close

एन्फाको ‘भेरिफाइड’ फेसबुक पेज ह्याकरको कब्जामा, फिर्ता ल्याउन नसकेपछि बनाइयो छुट्टै पेज

टेकपाना टेकपाना

बैशाख १, २०७९ १४:२९

एन्फाको ‘भेरिफाइड’ फेसबुक पेज ह्याकरको कब्जामा, फिर्ता ल्याउन नसकेपछि बनाइयो छुट्टै पेज

काठमाडौं । अखिल नेपाल फुटबल संगठन (एन्फा) को आधिकारिक फेसबुक पेज एक सातादेखि ह्याकरले नियन्त्रणमा लिएका छन् । फेसबुक पेज फिर्ता ल्याउन नसकेपछि एन्फाले उक्त पेज नै डिलिट गर्ने तयारी गरेको छ ।

सो पेजबाट गत अप्रिल ७ गते साँझ ६ बजेर ९ मिनेटमा अन्तिम पोस्ट भएको थियो । टेकपानासँग कुरा गर्दै एन्फाका मिडिया हेड शैलेन्द्र अधिकारीका अनुसार अप्रिल ७ देखि नै पेज एन्फाको पहुँच बाहिर छ ।

ह्याक भइसकेपछि ह्याकरले हालसम्म सो पेजबाट अन्य पोस्ट गरेका छैनन् । लामो समयसम्म पेज फिर्ता ल्याउन एन्फाले गरेकाे प्रयास असफल भएपछि पेज नै डिलिट गर्न लागेको अधिकारीले बताए ।

यसअघि पनि २१ असार २०७८ मा एन्फाको फेसबुक पेज नियन्त्रण बाहिर गएको थियो । एन्फाको आधिकारिक फेसबुक पेजबाट अनुपयुक्त कन्टेन्ट अपलोड हुन थालेपछि एन्फाले विज्ञप्ति जारी गर्दै सो पेज फिर्ता ल्याउन लागेको उल्लेख गरेको थियो । त्यसको दुई दिनपछि सो पेज एन्फाको पहुँचमा आएको थियो ।

यसपटक एन्फाका प्राविधिकले पेजमा एक्सेस लिन लगातार गरेकाे प्रयास असफल भएपछि एन्फाले नेपाल प्रहरीमा उजुरी गरी डिलिट गर्न लागेको हो ।

हाल एन्फाले आफ्नो आधिकारिक पेजका रूपमा अल नेपाल फुटबल असोसियसन (एन्फा) पेज खोलेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४