close

एफटीटीएच नपुगेका ठाउँमा अब टेलिकमको नमस्ते वाईफाई, सस्तोमा डेटा चलाउन पाइने

टेकपाना टेकपाना

माघ ६, २०७८ १७:८

एफटीटीएच नपुगेका ठाउँमा अब टेलिकमको नमस्ते वाईफाई, सस्तोमा डेटा चलाउन पाइने

काठमाडौं । नेपाल टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाईफाई सेवा विस्तार गर्ने भएको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेव विस्तार गर्न लागेको हो । 

टेलिकमले नमस्ते वाई-फाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज उपलब्ध गराउन साइबरनेटिक्स प्रालिसँग सम्झौता समेत गरेको छ ।

बुधबार सम्पन्न उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजी एलटीई नमस्ते वाई-फाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुअल र गभर्मेन्ट इन्स्टिच्युसन गरी दुई प्रकारका प्याकेजहरू उपलब्ध गराइरहेको छ ।

इन्डिभिजुअल प्याकेज अन्तर्गत कम्पनीले ८०० रुपैयाँमा ३० दिनका लागि ६० जीबी डेटा उपलब्ध गराएको छ । यस बाहेक एक वर्षका लागि ९,००० रुपैयाँमा ७२० जीबी डेटा प्याकेज समेत रहेको छ ।

जुन प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी डेटा प्याक समेत लिन सकिन्छ । 

त्यस्तै होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १,२०० रुपैयाँमा ३० दिनका लागि १२० जीबी डेटा उपलब्ध छ । एक वर्षका लागि १३,५०० रुपैयाँमा १,४४० जीबी डेटा रहेको प्याकेज समेत ग्राहकले खरिद गर्न सक्नेछन् ।

जुन प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवै प्याकेजमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जीबी डेटा प्याक लिन सकिन्छ । 

अर्कोतर्फ गभर्मेन्ट इन्स्टिच्युसन  प्याकेजमा ३,६५० रुपैयाँ र २,१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिन्छ  । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ । 

यहाँ क्लिक गरी फोरजी एलटीई नमस्ते वाई-फाई सेवाको प्याकेज र यसको दर सम्बन्धी थप जानकारी लिन सकिनेछ । हाल देशका अधिकांश स्थानमा नेपाल टेलिकमको फोरजी सेवा पुगिसकेको र घर वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने कम्पनीको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२