close

पुराना र बिग्रेका फोनलाई नयाँ बनाएर बेच्ने नेपाली स्टार्टअप

मेनुक्श मेनुक्श

माघ १३, २०७८ १९:४८

पुराना र बिग्रेका फोनलाई नयाँ बनाएर बेच्ने नेपाली स्टार्टअप

काठमाडौं । समस्याहरूको जालो फैलिरहेका बेला हामीसँग केही नहुँदा पनि दुईवटा विकल्प हुन्छन्, चिन्ता या चिन्तन । दुईमध्ये कुन विकल्प छानेर अघि बढ्ने भन्ने कुरा त व्यक्ति विशेषमा निर्भर हुने कुरा हो ।

आज बढिरहेकाे विद्युतीय प्रदुषण र यसको असरलाई दीर्घकालीन रुपमा निराकरण गर्न उत्तम काफ्ले र शुभेच्छा तिवारीले तीन वर्षअघि एउटा उपाय पहिल्याए, जसको नाम हो ‘सबको फोन’ ।

‘सबको फोन’, जहाँ प्रयोगमा आइसकेका फोनको किनबेच र मर्मत हुन्छ ।

कुनैबेला काफ्ले र तिवारी विदयुतीय फोहोर व्यवस्थापन सम्बन्धी एक परियोजनामा काम गरिरहेका थिए । मोबाइल फोनको प्रयोगले हाम्रो पर्यावरणलाई पार्नसक्ने असरका विषयमा बुझ्ने मौका उनीहरुलाई त्यहीँ मिल्यो ।

मोबाइल फोनको प्रयोगलाई रोक्न त सम्भव छैन, तर असर कम गर्न सकिन्छ भन्ने चेतनाको विकास उनीहरूमा भयो । त्यसै क्रममा उनीहरूलाई समस्याको दीर्घकालीन समाधानको रुपमा मोबाइल फोनको रिफर्बिस गर्ने उपाय सुझ्यो ।

कम्पनीका सह-संस्थापक उत्तम भन्छन्, ‘नेपालमा कम्तिमा पनि चार महिनामा २५ अर्ब मूल्य बराबरका मोबाइल फोन आयात हुन्छ । यस्तो आँकडाको बारेमा जानकारी भएपछि हामीले ६ महिनाजति अनुसन्धानमा समय लगायौं । सामान्यतया एउटा फोन चार वर्षसम्म राम्ररी चलाउन सकिने भएता पनि धेरैजसोले एक वर्षमा फोन फेर्ने गरेको पाइयो । अर्कोतर्फ मोबाइल फोनको महंगाे मूल्यका कारण राम्रो फोन चलाउन नपाएका व्यक्तिको जमात पनि छ ।’

१४ वर्षसम्म अरुको कम्पनीमा काम गर्ने क्रममा केही आईएनजीओसँग जोडिएका काफ्ले भन्छन्, ‘उपलब्ध स्मार्टफोनको उपयोग छैन, उच्च अनुपातमा मोबाइल फोन आयात भइरहेको छ । यसलाई हेर्दा त देशमा विद्युतीय फोहोरको डङ्गुर हुने मात्रै नभएर अर्थतन्त्र पनि कमजोर बन्ने देखियो ।’

यावत् सन्दर्भलाई मध्यनजर गर्दै उनीहरूले सन् २०१९ मा कम्पनी सुरुवात गरे । सबै नेपालीलाई अपनत्व महसुस होस् भन्ने हेतुले कम्पनीकाे नाम ‘सबको फोन’ नाम राखियाे ।

आयातित फोनको कम्तिमा ९० प्रतिशत बजार लिन सकिने अवस्था भएका कारण याे व्यवसायमा उनीहरूले हात हालेका हुन् ।

‘सबको फोन’ व्यापारको मोड्युल मात्रै नभएर पर्यावरणको सन्दर्भमा उठाइएको एक गहन मुद्दा पनि भएकाे उनकाे तर्क छ ।

कम आम्दानी भएका मजदुर, संघर्ष गरिरहेका विद्यार्थी र छोटो समयमा फोन फेर्ने बानी परेका फोनका पारखीहरू सम्मका लागि सर्वसुलभ रुपमा फोन उपलब्ध गराउनु कम्पनीको उद्देश्य हो ।

कम्पनीको पहिलो ग्राहक अनुभवबारे उत्तम यसरी सुनाउँछन्, ‘हामीले पुरानो काम छोडेर अनुसन्धान गरिरहेका थियौं । कम्पनीको सेटअप भएको थिएन । मोबाइल फोन रिफर्बिसको काम र हाम्रो योजनाको बारेमा कनकमणि दिक्षित सरलाई राम्ररी जानकारी थियो । एक दिन पाटनस्थित हामी बस्ने गरेको ठाउँमा उहाँ आउनुभयो र भन्नुभयो, ‘रिफर्बिसको काम गर्छौं भनेको होइन ? लु मेरो फोनको समाधान गर त ।’

‘उहाँको हातमा आईफोन एसई थियो । सामान्य रुपमा चर्किएको या फुटेको होइन । पुरै गाडीले किच्याएको फोन ।’

पहिलो ग्राहक, पहिलो फोन उनीहरूले नाइ भन्न सकेनन् । भनुन् पनि कसरी कम्पनीको बोहोनी जो हुनेवाला थियो । उनीहरू फोन लिएर मर्मत केन्द्रकाे खोजीमा निस्किए ।

बल्लबल्ल एक ठाउँ मिल्यो, जहाँ उक्त फोनको समाधान मिल्ने छाँट देखियो । उनीहरू फोन मर्मतका लागि छोडेर निस्किए । एक दिनपछि आउनू भनेर बोलाइएको थियो । उनीहरू गए, तर मान्छे भेटिएन ।

‘अर्को दिन अर्कै बहाना बनाइयाे । पाँचौँ दिनमा बल्लबल्ल फोन बन्यो । ल्याएर सरलाई दियाैं । एक/दुई दिन चलाएपछि फोन राम्रोसँग नबनेको भन्ने खबर आयो । पछि दिक्षित सरले त्यो फोन कम्पनीलाई नै दान गर्नुभयाे,’ काफ्लेले सुनाए ।

उक्त घटनापछि रिफर्बिसको काम जटिल र समय धेरै लाग्ने रहेछ भन्ने महसुस उनीहरूलाई भयाे ।

केही समयपछि सानेपामा कम्पनीको सेटअप भयो । वेबसाइटबाट फोन संकलन गर्न थालियाे । सुरुमा धेरै किसिमका फोन आए । सामान्य स्मार्टफोनको कुरा त अलग्गै हो । फिचर्ड फोन समेत आउन थाले ।

सुरूमा कस्ता फोनलाई रिफर्बिस गर्न सकिन्छ र कस्ता फोनलाई रिसाइकल गर्नुपर्छ भन्ने थाहा थिएन ।

‘कतिपय फोनको त नेपालमा पार्ट्स नै पनि नपाइने रहेछ । आफ्नो प्राविधिक टिम र उपलब्ध साधनले पार लाग्ने सम्मका फोन आफैं रिफर्बिस गरियो । रिसाइकल गर्नुपर्ने जरुरी भएका फोनलाई अर्को एउटा कम्पनीको माध्यमबाट रिसाइकल गरायौं ।’

अहिले पनि १० लाख मूल्य बराबरका कामै नलाग्ने फोन आफूहरूकोमा भएको उनले सुनाए ।

‘सबको फोन’ रिफर्बिस व्यवसायमा सुरूकाे कम्पनी भएकाले उनीहरूले धेरै चुनौतीको सामना गरे । कम्पनीले बजारमा सेवाको महत्व र आवश्यकताको पाठ समेत आफैंले सिकाउनुपर्ने अवस्था थियो ।

कुनै पनि काम गर्दा समाजको आवश्यकता र मानवीय भावनाको कदर गर्नुपर्छ भन्ने विचारधारासहित सुरू भएको कम्पनीले चुनौतीका थुप्रै खुड्किला पार गरिसकेको छ । कहिलेकाहिँ विचलित हुने अवस्थाको सिर्जना भएपनि उद्देश्यको निष्ठता र स्वच्छन्दताले हिम्मत कहिल्यै टुट्न नदिएको काफ्ले सम्झिन्छन् ।

सुरुवाती दिनमा, १० मिनेट लगाएर फोनको बारेमा सम्झायो, बुझेजस्तो गर्ने अनि सेकेन्ड ह्यान्ड फोन भनेर छोडेर हिँड्ने गरेका ग्राहकसँगको तीतो अनुभव पनि कम्पनीसँग छ ।

२० लाख रुपैयाँको लगानीमा रिफर्बिसको व्यापार थालेका उनीहरूले सात जनालाई नियमित रोजगारी दिइरहेका छन् । कम्पनीको कारोबार औसतमा मासिक १५ लाखसम्म हुन्छ ।

काठमाडौंमा मात्र सेवालाई उपलब्ध गराइरहेको कम्पनीकाे अहिले बाहिरी जिल्लामा समेत उत्तिकै माग भएको कम्पनीको दावी छ ।

‘एक दिन १५ हजारको रेन्जमा आईफोन किन्न पाइन्छ ! भन्ने जिज्ञासा सहितको कल आयो । पाइन्छ, भनेपछि कल गर्ने व्यक्तिले आफू आउने कुरा जानकारी गराए । हामीले बेलुका अबेरसम्म अफिस बन्द गरेनौँ । पछि फोन लिइसकेपछि उनले आफू चितवनदेखि बिहानको बस चढेर काठमाडौं आएको र बल्खुबाट सानेपासम्म हिँड्दै आएकोले आइपुग्न ढिलो भएको सुनाए ।’

उक्त घटनापछि उपत्यकाबाहिर पनि आफ्नो सेवा विस्तार गर्नुपर्नेमा कम्पनीको ध्यानकेन्द्रित भएको काफ्लेले बताए । नेपालमा रिफर्बिसको इकोसिस्टम स्थापित गर्नका लागि कम्पनीले दह्रिलो कदम उठाएको छ भन्नेमा कम्पनीका सञ्जालकद्वय विश्वस्त छन् ।

‘बिजनेस मात्र गरेर हुँदैन, यसले मानिसको जीवनमा पनि सकारात्मक प्रभाव छोड्नुपर्छ । पर्यावरणमैत्री र हरितकण जोगाउने किसिमको काम गर्न सकियो भने आज मात्रै नभएर भोलिका सयौं पुस्तालाई जोखिमबाट मुक्त गराउन सकिन्छ । यसका लागि एक-दुई जनामात्र लागेर हुँदैन । आज मोबाइल रिफर्बिसको सिस्टम पनि सम्भव छ भन्ने कुराको प्रमाण ‘सबको मोबाइल’ हुँदै गर्दा, हामी चाहन्छौँ भोलीका दिनमा हामीलाई हेरेर अर्को कसैले टिभी रिफर्बिसको काम गरोस् । ताकि कार्बनको प्रयोगलाई कम गरी विद्युतीय फोहोर कटौती गर्नमा मद्दत मिल्छ’, काफ्ले थप्छन् ।

ग्राहकहरू काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट आउने गरेका छन् । ‘आजको दिनमा सानेपासम्म आइपुग्दा बाटोमा बिसौँ मोबाइल पसल पार गरेर आउनुहुन्छ । त्यसकारण हामीले हाम्रो सेवामा समेत कुनै सम्झौता गर्न हुँदैन । हामीले हाम्रो कर्तव्यमा संवेदनशील भएर लाग्न जरूरी छ,’ काफ्लेले भने ।

नेपालको परिप्रेक्ष्यमा प्रयोग भइसकेको फोन बेच्न चाहनेहरूको सोच भने विकसित नभइसकेको उनको बुझाइ छ । उनी भन्छन् ‘नयाँ फोनको मूल्य पनि किन्नासाथ ५० प्रतिशतले घटिसकेको हुन्छ । जुन कुराको बुझाइ भने प्रयोगकर्तामा विस्तार नभएको पाइयो । धेरैलाई लाग्छ, एक/दुई महिना चलाएको फोनको त लगभग उही मूल्यमा बिक्री हुनुपर्ने हो ।’

रिफर्बिस गरिएका फोन चलाउनुको अर्थ प्रयोगकर्तासँग पैसा नहुनु हो भन्ने बुझाइ समेत चिर्नुपर्ने उनको धारणा छ । अझैपनि रिफर्बिस गरिएको फोन भनेपछि केही खराबी त छ नै भन्ने मानसिकता जिवित छ । यद्यपि, यस्ताे फोन चलाउनु भनेको आम्दानीको बचत, खर्च कटौती र विशेषगरी पर्यावरणप्रतिको जिम्मेवारी पनि हो ।

‘रिफर्बिस गर्दा सबै किसिमका सफ्टवेयर अपडेट गरिएको हुन्छ । प्रयोग भएको फोनलाई नयाँकै अवस्थामा अपडेट गरेर उस्तै प्याकेजिङका साथ बेच्ने गरिन्छ । तसर्थ प्रयोगकर्ताले सुरक्षाको विषयमा चिन्तित नहुँदा हुन्छ । यसमा नयाँ फोनमा जस्तै वारेन्टीको पनि व्यवस्था छ । फोन खरिद गरेको ६ महिनाभित्र फोनको सफ्टवेयरमा कुनै समस्या आएमा त्यसको वारेन्टी कम्पनीले लिन्छ,’ काफ्लेले जानकारी दिए ।

नेपालमै पहिलो पटक आईफोन एक्सचेन्ज गर्न मिल्ने सुविधालाई समेत कम्पनीले परिचित गराइसकेको छ । जुन नेपालमा लोकप्रिय भइरहेको छ ।

यसअघि पनि एउटा स्टार्टअप कम्पनी चलाइसकेको हुनाले ‘सबको फोन’ लाई स्थापित गर्न सहयोग पुगेको उनको भनाइ छ । स्नातक पढ्दै गर्दा सन् २०१३ तिर उनी ग्राफिक्सकाे काम गर्थे ।

आफ्नो आइडिया छ भने आफ्नै केही सुरु गर्नुपर्छ भन्ने सोच सहित ‘टेक्स्ट एन्ड डिजाइन’ नामक एउटा स्टार्टअप खोलेका थिए । जसबाट उल्लेख्य रुपमा उपलब्धि नभएको भएता पनि सामान्य रुपमा अझै पनि चलिरहेको काफ्लेले बताए ।  

कुनैपनि स्टार्टअप सफल बन्नका लागि बजारको राम्रो अध्ययन गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार, बजारको माग, वितरणमा एकरुपता, सेवामा स्थिरता र टिम परिचालनले महत्वपूर्ण भूमिका खेल्दछ । यसैलाई मूल मन्त्रको रूपमा अबलम्वन गर्न सके कुनैपनि कम्पनीले पछाडि फर्केर हेर्नुनपर्ने उनको अनुभव छ ।

‘हामीले सबैलाई एकै किसिमको सेवा दिने गरेका छौँ । कसैलाई काखा, कसैलाई पाखा गर्ने किसिमको प्रवृति पाल्नु कम्पनीको लागि घातक हुन्छ । हाम्रोबाट मैले मेरो साथीलाई कुनै फोन १० हजारमा दिएँ, अनि त्यही फोन अर्को व्यक्तिलाई १८ हजारमा बेच्दिएँ भने, कुनै न कुनै दिन उनीहरूको भेट हुनसक्छ । एकअर्कालाई मूल्यको बारेमा कुरा हुँदा तलमाथि पर्यो भने कम्पनीको विश्वसनीयता स्वतः घट्छ । तसर्थ वस्तु तथा सेवा उपलब्ध गराउँदा एकरुपतालाई विशेष ध्यान दिनुपर्छ ।’

टिममा पनि सँधै सौहार्द सहकार्य हुने गरेको उनले बताए । कम्पनीमा आवद्ध सबैलाई हामी साथ छौं भन्ने विचार उब्जाउन सक्नुपर्ने उनको तर्क छ ।

सबैको अथक प्रयास र निरन्तर लगावका कारण ‘सबको फोन’ले स्थापित रिफर्बिस व्यवसायको रुप लिएको विश्वास गर्ने काफ्ले सफलताको श्रेय सम्पूर्ण टिमलाई समान भाग लगाउँछन् ।

काफ्लेले शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । त्यस्तै शुभेच्छा तिवारीले नेदरल्याण्डबाट अन्तर्राष्ट्रिय कानूनको अध्ययन गरेकी छिन् ।

कम्पनीका संस्थापकद्धय काफ्ले र तिवारी

विद्युतीय फोहोर र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा उनीहरू दुवैजना सधैं चिन्तन गर्छन । कोरोनाको महामारीअगाडि उनीहरूले डब्लूसीएन नामक आईएनजीओ सँगको समन्वयमा सचेतना कार्यक्रम समेत गरिसकेका छन् ।

कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । पर्यावरणलाई जोगाउन सबै नागरिक सचेत रहनुपर्ने हुनाले कम्पनीका तर्फबाट सचेतना अभियान नै सञ्चालन गर्ने उनीहरूकाे योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२