेपालमा दर्ता नभएर हुने जुनसुकै कारोबार अवैध नै हुन्छ । तर, जोसियलका प्रतिनिधि भने यसलाई नेटवर्किङ नभएको दाबी गर्छन् ।

यो व्यवसाय नेटवर्किङ हो कि होइन भन्ने कुरा यकिन गर्न लगइनका लागि चाहिने रेफरल लिंक नै पर्याप्त छ । एउटा व्यक्तिले जति नयाँ सदस्य थप्दै गयो, त्यति नै आम्दानी हुने भएपछि यो त नेटवर्किङ भएन र ?

यो प्रश्नमा एम्बेसडर महरा भन्छन्, ‘यो सामाजिक सञ्जालमा मात्रै हुने भएकाले यसलाई नेटवर्किङ भन्न मिल्दैन ।’

कम्पनी नेपालमा दर्ता नभएको र यसबाट हुने कारोबार अनुसन्धानको दायरामा आउँदा के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यसबाट स-सानो कारोबार हुने हो । त्यसमा के को कारबाही ? त्यतिमात्रै नभएर हामीले कसैले चाहेको खण्डमा प्यान नम्बर राखेर कारोबार गर्न सकिने बनाएका छौं ।’

अनि तपाईंले प्यान नम्बर राख्नुभएकाे छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले त राखेको छैन । आगामी दिनमा राख्ने हो । भविष्यमा नेपालमै कम्पनी दर्ता गर्ने योजना पनि छ ।’ उनले जोसियल भित्र हुने आम्दानी बिटक्वाइन माइनिङबाट हुने विषय समेत खुलाएका छन् ।

उनले भने, ‘यो बिटक्वाइटमा आधारित भएता पनि नेपालमा भने बिटक्वाइनको कारोबार नभएर एजेन्टमार्फत पैसा ल्याएर नेपालमा उपलब्ध गराउने गरेको छ । जसका लागि मभन्दा माथि पनि धेरै सरहरू हुनुहुन्छ ।’

उनको यो कुराले जोसियलमार्फत बिटक्वाइन माइनिङ भइरहेको विषयसमेत स्पष्ट हुन्छ । यति भएसँगै विदेशी विनिमयसँग पनि यो विषय सम्बन्धित हुन्छ । त्यसैले हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसँग कुराकानी गर्‍यौं ।

उनले भने, ‘कुनै पनि काम कारबाही र त्यसको कारोबार कहाँबाट भइरहेको छ भन्ने लगायतको सम्पूण जानकारी हुनुपर्नेछ । यदि त्यसो नभएको खण्डमा अवैध ठहरिन्छ । यो विषयमा थप अध्ययन गरेर मात्रै हामीले प्रष्ट पार्न सक्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३