close

अब सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, १ महिनाभित्र जडान नगरे विभागले कारबाही गर्ने

टेकपाना टेकपाना

जेठ २०, २०७९ १५:५

अब सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, १ महिनाभित्र जडान नगरे विभागले कारबाही गर्ने

काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा एक महिना भित्र  इम्बोस्ड नम्बर प्लेट जडान नभए कारबाही गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा व्यवस्था भए बमोजिम बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी रूपमा नभएपछि यातायात व्यवस्था विभागले एक महिनाको अन्तिम मौका दिएको हो । 

विभागले एक सूचना जारी गर्दै असार मसान्तसम्म यी दुई प्रदेशका सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेदेखि कारबाही सुरु गर्ने चेतावनी दिएको छ । २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । 

यसका लागि बागमती प्रदेशको एकान्तकुना-ललितपुर र गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरूमा आवश्यक पूर्वाधार समेत तयार भइसकेको विभागले जनाएको छ ।

“यद्यपि सम्पूर्ण तयारी हुँदाहुँदै पनि ती कार्यालयहरूमा दर्ता भएका सवारीहरूमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानको निर्णय कार्यान्वयन भएको पाइएकाले विभागको ध्यानाकर्षण भएको छ,” सूचनामा उल्लेख छ । 

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार राजपत्रमा प्रकाशित सूचना अनुसार मङ्सिरदेखि नयाँ सवारी दर्ता गर्ने र सवारी नामसारी गर्नेको हकमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको थियो । अब यही जेठ १ गतेदेखि भने नवीकरण गर्ने सम्पूर्ण सवारीहरूको हकमा पनि यो नियम लागू भइसकेको तर कार्यन्वयन फितलो हुँदा यो सूचना जारी गरिएको उनले बताए ।

“कानुनत: सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भइसकेकाले यसलाई प्रभावकारी रुपमा लागू गर्न विभागले आग्रह गरेको हो । साथै लागू भए नभएको नियमन गर्ने विषयमा पनि विभागले निर्णय गरेको छ,” टेकपानासँगको कुराकानीमा उनले भने । 

विभागले सम्बन्धित यातायात कार्यालयहरूलाई पनि आफ्नो कार्यालयमा दर्ता भएका सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३