close

१०० एमबीपीएस माथिका कुनै पनि इन्टरनेट प्याकेजलाई छैन नियामकको स्वीकृति

टेकपाना टेकपाना

फागुन १५, २०७८ १९:५४

१०० एमबीपीएस माथिका कुनै पनि इन्टरनेट प्याकेजलाई छैन नियामकको स्वीकृति

काठमाडौं । १०० एमबीपीएस माथिका कुनै पनि इन्टरनेट प्याकेजलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति नदिएको पाइएको छ ।

सेवाप्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको आशङ्कामा नियामकले हाई स्पिड इन्टरनेट प्याकेज नगरेको हो । तर सेवाप्रदायक कम्पनीहरूले नियामकबाट स्वीकृत नहुँदै १००० एमबीपीएस सम्मका इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेका छन् ।

हुन त पुरानै मूल्यमा उच्च गतिको इन्टरनेट सेवा पाउनु उपभोक्ताका लागि खुशीकै कुरा हो । तर नियामकले सेवाप्रदायकबाट उपभोक्ता झुक्यानमा पर्नसक्ने चिन्ता गरेको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल ट्यारिफ स्वीकृत नगरी सेवाप्रदायकले इन्टरनेट प्याकेज बिक्री गर्न नपाउने बताए । त्यसो त सेवाप्रदायकले हाई स्पिड इन्टरनेट प्याकेजको दर रेट स्वीकृतिका लागि नियामक समक्ष निवेदन समेत दिएका छन् ।

तर आवश्यक विवरण स्पष्ट नभएको भन्दै सेवाप्रदायकलाई थप जानकारी मागिएको प्रवक्ता पौडेलले बताए । नियामकले इन्टरनेट प्याकेजमा लोकल ब्यान्डविथ मात्र नभएर अन्तर्राष्ट्रिय ब्यान्डविथ समेत निश्चित हुनुपर्ने, लागत खुलाउनुपर्ने आदि जस्ता विषयहरूमा चासो दिएको बुझिएको छ ।

‘बोर्डले इन्टरनेटको लागत लाभ विश्लेषण नभएकोले त्यो सहित पेश गर्न भनेको छ,’ प्रवक्ता पौडेलले टेकपानासँग भने, ‘सँगसँगै इन्टरनेट प्याकेजमा हुने लोकल र इन्टरनेसनल ब्यान्डविथको अनुपात, १०० एमबीपीएस धान्नसक्ने उपकरणको क्षमता,  प्रस्तावित महसुल दर चलनचल्तीभन्दा कम हुनुको कारण र निश्चित इन्टरनेट प्याकेज कति ग्राहकमा शेयर हुने हो, त्यो पनि खुलाउन भनेका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३