close

इन्स्टाग्राममा समेत रुसको प्रतिबन्ध, गुम्यो ८ करोड प्रयोगकर्ताको पहुँच 

टेकपाना टेकपाना

चैत १, २०७८ ९:३५

इन्स्टाग्राममा समेत रुसको प्रतिबन्ध, गुम्यो ८ करोड प्रयोगकर्ताको पहुँच 

काठमाडौं । रुसको पूर्वघोषित सूचना अनुरूप सोमबारदेखि लागू हुनेगरी इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । यससँगै रुसमा रहेका आठ करोड प्रयोगकर्ता यो सेवा प्रयोग गर्नबाट बञ्चित हुन पुगेका छन् ।

इन्टरनेट मनिटरिङ साइट ग्लोबलचेकमा हेर्दा समेत रुसमा इन्स्टाग्रामको पहुँच शून्यमा पुगेको छ ।

इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले केही देशका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई युक्रेनमाथिको आक्रमणको विषयलाई लिएर रुसी सैनिक विरुद्ध हिंसामा उत्रिनका लागि आह्वान गर्न छुट दिने निर्णय गरेसँगै रुसले गत साता मात्रै इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

रुसले युद्ध सम्बन्धी सूचना प्रसारण नियन्त्रण गर्ने उद्देश्य अनुरूप यस अघि नै फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाइसकेको छ ।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले गत शुक्रबार ट्वीट गर्दै रुसको यस्तो निर्णयले त्यहाँ रहेका आठ करोड प्रयोगकर्तालाई एकअर्काबाट अलग्याउने बताएका थिए ।

साताको अन्त्यतिर त्यहाँका प्रभावशाली प्रयोगकर्ताले आफ्ना फलोअरहरूलाई अन्य माध्यममा फलो गर्न अथवा सरकारी प्रतिबन्ध तोड्न भीपीएन सफ्टवेयर प्रयोग गर्न भन्दै विदाइ सन्देश लेखेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३