close

नेटटिभीले ल्यायो एन्ड्रोइड सेटटप बक्स, अब पुरानो टिभीलाई नै स्मार्ट बनाउन सकिने

टेकपाना टेकपाना

माघ ४, २०७८ १८:२८

नेटटिभीले ल्यायो एन्ड्रोइड सेटटप बक्स, अब पुरानो टिभीलाई नै स्मार्ट बनाउन सकिने

काठमाडौं । आईपीटिभी सेवाप्रदायक कम्पनी नेटटिभीले पुराना टेलिभिजनलाई नै स्मार्ट टिभीको रुपमा प्रयोग गर्न सकिने आफ्नो नयाँ सेटटप बक्स सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रममार्फत एन्ड्रोइड टिभीमा आधारित ‘नेटटिभी स्ट्रिम्ज प्लस’ बजारमा ल्याएको हो ।

नेटटिभी तथा एनआईटिभी प्रालिका सीईओ निरन राजभण्डारीले अब प्रयोगकर्ताले स्ट्रिम्ज प्लस सेटटप बक्सको सहयोगमा सामान्य टिभीलाई नै फुल फिचर स्मार्ट टिभी बनाउन सक्ने बताए ।

‘यसबाट स्मार्ट टिभी खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने, ‘जसले गर्दा ग्राहकको ठूलो खर्च जोगिनेछ र सस्तो मूल्यमै स्मार्ट टिभीको सुविधा लिन सकिनेछ ।’ नेटटिभीको यसअघिको सेटटप बक्समा लाइभ टिभीका साथै युट्युब र नेटटिभी सिने प्लस हेर्न सकिने सुविधा रहेको  थियो ।

तर अब भने प्रयोगकर्ताले स्मार्ट टिभीमा जस्तै अमेजन प्राइम लगायतका ओटीटी सेवा, विभिन्न भिडिओ गेम, भ्वाइस असिस्टेन्ट लगायतका सुविधा समेत प्रयोग गर्न सक्नेछन् ।

एपहरू उपलब्ध भए पनि नेपालमा ओटीटी सम्बन्धी सरकारको नीतिगत व्यवस्था स्पष्ट नरहेका कारण नेटटिभी स्ट्रिम्ज प्लसमा नेटफ्लिक्स र अमेजन प्राइमका प्याकेजहरू समावेश गर्न नसकिएको सीईओ राजभण्डारीको भनाइ छ ।

‘प्राविधिक रुपमा हामीले त्यस किसिमका सेवा तत्कालै दिनसक्ने गरी प्लेटफर्म ल्याएका छौँ । यदि नीतिगत स्पष्टता हुने हो भने नेटफ्लिक्स र अमेजन प्राइमजस्ता अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा सस्तोमा उपलब्ध गराउन सक्छौँ । त्यस्तो अवस्थामा ती प्लेटफर्ममा नेपाली सामग्री समेत आउन थाल्नेछन्,’ उनले भने ।

पछिल्लो र नवीनतम टेलिभिजन सेवा दिने उद्देश्यका साथ नेपालकै पहिली आईपीटिभीको रुपमा नेटटिभी २०७१ सालमा सुरु भएको थियो ।

सुरुवाती समयमा कम्पनीले एन्ड्रोइड भर्सन ६ मा आधारित सेटटप बक्स सार्वजनिक गरेको थियो । जसमा आईपी (इन्टरनेट प्रोटोकल) को माध्यमबाट लाइभ टिभी च्यानलहरू हेर्न सकिने सुविधा रहेको थियो ।

२०७६ मा नेटटिभीले एन्ड्रोइड भर्सन ७ सँगै नयाँ सेटटप बक्स सार्वजनिक गर्‍यो । त्यसमा युट्युव, लञ्जर प्रिफरेन्सेस, प्ले एन्ड पज, पिक्चर-ईन-पिक्चर, भीभीआर जस्ता नयाँ फिचर थपिए ।

यसैगरी २०७७ मा कम्पनीले बजारमा ल्याएको सेटटप बक्समै हङ्गामा प्ले एप र नेटटिभी सिने प्लस समेत प्रयोग गर्न सकिने भयो ।

प्रयोगकर्तालाई नवीनतम सेवा उपलब्ध गराउने क्रममा कम्पनीले ‘नेटटिभी स्ट्रिम्ज प्लस’ को नाममा आफ्नो सेटटप बक्सको नयाँ भर्सन ल्याएको राजभण्डारीले बताए ।

‘हामीले यसका लागि विगत दुई वर्षदेखि तयारी गरिरहेका  थियौँ,’ उनले भने, ‘अन्ततः हामीले नेपालमै पहिलो पटक ओटीटी आईपीटिभी प्लेटफर्मको रुपमा यसलाई बजारमा ल्याउन सफल भएका छौँ ।

के-के छन् फिचर ? 

नेटटिभी स्ट्रिम्जमा इलेक्ट्रोनिक प्रोग्राम गाइड (ईपीजी), डिजिटल भिडिओ रेकर्डिङ (डीभीआर), पिक्चर इन पिक्चर (पीआईपी), प्ले एन्ड पज लगायतका यस अघिका फिचर छँदै छन् ।

अब नयाँ सेटटप बक्समा प्रयोगकर्ताले २०० भन्दा बढी एसडी तथा एचडी लाइभ टिभी च्यानलसँगै पे पर भ्यू-पीपीभी (हेर्नका लागि छुट्टै पैसा तिर्नुपर्ने) मा आधारित मुभी, वेब सिरिज, टिभी शो र शर्ट मुभिहरू समेत हेर्न सक्नेछन् ।

यतिमात्र होइन, यसमा भ्वाइस असिस्टेन्ट र क्रोमकास्ट फिचर समेत पाउन सकिन्छ । भ्वाइस असिस्टेन्टबाट हात नचलाएर बोलेकै भरमा टिभीमा आफूले हेर्न चाहेको डिजिटल कन्टेन्टमा पुग्न सकिन्छ ।

त्यस्तै क्रोमकास्टको सहयोगमा मोबाइल, ट्याब्लेट, ल्यापटप तथा कम्प्युटरको स्क्रिनलाई ठूलो टेलिभिजन स्क्रिनमा प्रोजेक्ट गरेर हेर्न मिल्छ । ब्लुटुथबाट स्मार्टफोन तथा कन्सोल कनेक्ट गरेर भिडिओ गेमहरू खेल्न सकिने सुविधा समेत यसमा छ ।

यसरी एउटै टिभी स्क्रिनमा परिवार तथा साथीभाइबीच अधिकतम ८ जनासम्मले सामूहिक रुपमा भिडिओ गेम खेल्न सकिन्छ । गेमिङका लागि नेटटिभीले एयरकन्सोलसँग सहकार्य गरेको छ । जसमा सयभन्दा बढी रोचक तथा रमाइला गेमहरू उपलब्ध छन् ।

यसका साथै स्मार्टफोनलाई नै नेटटिभीको रिमोटको रुपमा प्रयोग गर्ने फिचर समेत यसमा नेटटिभी स्ट्रिम्ज प्लस मा पाउन सकिन्छ ।

कति छ मूल्य ?

नेटटिभी स्ट्रिम्जका लागि एक महिने, तीन महिने र १२ महिने गरी तीन प्रकारका प्याकेजहरू उपलब्ध  गराइएको छ । जसअनुसार नेटटिभी प्लस स्ट्रिम्ज प्लसको आधारभूत प्याकेजका लागि नयाँ र पुराना ग्राहक दुवैलाई क्रमशः ३५० रुपैयाँ, ९७५ रुपैयाँ र ३६०० रुपैयाँ पर्नेछ ।

यस्तै पुराना ग्राहकले सेटटप बक्सका लागि १५०० रुपैयाँ तिरे पुग्नेछ भने नयाँ ग्राहकले भने सेटटप बक्सको एक्टिभेसन चार्ज र डिपोजिटको रुपमा एक महिने प्याकेज लिँदा ५५ सय रुपैयाँ, तीन महिने प्याकेजमा चार हजार रुपैयाँ र वार्षिक प्याकेजमा ३५०० रुपैयाँ तिर्नुपर्नेछ ।

नेटटिभीको समान्य अर्थात् यस अघिको सेवाको शुल्क इन्टरनेट प्याकेजसँगै जोडिएर आउने गरेको थियो । यसको अर्थ नेटटिभीका लागि छुट्टै शुल्क तिर्नुपर्ने अवस्था थिएन । तर अब नेटटिभी स्ट्रिम्ज प्लस लिने ग्राहकलाई उल्लेखित शुल्क लाग्नेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२