close

मोबाइल तथा गुगल फोटोजमा यसरी लक गरेर राख्नुहोस् आफ्ना गोप्य फोटो र भिडिओ

टेकपाना टेकपाना

चैत ३०, २०७८ १५:५३

मोबाइल तथा गुगल फोटोजमा यसरी लक गरेर राख्नुहोस् आफ्ना गोप्य फोटो र भिडिओ

काठमाडौं । सन् २०२१ मा पहिलो पटक गुगलले आफ्ना पिक्सेल स्मार्टफोनका लागि गुगल फोटोजमा लक्ड फोल्डर फिचर सार्वजनिक गरेको थियो । तर यसै वर्षको अक्टोबरमा गुगलले यो फिचर सबै एन्ड्रोइड स्मार्टफोनमा ल्याउने घोषणा गर्‍यो ।

गुगल फोटोज एप्लिकेसनमा रहेको लक्ड फोल्डर फिचरले प्रयोगकर्तालाई पासवर्डबाट सुरक्षित गरिएको फोल्डरभित्र फोटो र भिडिओ सेभ गर्ने सुविधा दिन्छ । जब यो फोल्डरमा तपाईँले कुनै फोटो वा भिडिओ राख्नुहुन्छ, त्यसपछि गुगल फोटोको ग्रिड, मेमोरी, सर्च वा एल्बम तथा डिभाइस फोटोमा एक्सेस बनाउने एपहरूमा उक्त फोटो तथा भिडिओ देख्न सकिन्न ।

यति मात्र होइन, यस्तो फोटो तथा भिडिओ क्लाउडमा ब्याकअप समेत हुँदैन र अन्य व्यक्तिहरूसँग शेयर गर्न समेत सकिँदैन । आज हामी तपाईँलाई गुगल फोटोजको यो फिचर कसरी प्रयोग गर्ने र आफ्ना गोप्य तथा संवेदनशील तस्वीर र भिडिओ कसरी लुकाउने भन्ने बारेमा बताउँदै छौँ ।

एन्ड्रोइड फोनमा कसरी लक गर्ने आफ्नो गोप्य फोटो र भिडिओ ?

-सबैभन्दा पहिला आफ्नो फोनमा रहेको  गुगल फोटोज एप खोल्नुहोस् ।

-अब तल दायाँ कुनामा रहेको लाइब्रेरी सेक्सनमा ट्याप गर्नुहोस् ।

-अब युटिलिटी लेखिएको स्थानमा दबाउनुहोस् र स्क्रोल गर्दै तलतर्फ जानुहोस् ।

-त्यहाँ तपाईँले तालाको सङ्केत भएको लक्ड फोल्डर (Locked Folder) देख्न सक्नुहुन्छ, त्यसमा थिच्नुहोस् ।

-त्यहाँ गुगल फोटोजले तपाईँलाई यो फिचरले कसरी काम गर्छ भन्ने कुरा बताउँछ । तल दायाँ कुनामा रहेको सेटअप अप्सनमा जानुहोस् ।

-अब आफ्नो स्क्रिन लक पासवर्ड वा फिङ्गरप्रिन्ट सेट गर्नुहोस् र नेक्स्ट बटनमा दबाउनुहोस्। यति गरेपछि तपाईँ लक्ड फोल्डरमा पुग्नुहुनेछ ।

-त्यसबाट कुनै फोटो छान्नुहोस् । माथि दायाँ कुनामा रहेको मुभ अप्सनमा थिच्नुहोस् अनि आफ्नो पासवर्ड वा फिङ्गरप्रिन्ट राखेर कन्टिन्युमा गएर मुभ गर्नुहोस् अनि अलाउ गर्नुहोस् ।

-तपाईँले लक्ड फोल्डरमा प्रवेश गर्दा हरेक पटक आफ्नो पासवर्ड तथा फिङ्गरप्रिन्ट राख्नुपर्ने हुन्छ । लक गरिएको फोल्डरमा पुनः फोटो तथा भिडिओ राख्नका लागि माथि दायाँ कुनामा रहेको तीन थोप्लासँगैको इमेज आइकनमा थिच्नुहोस् र ग्यालरीबाट लक गर्न चाहेको फोटो तथा भिडिओ छान्नुहोस् ।

-यति गरिसकेपछि माथि दायाँ कुनामा रहेको मुभ (Move)  मा थिच्नुहोस् र फोटो तथा भिडिओ लक फोल्डरमा लैजान मुभ गर्नुहोस् ।

-त्यसपछि ‘अलाउ फोटोज टु मोडिफाई दिस फोटो/भिडिओ’ भनेर सोध्नेछ, जसमा अलाउ (ALLOW) मा दबाउनुहोस् । यति गरेसँगै तपाईँको गोप्य फोटो तथा भिडिओ लक भएर बस्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४