close

बहिर्गमित प्रबन्ध निर्देशक अधिकारी पुनः टेलिकम फर्किने दाउमा, प्रतिरोधमा कर्मचारी

टेकपाना टेकपाना

पुस २५, २०७८ १६:४१

बहिर्गमित प्रबन्ध निर्देशक अधिकारी पुनः टेलिकम फर्किने दाउमा, प्रतिरोधमा कर्मचारी

काठमाडौं । भर्खरै टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदबाट अवकासप्राप्त डिल्लिराम अधिकारी पुनः कम्पनीमै फर्किन खोजेको भन्दै कर्मचारी युनियनहरू विरोधमा उत्रिका छन् । सेवाबाट अवकास पाइसकेपछि पुनः लियन पद (प्रबन्ध निर्देशकमा नियुक्ति हुनु अघिकै पद) मा फर्किन खोजेपछि टेलिकममा कार्यरत कर्मचारी सङ्गठनले त्यसको विरोध थालेका हुन् । 

तीन वर्षअघि कम्पनीको प्रबन्ध निर्देशक नियुक्त भएका अधिकारीले आफ्नो कार्यकाल सकिएपछि यही पुस १९ गतेबाट अवकास लिएका थिए । तर उनी प्रबन्ध निर्देशक हुनु अघिकै दशौँ तहको पदमा फर्किन खोजेको नेपाल टेलिकम निकट कर्मचारी युनियनहरूको आरोप छ । 

‘सेवा निवृत्त प्रबन्ध निर्देशकलाई कम्पनीमा पुनः प्रवेश गराई लियन पदमा हाजिरी गराउने प्रयत्न भइरहेको भन्नेतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ नेपाल टेलिकम कर्मचारी युनियन र नेपाल टेलिकम वर्कर्स युनियनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘कुनैपनि प्रकारको मोलाहिजा, लोभ र प्रभावमा परी उक्त अस्वभाविक र अन्यायपूर्ण कार्य कोही कसैबाट हुन गएमा हामी कम्पनीमा क्रियाशील ट्रेड युनियनहरू मौन नरहने र यस कार्यको सशक्त प्रतिरोध र प्रतिवाद गर्नेछौँ ।’ 

No description available.

यसका साथै उक्त विषयले कम्पनीको सुमधुर औद्योगिक सम्बन्धमा गम्भीर असर पार्ने समेत सरोकारवाला सबैलाई समयमै जानकारी गराएको उनीहरूको वक्तव्यमा उल्लेख छ । सेवा अवधि समाप्त भइसकेको प्रबन्ध निर्देशक कम्पनीमा फर्किने कार्य युनियनसँग भएको सहमति, प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको व्यवस्था विपरित हुने भन्दै उनीहरूले सचेत गराएका छन् ।

गत २०७८ असोज १० गते प्रबन्ध निर्देशक तल्लो तहको पदाधिकार नरहने विषयमा युनियन र टेलिकम व्यवस्थापनबीच सहमति भएको थियो । नेपाल टेलिकमको प्रचलित मूल्य मान्यता, स्थापित विधि र संस्कृतिलाई उलङ्घन गरी प्रचलित कानुनहरूको अपव्याख्या गरी गराई भ्रम सिर्जना गराउन र सेवा निवृत्त प्रबन्ध निर्देशकलाई कम्पनीमा पुनः प्रवेश गराउन खोजिएको युनियनहरूको आरोप छ । 

त्यस्तै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनले कम्पनीमा खुला प्रतिस्पर्धामार्फत प्रबन्ध निर्देशक नियुक्त गर्ने अवधारणाको मूल आधारस्तम्भ, संस्थाभित्रको विगतको अभ्यास एवम् परम्परागत तथा पटक पटकका सहमति विपरित प्रबन्ध निर्देशकको लियन पद एक व्यक्तिको हकमा मात्रै कायम गर्ने दुष्प्रयास भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । 

‘यस्तो निर्णयले कम्पनी भित्रको संस्कार एवम् अभ्यास क्रमभङ्ग हुने, समानान्तर शक्ति केन्द्र सञ्चालन हुनसक्ने तथा ट्रेड युनियनहरूसँग भएको सहमति उलङ्घन हुने हाम्रो ठहर छ,’ ध्यानाकर्षणमा भनिएको छ ।

No description available.

‘यसर्थ कम्पनीभित्र सुमधुर औद्योगिक सम्बन्ध स्थापित गरी कम्पनीलाई प्रतिस्पर्धी बजारमा उत्साहका साथ अगाडि बढाउन कम्पनीमा भएका पूर्व सहमतिको कार्यान्वयन तथा अभ्यासहरूको सम्मान संरक्षण गर्ने दिशामा गम्भीर बन्न सम्पूर्ण सरोकारवालाहरू समक्ष हामी हार्दिक अनुरोध गर्दछौँ ।’ 

अन्यथा किसिमले आम कर्मचारीको मनोभावना एवम् पूर्वसहमति विपरित जबरजस्ती गरिएमा त्यसले अप्रिय स्थिति सिर्जना गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सरोकारवालाहरूको हुने चेतावनी समेत सङ्गठनले दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५