२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

अपराधी समाउन गएका प्रहरीले नै मोबाइल चोरेपछि…

काठमाडौं । समाजमा आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मा पाएको प्रहरीले नै चोरी डकैती गर्छ भन्दा कसैले नपत्याउन सक्छन् । तर कैलालीमा प्रहरी नै चोरीमा संलग्न भएको पाइएको छ । लागूऔषधका कारोबारी समात्न गएका प्रहरीले नै पसलबाट मोबाइल चोरेका छन् ।

पछिल्लो समय भारतसँग खुला सिमाना रहेको कैलालीमा लागूऔषधका कारोबारी र प्रयोगकर्ताले अखडा जमाएको घटना बाहिरिएपछि प्रहरीले निगरानी बढाउन थालेको छ । यसैबीच गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरीले नै मोबाइल चोरी गरेको प्रमाण भेटिएको हाे ।

धनगढी उपमहानगरपालिका-२, ट्राफिक चोकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरेको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हाे ।

सो मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरी टोलीले मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो । प्रहरीले त्यहाँबाट तीन जनालाई पक्राउ गरेको थियो ।

सँगै पसलमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चोरेको पाइएको छ । सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले दुईवटा मोबाइल चोर्दै गरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताए ।

यसपछि घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको रावलले जनाए ।

भिडिओसहित निवेदन परेपछि घटनामा संलग्न प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुडाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण विष्टले जानकारी दिए ।

चोरीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए । उनीहरू दुवैलाई फौजदारी अपराधअन्तर्गत कारबाही हुने विष्टले जानकारी दिए ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team