close

दूरसञ्चार प्राधिकरणबाट बिदा भए खनाल

टेकपाना टेकपाना

साउन १६, २०७८ ९:८

दूरसञ्चार प्राधिकरणबाट बिदा भए खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अवकाश पाएका छन् । १५ वर्ष ४ महिना २४ दिनको सेवा पुरा गरेका उनले शनिबारदेखि अनिवार्य अवकाश पाएका हुन् ।

वरिष्ठ निर्देशक पदको चार वर्षे सेवावधिका कारण अवकाश पाएका खनाललाई प्राधिकरणले शुक्रबार बिदाइ गरेकाे छ ।

‘मैले पाएको कष्टलाई हिजोको अत्यन्तै आत्मिय र भावुक बिदाइले बिर्साइ दिएर अवकाशलाई स्मरणीय बनाएको छ । मलाई लाग्छ- हामी त आ-आफ्ना प्रारब्धले तय गरेको नाटकका पात्रमात्रै हौं । कसैप्रति द्वैष, घृणा, क्रोध केही नराखी सानन्द बिदाइ हुने वातावरण सिर्जना गर्ने सबैलाई हार्दिक धन्यवाद ।’ ट्वीट गर्दै उनले भने ।

२२ चैत, २०६२ मा खुला प्रतिस्पर्धाबाट खनालले प्राधिकरणमा निर्देशक तहमा नियुक्ति पाएका थिए । निर्देशकको रुपमा ११ वर्ष प्राधिकरणमा सेवा गरेपछि उनले १७ साउन २०७४ मा वरिष्ठ निर्देशकको रुपमा बढुवा पाएका हुन् ।

तर तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले खनालसँग प्रतिशाेध साँध्न उनलाई मन्त्रालयमा जगेडामा राखेर भूमिकाविहीन बनाइदिए । यो चार वर्ष खनालले जिम्मेवारीविहीन मात्र नभई आफूभन्दा एक तह तलको सेवा सुविधामै चित्त बुझाएका थिए ।

वरिष्ठ निर्देशकको पद सिर्जना भएपछि त्यसको सेवा सुविधा सहितको विनियमावली स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालय पठाइएको थियो । तर त्यो अहिलेसम्म स्वीकृत भएको छैन ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणकै पहिलो वरिष्ठ प्राविधिकको रुपमा प्रवेश गरेका उनले सुरूकाे ५ महिनापछि नै निमित्त प्रमुखको रुपमा २२ महिनासम्म प्राधिकरणको नेतृत्व गर्ने मौका पाएका थिए ।

याे पनि पढ्नुहाेस्: अब्बल ‘टेक्नोक्र्याट’को बिर्सनलायक बिदाइ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१