close

जोकसैले यसरी सजिलै पत्ता लगाउन सक्छ तपाईंको मोबाइल ब्यालेन्स

टेकपाना टेकपाना

साउन १३, २०७८ २०:३१

जोकसैले यसरी सजिलै पत्ता लगाउन सक्छ तपाईंको मोबाइल ब्यालेन्स

काठमाडौं । यदि तपाईं नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलमा कति ब्यालेन्स छ भन्ने कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउन सक्छ । तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ?

तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी (मान्यअवधि) थाहा पाउन सक्नुहुन्छ । तर यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ ।

हुन त तपाईंलाई लाग्न सक्छ, मोबाइल रिचार्ज गरेर आफ्नो ब्यालेन्स कसैले जान्न चाहन्छ भने थाहा पाओस्, के फरक पर्छ । तर यो तपाईंको व्यक्तिगत जानकारी हो । यसको अर्थ तपाईंको अनुमति बिना अर्को व्यक्तिले यस्तो जानकारी सजिलै थाहा पाउने अवस्था बन्नुहुन्न ।

तर यो विषयलाई टेलिकमका अधिकारीले सुविधाको अर्थमा व्याख्या गर्ने गरेका छन् । जानेबुझेकै आधारमा यस किसिमको व्यवस्था गरिएको टेलिकमका ती अधिकारीले बताए ।

तर साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोय यो विषयलाई कसैको बैंक खातामा थोरै रकम जम्मा गरेर उसको ब्यालेन्स थाहा पाउनु जस्तै संवेदनशील भएको बताउँछन् । ‘यो प्राइभेसी (गोपनीयता) लिक भएको विषय हो,’ उनी भन्छन्, ‘यस्तो जानकारी सम्बन्धित मोबाइलमा आउने ओटीपीको आधारमा मात्रै थाहा पाउन सकिने गरी सुरक्षित राख्न जरुरी छ ।’

त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत यो विषय गोपनीयताको दृष्टिले संवेदनशील भएको बताउँछन् । ‘प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नु सम्बन्धित सेवाप्रदायकको दायित्वको विषय हो,’ उनी भन्छन्, ‘कुनै प्रयोगकर्ताको मोबाइल ब्यालेन्स कति छ भन्ने कुरा नितान्त सम्बन्धित व्यक्तिको निजी जानकारी हो । टेलिकमले यस्तो जानकारी सार्वजनिक गर्न पाउँदैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१