close

एक करोड २० लाख नेपालीले पाउँदैछन् राष्ट्रिय परिचयपत्र, यस्तो छ तयारी

टेकपाना टेकपाना

पुस २१, २०७८ २२:२५

एक करोड २० लाख नेपालीले पाउँदैछन् राष्ट्रिय परिचयपत्र, यस्तो छ तयारी

काठमाडौं । सरकारको महत्वकांक्षी परियोजनाका रुपमा सञ्चालित राष्ट्रिय परिचयपत्र पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार यो संख्यामा कार्डको ठेक्का सम्झौता भई हाल प्रतीतपत्र (लेटर अफ क्रेडिट) को प्रक्रिया चलेको छ ।

चाँडै नै कार्ड परीक्षण सकी हात-हातमा राष्ट्रिय परिचयपत्र वितरण गरिने विभागका निर्देशक सुवास ढकालले बताए । उनका अनुसार अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी नागरिकको विवरण राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा दर्ता भइसकेको छ भने देशव्यापी रूपमा विवरण संकलनको काम भइरहेको छ ।

उनले विभागमा रहेको मसिनले हाल एक घण्टामा एक हजारभन्दा बढी कार्ड पर्सनलाइज्ड गर्नसक्ने जानकारी दिए । साथै आवश्यकता अनुसार मसिन थप्न सकिनेसमेत उनले जनाए ।

महिनामा पाँच लाखसम्म कार्ड वितरण गर्न सकिने निर्देशक ढकालको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रमा क्रमशः विभिन्न सरकारी सेवा प्रणाली एकीकृत गर्ने योजना रहेको सुनाउँदै उनले नागरिकले यसबाटै सेवा उपभोग गर्नसक्ने स्थिति सिर्जना हुने उल्लेख गरे ।

के हाे त राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्रलाई बुझ्न सबैभन्दा पहिला राज्यले आफ्ना नागरिकहरुलाई दिने परिचयत्रहरुको विषयमा जान्न जरुरी छ ।  मुख्यतः सरकारले आफ्ना नगरिकलाई दिने परिचयपत्रपत्र दुई किसिमका हुन्छन् । ती हुन् फाउण्डेशनल आईडी र फंसनल आईडी । 

व्यक्तिको पहिचान स्थापित गर्ने फाउण्डेशनल आईडीले राज्यभीत्रका अनेक सेवा सुविधा तथा तथा प्रयोजनका लागि मान्यता पाउँछ । अहिले कायम रहेको त्यस किसिमको परिचयपत्रको रुपमा हामीले नागरिकतालाई लिन सक्छौँ ।

अर्कोतर्फ फंसनल आईडी कुनै विशेष प्रयोजनका लागि मात्रै दिने गरिन्छ । उदाहरणका लागि ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, मतदाता परिचयपत्र यस किसिमको परिचयपत्रका उदाहरण हुन् । 

नेपालमा २००९ सालदेखि राष्ट्रिय परिचयपत्रको रुपमा नागरिकताको प्रचलन सुरु भएको हो । त्यसको शुद्धताका लागि हामीले सुरुवाती समयदेखि प्रमाणीकरणको चुनौती झेल्दै आएका छौँ । मानौँ तपाईं-हामीले आफ्नो नागरिकता कुनै निकायमा पेश गर्‍यौँ भने, त्यसलाई प्रमाणीकरण गर्ने कुनै भरपर्दो संयन्त्र छैन ।

वास्तवमा अहिलेको समयमा नागरिकताका आधारमा व्यक्तिको पहिचान गर्न निकै नै चुनाैतीपूर्ण भइसकेको छ । यसै किसिमको चुनौतिकाे सामना गर्न र सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो ।

अब आउने राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ । 

यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ । फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ ।

एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ढकाल बताउँछन् । अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति संभव छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५