close

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमको विन्टर अफर सार्वजनिक

टेकपाना टेकपाना

माघ २, २०७८ १६:४९

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित टेलिकमको विन्टर अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै विन्टर अफर सञ्चालनमा ल्याएको छ । भोलि अर्थात् माघ ३ देखि लागू हुने गरी कम्पनीले ‘विन्टर अफर २०७८’ उपलब्ध गराउने भएको हो ।

कम्पनीले यसअघि सञ्चालमा ल्याएको अटम अफरलाई परिमार्जन गर्दै थप आकर्षक योजनाका साथ विन्टर अफर उपलब्ध गराउन लागेको हो ।

यस अन्तर्गत कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको ‘सजिलो अनलिमिटेड प्रिपेड डेटा अफर’ मा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

तर, अब भने ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार यो प्याक अन्तर्गत डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा उपलब्ध रहेका छन् ।

त्यस्तै कम्पनीले सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत २९९ रुपैयाँमा २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डेटासमेत उपलब्ध हुनेछ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने जनाएको छ ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् ।

साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यी बाहेक कम्पनीले पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिएको छ । टेलिकमले उपलब्ध गराएको विभिन्न अफर लिनका लागि *1415# डायल गरी लिन सकिने छ ।

साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यसबारे जानकारी लिन र प्याक खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२