close

यस्तो खतरनाक ‘स्पाइवेयर’, जसबारे सुन्दा समेत आफ्नै मोबाइलसँग डर लाग्न थाल्छ

टेकपाना टेकपाना

साउन ४, २०७८ १४:३९

यस्तो खतरनाक ‘स्पाइवेयर’, जसबारे सुन्दा समेत आफ्नै मोबाइलसँग डर लाग्न थाल्छ

काठमाडौं । फोन ट्यापिङ र म्यासेज ह्याकिङसँग सम्बन्धित एउटा रिपोर्टले कयौं ठूला हस्तीको निन्द्रा उडाइदिएको छ । वासिङ्गटन पोस्टगार्डियनले आफ्नो रिपोर्टमा दाबी गरेका छन्, विश्वका कयौं प्रतिष्ठित व्यक्तिहरूको फोन ट्याप गरिएको र उनीहरूको ह्वाट्सएप म्यासेज ह्याक गरिएको छ । जसमा सरकारका मन्त्री, सर्वोच्च अदालतका न्यायाधीस समेत सामेल छन् ।

यति मात्र होइन, यो ह्याकिङ जालमा पर्नेहरूमा कयौं पत्रकारहरू समेत छन् । यो सबै खेलको पछाडि जुन सफ्टवेयरको नाम बाहिर आएको छ, त्यो हो ‘पेगासस’ । पेगासस वास्तवमा एउटा इजरायली सफ्टवेयर कम्पनीले विकास गरेको स्पाइवेयर हो ।

यसको प्रयोग विश्वभर जासूसी कार्यमा भइरहेको छ । पेगाससको नाम जासूसीसँग जोडिएको यो नै पहिलो पटक भने होइन । यसभन्दा अगाडि पनि अन्य देशका सरकारमाथि यो सफ्टवेयरको प्रयोग भएको आरोप लाग्दै आएको छ ।

सन् २०१७ मा मेक्सिकोको सरकारमाथि समेत यो सफ्टवयेर प्रयोग गरेको आरोप लागेको थियो । त्यतिखेर न्युयोर्क टाइम्सले बताएको थियो कि मेक्सिको सरकारले पेगासस सफ्टवेयरको सहयोगमा मोबाइलको जासूसी गर्ने उपकरण बनाएको थियो ।

यसको प्रयोग मेक्सिकोमा मानवअधिकार कार्यकर्ता, पत्रकार र भ्रष्टाचार विरोधी कार्यकर्ताको विरुद्ध प्रयोग गरिएको थियो । सन् २०१९ मा विश्वभरका पत्रकार र सामाजिक कार्यकर्ताको ह्वाट्सएपको जासूसी गरिएको थियो ।

उक्त ह्याकिङको पुष्टी स्वयम् ह्वाट्सएपले नै गरेको थियो । त्यतिखेर ह्वाट्सएपले भनेको थियो कि जासूसीका लागि भिडिओ कलिङ फिचर  प्रयोग गरिएको र त्यसमा पेगासस नामको सफ्टवेयर प्रयोग भएको थियो । 

पेगासस आखिर कस्तो सफ्टवेयर हो ? 

पेगासस सफ्टवेयर इजरायलको एनएसओ साइबर प्रविधि कम्पनीले बनाएको हो । यसको पूरा नाम निव, शलेव र ओमरी हो । यो कम्पनीका संस्थापकहरूको नाम हो । पेगासस एक प्रकारको स्पाइवेयर सफ्टवेयर हो । स्पाइवेयरको अर्थ जासूसी गर्ने सफ्टवेयर भन्ने हुन्छ ।

पेगाससलाई विश्वकै खतरनाक जासूसी सफ्टवेयर मानिन्छ । यो सफ्टवेयर अहिलेसम्म विकास भएका स्पाइवेयरमा सबैभन्दा शक्तिशाली हो । जसले एन्ड्रोइड र आईओएस दुवै प्रकारका फोनको जासूसी गर्न सक्छ ।

यसले एकै समयमा अर्बौं मोबाइलाई संक्रमित तुल्याउने क्षमता राख्छ । पेगासस सफ्टवेयरको प्रारम्भिक भर्सन अनुसन्धानकर्ताले सन् २०१६ मा पहिचान गरेका थिए । पेगासस प्रयोगकर्ताको जानकारी र अनुमति बिना नै मोबाइलमा इन्स्टल हुन सक्छ ।

एक पटक फोनमा इन्स्टल भइसकेपछि यसलाई सहजै हटाउन सकिँदैन । यो सफ्टवेयरले तपाईंको निजी जानकारीमाथि लगातार रुपमा २४ सै घण्टा निगरानी राख्न सक्छ । यसले पासवर्ड, कन्ट्याक्ट लिस्ट, क्यालेन्डर, मेसेज, माइक्रोफोन, क्यामेरा र अन्य मेसेजिङ एपको कलिङ लगायतका प्रायः सबै फिचरमाथि बारम्बार निगरानी राख्छ ।

पेगाससले प्रयोगकर्ताको जीपीएस लोकेसन समेत ट्र्याक गर्न सक्छ । यसले तपाईंको मोबाइलमा म्यासेज पठाउन र पाउन सक्छ । तपाईंको कल रेकर्ड गर्नेदेखि फोटो र भिडिओलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्छ ।

फोनको क्यामेराबाट गोप्य रुपमा तपाईंको भिडिओ रेकर्ड गर्न सक्छ । साथै मोबाइलको माइक्रोफोन प्रयोग गरेर तपाईंले गर्ने कुराकानी रेकर्ड गर्न सक्छ । पेगासस मार्फत प्रयोगकर्ताको फोन ह्याक गर्ने कयौं तरिकाहरु छन् ।

कतिपय समय ह्याकरले लिङ्कको सहयोग लिने गर्दछन् त कतिपय समय एप इन्स्टल गराइन्छ । बताइएअनुसार ह्वाट्सएपका लागि कलिङ फिचरको सहयोग लिने गरिन्छ । एक रिपोर्ट अनुसार ह्वाट्सएपमा केवल एउटा मिसकल गरेकै भरमा यो सफ्टवेयर इन्स्टल गराउन सकिन्छ ।

तर यस्ता आरोपको विषयमा एनएसओ ग्रुपले आफ्नो सफ्टवेयर केवल सरकारी उपयोगका लागि हुने गरेको बताउँदै आएको छ । एनएसओ ग्रुपले यो ह्याकिङ अथवा स्पाइवेयर विश्वभरका सरकारलाई बिक्री गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१