close

४ हजारको एप्पल एयरट्यागले फिर्ता दिलायो साढे ८ लाख बराबरको सामान

टेकपाना टेकपाना

बैशाख २७, २०७९ १५:१८

४ हजारको एप्पल एयरट्यागले फिर्ता दिलायो साढे ८ लाख बराबरको सामान

काठमाडौं । एकजना फोटो पत्रकारले एप्पल एयरट्यागको मद्दतले करिब सात हजार अमेरिकी डलर अर्थात् आठ लाख ६९ हजार रुपैयाँ बराबरको सामान फिर्ता ल्याउन सफल भएका छन् ।

होटलमा पार्किङ गरी राखिएको कारबाट चोरी भएको सामान उनले एप्पल एयरट्यागको मद्दतले हात पारेका हुन् । ग्राम टाइट अस्ट्रेलियास्थित सिड्नीका फोटो पत्रकार हुन् ।

उनी दक्षिण अस्ट्रेलियाको भ्रमणमा निस्किएका थिए । भ्रमणको क्रममा होटलमा बास बस्न कार पार्किङमा राख्दा कारबाट सामान चोरी भएको थियो ।

चोरी भएका सामानमध्ये एउटामा उनले एप्पलको एयरट्याग राखेका थिए । अन्तर्राष्ट्रिय बजारमा एयरट्यागको मूल्य २९ डलर (करिब चार हजार रुपैयाँ) देखि सुरु हुन्छ । तर उनले कुन एयरट्याग प्रयोग गरेका थिए भन्नेबारे खुलाइएको छैन ।

‘मैले सामान एयरट्याग फिट गरेको थिएँ,’ उनले भनेका छन्, ‘जब कारको सिसा फुटाएर ब्याग लगेको थाहा भयो, मैले आफ्नो फोनबाट ‘फाइन्ड माई’ एप मार्फत ट्रयाक गरेँ । ट्रयाक गर्दै जाँदा सामान साेही होटलको अर्को काेठामा देखियो ।’

त्योसँगै प्रहरीलाई खबर गरी उक्त कोठामा जाँदा उनले ल्यापटप, क्यामेरा लगायतका सामान फेला पारेको समाचार पेटापिक्सेलले लेखेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२