काठमाडौं । ईकमर्स कम्पनी ग्यापु नेपालकाे बग बाउन्टी प्लेटफर्म बगभीमा जोडिएको छ । यो प्लेटफर्ममा रहेर साइबर सुरक्षा अनुसन्धानकर्मीहरूले ग्यापुको सिस्टम तथा सफ्टवेयरको परीक्षण गर्नेछन् ।
यो अवसरमा ग्यापुले हरेक भल्नरेबिलिटीका लागि सुरक्षा अनुसन्धानकर्मीलाई १० देखि २०० डलरसम्म रिवार्ड प्रदान गर्ने भएको छ ।
बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको कमजोरी पत्ता लगाउने र त्यसबारे जानकारी दिन सकिन्छ । गत पुसदेखि सञ्चालनमा आएको बगभी प्लेटफर्ममा हालसम्म झण्डै दुई दर्जन संस्था जाेडिएका छन् ।
यसै क्रममा अनलाइन शपिङ प्लेटफर्मको रुपमा ग्यापु पनि बग बाउन्टी प्लेटफर्ममा जोडिएको हो । ग्यापुको सिस्टम तथा सफ्टवेयरमा कुनै किसिमको सुरक्षा कमजोरी भेटिएको खण्डमा बगभी प्लेटफर्ममार्फत् दर्ता गराउन सकिने छ ।
यदि उक्त कमजोरी मान्य भएको खण्डमा हरेक भल्नरेबिलिटीका लागि १० देखि २०० अमेरिकी डलरसम्म अर्थात् एक हजारदेखि २४ हजारसम्म रिवार्ड प्रदान गरिने बगभीका संस्थापक नरेश लाम्गादेले बताए ।
यसरी बग बाउन्टी प्लेटफर्म बगभीमा जोडिने कम्पनीमध्ये अनलाइन शपिङ प्लेटफर्मका रुपमा ग्यापु पहिलो बनेको छ ।
सरकारी निकाय, विभिन्न निजी तथा सार्वजनिक संघ-संस्थालाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको कम्पनीले ग्यापु सिस्टममा जोडिएसँगै अन्य अनलाइन शपिङ प्लेटफर्मसमेत विस्तारै जोडिने जाने अपेक्षा राखेको छ ।