close

विमानमा असर पार्ने विषय बाहिरिएसँगै अमेरिकी दूरसञ्चार कम्पनीले रोके फाइभजी

टेकपाना टेकपाना

पुस २१, २०७८ ७:२७

विमानमा असर पार्ने विषय बाहिरिएसँगै अमेरिकी दूरसञ्चार कम्पनीले रोके फाइभजी

काठमाडौं । दूरसञ्चार क्षेत्रको नयाँ प्रविधि ‘फाइभजी’ ले विमानको विद्युतीय उपकरणमा नकारात्मक असार पार्ने विषय बाहिरिएसँगै अमेरिकी दुई ठूला दूरसञ्चार कम्पनीले तत्कालका लागि फाइभजी परियोजना रोकेका छन् ।

अमेरिकी सरकारको आग्रहमा भरिजन तथा एटी एण्ड टीले फाइभजीको व्यवसायिक सुरुवात तत्कालका लागि रोकेका हुन् । यसअघि विमानको विद्युतीय उपकरणमा असर पर्ने भन्दै विमान निर्माता कम्पनीहरूले अमेरिकी सरकारलाई तत्काल लागू नगर्न आग्रह गरेका थिए ।

विश्वका दुई ठूला विमान निर्माता कम्पनी बोइङ र एयरबसले अमेरिकी सरकारलाई पत्र लेखेसँगै अमेरिकी सरकारले दूरसञ्चार सेवाप्रदायकलाई तत्कालका लागि परियोजना रोक्न आग्रह गरेको थियाे ।

उनीहरूले फाइभजीमा प्रयोग हुने सी-ब्याण्ड फ्रिक्वेन्सीले विमानको विद्युतीय उपकरणमा असर पार्ने बताएका छन् । भरिजन तथा एटी एण्ड टीले सुरुवाती चरणमा यो अनुरोधलाई अस्वीकार गरेका थिए । तर, सरकारले नै हस्तक्षप गरेसँगै परियोजना तत्कालका लागि होल्ड गर्न उनीहरु राजी भएका हुन् ।

उनीहरूले यही शुक्रबार अमेरिकामा फाइभजीको व्यवसायीक सुरुवात गर्ने योजना बनाएका थिए । तर, सरकारको निर्देशनसँगै दुवै दूरसञ्चार कम्पनीले दुई हप्ताका लागि परियोजना रोकेको जानकारी दिएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५