ट्रेन्डिङ:
वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ? क्रिप्टो प्रचार गरेको भन्दै सञ्चारकर्मी किमलाई करिब १६ करोड जरिवाना क्रिप्टोकरेन्सीको लगानी अत्यधिक जोखिमपूर्ण भएकाले डुब्नसक्ने राष्ट्र बैंकको चेतावनी गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? इन्टरनेटमा के गर्छन् नेपाली ? के हो सामाजिक सञ्जालमा भाइरल प्रहरी दुर्व्यवहारको वास्तविकता ? अनलाइन किताब खरिदका लागि उपयुक्त पाँच नेपाली वेबसाइट राम्रो इन्टरनेट स्पिडका लागि कहाँ राख्ने राउटर ? ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ?
close

वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?

टेकपाना टेकपाना

साउन ३, २०७८

वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?

काठमाडौं । नेपालमा लोकप्रिय भिडिओ गेम पब्जीको सर्भर परिक्षण सुरु भएको छ । नेपालमा पब्जी प्रयोगकर्ता र अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत बढेसँगै टेन्सेन्टले त्यसको सर्भर नेपाल पठाएको हो ।

हाल सर्भर टेस्टिङ (परीक्षण) को क्रममा रहेको नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले जानकारी दिए । ‘अहिले सर्भर परीक्षणकै क्रममा छ,’ उनले भने, ‘तर लाइभ कहिलेसम्म जान्छ भन्ने कुरा चाहिँ यकिन छैन । तै पनि अबको एक महिनाभित्र लाइभ पठाउँछन् कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।’

हाल पब्जीका लागि वर्ल्डलिङ्कबाट मात्रै करिब १० जीबीपीएस अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको छ । समग्रमा नेपालबाट २० देखि २५ जीबीपीएस ट्राफिक पब्जीमा रहेको सेवाप्रदायकहरु बताउँछन् । धेरै ट्राफिक रहेकाले पब्जीको सर्भर समेत वर्ल्डलिङ्कमै राखिएको हो ।

टेन्सेन्टले कति र कस्तो ट्राफिक लोकल सर्भरबाट पठाउँछ भन्ने यकिन भने भइसकेको छैन । यसको अर्थ कम्पनीले पब्जीको सबै ट्राफिक यसमा पठाउँछ कि पठाउँदैन भन्ने कुरा खुलाएको छैन ।

यसबाट पब्जीको पिङमा कत्तिको फरक पर्छ र गेम-प्ले कुन हदसम्म सुधार हुन्छ भन्ने कुरा यकिन हुन बाँकी छ । हाल दुई ओटा क्याश सर्भर नोड अन गरी परीक्षण चलिरहेको सीटीओ जनले बताए । ‘परीक्षण सकिएपछि भने लाइभ सर्भर नोडको संख्या दश पुग्नेछ,’ उनले भने ।

हाल हङकमङ, सिंगापुर, मुम्बई, फ्याङ्कफर्ट, जापान र सिलिकन भ्यालीमा रहेका क्लाउड गेमिंग डेटा सेन्टरबाट पब्जीका  धेरैजसो ट्राफिक नेपाल आउने गरेको छ । तर वर्ल्डलिङ्कमा रहने सर्भरमा टेन्सेन्टले कुन कुन डेटा सेन्टरको ट्राफिक कसरी पठाउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

त्यसो त गुगल, फेसबुक, युट्युव, टिकटक, अकमाई, क्लाउड फ्लेयर जस्ता कम्पनीले यस अघिदेखि नै नेपालमा आफ्नो सर्भर राखेर सञ्चालन गर्दै आएका छन् । जसमध्ये धेरैजसो प्लेटफर्मको ४० देखि ९० प्रतिशत अन्तर्राष्ट्रिय ब्याण्डविथ जोगिने गरेको छ ।

सर्भरको इफिसेन्सी प्लेटफर्म तथा एप्लिकेसन अनुसार फरक फरक हुने गरेको सेवाप्रदायकहरूको अनुभव छ । पब्जी रियल टाइम एप्लिकेसन भएका कारण क्याश सर्भरले फरक पार्ने ट्राफिक प्याटर्न समेत अरुको भन्दा भिन्न हुनसक्ने देखिन्छ ।

यद्यपि वास्तविक अवस्था भने सञ्चालनमा नआइकन भन्न नसकिने जनले बताए । सर्भर लाइभ आएपनि त्यसमा गेम सर्भर रहने वा नरहने भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ ।

यद्यपि टेन्सेन्टले चाहेको खण्डमा उक्त सर्भरमा निश्चित भाग गेम सर्भरको लागि छुट्याउन सक्ने सम्भावना भने रहेको छ । क्याश मात्रै राख्ने कि गेमिङ सर्भर समेत जोड्ने भन्ने सबै निर्णय टेन्सेन्टकै हातमा रहेको जनको भनाई छ । पब्जीको सर्भर वर्ल्डलिङ्कमा राखिए पनि इन्टरनेट ट्राफिक एक्सचेञ्ज हुने भएकाले त्यसको लाभ अन्य सेवाप्रदायक र प्रयोगकर्ता समेतले पाउनेछन् ।