close

‘ट्रुकलर’ जस्तै यसरी गोपनीयता भंग गर्ने एप बने नेपालका डिजिटल वालेट

रन्जन कोइराला रन्जन कोइराला

साउन १४, २०७८ १६:३०

‘ट्रुकलर’ जस्तै यसरी गोपनीयता भंग गर्ने एप बने नेपालका डिजिटल वालेट

काठमाडौं । मोबाइल मार्फत विभिन्न सेवा तथा सामानको भुक्तानी सुविधा दिइरहेका डिजिटल वालेट नै व्यक्तिगत गोपनीयता सार्वजनिक गर्ने र पहिचान गर्ने माध्यम भइरहेको कुरा धेरैलाई जानकारी नहुन सक्छ । तर, नेपालको हकमा भने यो तीतो यथार्थ हो ।

कुनै मोबाइल नम्बर कसको नाममा छ भनेर पत्ता लगाउने उपकरणको रुपमा पछिल्लो समयमा मोबाइल वालेटको दुरुपयोग हुन थालेको हो । यो जोखिमलाई अझ सजिलो गरी बुझौं ।

कतिपय प्रयोगकर्ताले मोबाइलमा ट्रु कलर एप राखेका हुन्छन् । कुनै नम्बर कसको नाममा छ भन्ने कुरा थाहा पाउन यो एप प्रयोग हुन्छ । तर यसमा राखिएको नाम प्रमाणीक वा यथार्थपरक नहुन पनि सक्छ ।

तर ट्रु कलरको यो अभाव समेत पूर्ति हुने गरी डिजिटल वालेट नै प्रयोग हुन थाल्यो भने के होला ? यो काल्पनिक विषय नभएर यथार्थ हो । 

अहिले कुनै निश्चित मोबाइलन नम्बर कुन व्यक्तिको नाममा छ भन्ने आधिकारिक जानकारी लिन वालेट एप प्रयोग भइरहेका छन् । जसमा ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका सबै वालेटहरु छन् ।

यदि तपाईंलाई कुनै नम्बर कसको हो भनेर जानकारी चाहिएको छ भने वालेटमा गएर ‘सेन्ड मनी’ अप्सनमा राखेर हेर्नु भयो भने सहजै पाउन सक्नुहुन्छ । सबैजसो वालेटमा ‘सेन्ड मनी’ वा ‘वालेट ट्रान्सफर’ अप्सन रहेको हुन्छ ।

यो फिचर प्रयोग गरी तपाईंले अन्य कुनै वालेट प्रयोगकर्तालाई पैसा पठाउन सक्नुहुन्छ । ‘सेन्ड मनी’ वा ‘वालेट ट्रान्सफर’ अप्सनमा गएर तपाईंले कुनै नयाँ मोबाइल नम्बर राखेपछि त्यसको तल पठाउन चाहेको रकम, त्यसको कारण लगायत उल्लेख गरी ‘भेरिफाई’ मा क्लिक गर्नुभयो भने उक्त नम्बर कसको हो भन्ने पत्ता लाग्छ । 

यति जानकारीका लागि तपाईंले कसैको नाममा पैसा पठाइरहनु पनि पर्दैन । तर, त्यसका लागि तपाईंले खोजेको नम्बरमा सम्बन्धित वालेटको अकाउन्ट भने खुलेको हुनुपर्छ । यो कुनै एक वालेट कम्पनीको समस्या मात्रै होइन, नेपालका प्राय सबै वालेटमा छ ।

अझ कतिपय वालेटले त्यसमा व्यक्तिको फोटो सहितको जानकारी देखिने सुविधा पनि दिइरहेका छन् । जसमा खल्ती र आईएमई पे छन् । जुन जानकारी आधिकारिक समेत हो । यदि तपाईंले ट्रुकलरमार्फत यसैगरी जानकारी खोज्नुभयो भने त्यो पुष्ट नहुन सक्छ ।

किन भने ट्रुकलरले कुनै प्रयोगकर्ताले मोबाइलमा सेभ गरेको नाम र रिफर गरेको नामका आधारमा जानकारी दिने गर्छ । जस्तो कि तपाईंको साथीको नाम राम छ तर, तपाईंले ट्रुकलरमा ‘रामे’, ‘श्यामे’ भनेर रिफर गर्नु भएको छ भने ट्रु कलरले सोही नाम देखाउँछ ।

तपाईंको साथीले तपाईंको मोबाइल नम्बर रामे भनेर सेभ गरेको छ भने पनि त्यसैलाई आधार मानेर ट्रुकलरले अन्य प्रयोगकर्तालाई जानकारी दिन्छ । यस हिसाबले ट्रुकलरमा भएको जानकारी तपाईंले आधिकारिक मानेर ढुक्क हुने अवस्था रहँदैन ।

तर, वालेटमा उपलब्ध हुने यस्तो जानकारी राष्ट्र बैंकको नीति अनुसार व्यक्तिको पूर्ण जानकारी सहित केवाईसी भरेर भेरिफाई गरिएको जानकारी हो । त्यसैले पनि त्यहाँ उपलब्ध हुने डेटा पूर्ण रुपमा आधिकारिक हुन्छ । शंका गर्ने ठाउँ हुन्न ।

ट्रुकलरमा जस्तो नयाँ फोन नम्बरबाट आएको फोन उठाउनु अघि कसले गरेको हो भनेर पत्ता लगाउन वालेटबाट सम्भव नहुन सक्छ । तर, ट्रुकलरमार्फत कुनै नयाँ मोबाइल नम्बर कसको हो भनेर जाँच गरे जस्तै वालेटबाट सजिलै थाहा पाउन सकिन्छ । यसको दुरुपयोग भइरहेको सूचना टेकपानाले प्राप्त गरेको छ ।

नहोस् पनि कसरी ? यदि कसैलाई कुनै नम्बरको जानकारी आवश्यक परेको खण्डमा प्रहरी तथा दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ । त्यसरी निवेदन दिँदैमा पनि त्यस्तो जानकारी सजिलै उपलब्ध हुन्छ भन्ने छैन ।

किन भने त्यस्ता जानकारी व्यक्तिगत भएकाले अनुसन्धानका लागि प्रहरीले पठाएको पत्रको आधारमा सेवा प्रदायले उपलब्ध गराउन सक्छन् । वालेटमै त्यस्ता जानकारी उपलब्ध हुँदा यसका लागि कसैले किन झन्झट सामना गर्छ ?

त्यसैले पनि पछिल्लो समय धेरैले यसको दुरुपयोग गरिरहेको प्रहरी स्रोतले जनाएको छ । यति सम्म कि कतिपय अवस्थामा प्रहरी आफैंले पनि वालेटको यो कमजोरीलाई प्रयोग गर्ने गरेको पाइएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश रोय यसरी कुनै व्यक्तिको फोटो सहितको जानकारी उपलब्ध हुनु निकै संवेदनशील भएको बताउँछन् । ‘अन्तराष्ट्रिय स्तरमा यस्तो जानकारी सार्वजनिक गरिएको हुँदैन । नेपालमै पनि बैंकहरुले व्यक्तिको नाम आधा लुकाएर मात्रै देखाउने गरेका छन्,’ उनी भन्छन् ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पनि यो सेवा प्रदायकको कमजोरी भएको स्वीकार गर्छन् । ‘यो त ट्रुकलर जस्तै भयो,’ ढकाल भन्छन्, ‘त्यसरी व्यक्तिगत जानकारी सार्वजनिक गर्न गोपनीयताको हिसाबले पनि मिल्दैन । यो विषयमा अध्ययन गरी तत्कालै आवश्यक कदम चालिनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१